सन् १९९० को विश्वकपमा अहिले जस्तै अर्जेन्टिना र जर्मनी फाइनल पुगे। जादुमयी खेलाडी म्याराडोना एक्लैले अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए। उनलाई स्ट्राइकर कनेजियाको राम्रो साथ थियो।
फाइलन अस्वभाविक हिसावले नै तनावपूर्ण रह्यो। अर्जेन्टिनाका दुई जना खेलाडीलाई रेफ्रीले रातो कार्ड दिएपछि दोस्रो हाफको केहि समय नौ जानको भरमा खेल्नुपरेको थियो। तैपनि अर्जेन्टिनाले बराबरीमै रोकिरहेको थियो।
पचासीयौं मिनेटमा रेफ्रिले विवादास्पद् पेनाल्टी दिए। जर्मन खेलाडी आन्द्रीयास ब्रेह्मे त्यो अवसर बिग्रन दिएनन्, सदुपयोग गरे। त्यहिँ जितले जर्मनीले विश्वकप हात मात्र पारेन १९८६ को फाइलनको बदला पनि लियो।
रेफ्रीले खेल सकिएको सिठ्ठी फुक्नेबित्तिकै विश्व फुटबलका सुपरस्टार म्यारडोना हिक्क हिक्क रुन थाले। होचो कद अग्लो छबीका म्याराडोनासँगै संसारभरिका करोडौं फ्यान पनि मर्महात भए।
अर्जेन्टिना र जर्मनी २४ वर्षपछि आज मध्यरातमा फेरि विश्वकपका लागि भिड्दैछन्। उहिले म्याराडोना जस्तै अहिले विश्व फुटबलका नंवर १ खेलाडी मेसीले अर्जेन्टिनाको नेतृत्व गरिरहेका छन्। कनेजिया जस्तै बिजुली गतिमा दौडेर बललाई नियन्त्रणमा राख्न सक्ने डि मारियाले मेसीलाई साथ दिने सम्भावना छ।
जर्मनीको टिम १९९० मा पनि सशक्त थियो। अहिले त्यो भन्दा पनि धेरै बलियो देखिएको छ। पोस्टमा बल छिराउनलाई दुईतीन जानाको मात्र भर परेको टीम हैन यो। लिग चरणदेखि सेमिफाइनलसम्मा डिफेन्सदेखि स्ट्राइकरसम्मले गोल हानेका हान्यै छन्।
पाँच पटकको विश्वविजेता ब्राजीललाई सेमिफाइनलमा सात गोल लगाइदिएर विपक्षी टिमहरुको सातो खाइदिएको छ। दक्षिण अमेरिकी मुलुक ब्राजिलले बेहोरेका सर्वनाक हारले गर्दा पनि अर्जेन्टिना र मेसी निश्चितै रुपमा अधिक दवावमा छ।
यहिँ विश्वकपको ययअघिका छ खेलमा यी दुई टिमको 'पर्फरमेन्स'को तुलना गर्यो भने जर्मनी नै भारी देखिन्छ। फिफाले सार्वजनिक गरेको तथ्यांकका आधारमा यी दुई टिमको खेलस्तरको रौं–चिरा केलाउने प्रयास सेतोपाटीले गरेको छ।
सशक्त फुटबल टिमका लागि गोल्की, ब्याक्की, मिडफिल्डर, विङ्र, स्ट्राइकर एक से एक हुनुपर्छ। यो संयोजनले खेल दर्शनीय हुन्छ। तर गोल बाहेक सबै फुटबल खेलका प्रकया मात्र हो। त्यसैले नब्बे मिनेटकै खेल एउटा टीमको कब्जामा तर गोल अर्काले हान्यो भने 'सिकन्दर' उही हुन्छ।
त्यसैले अर्जेन्टिना र जर्मनीको गोल क्षमताबाट कुरा सुरु गरौं। यो वर्ल्डकपको ६ खेलमा जर्मनीले १७ गोल गरेको छ, अर्जेन्टिानले ७।
गोल खानेमा पनि जर्मनी अलिकति उदार नै देखिएको छ। जर्मनीले ४ गोल र अर्जेन्टिनाले ३ खाएको छ। फुटबल खेलाडीका लागि छलाउने कौशल जत्तिकै महत्वपूर्ण 'स्पिड' हुन्छ। ९० मिनेटका खेलमा जर्मनीका खेलाडी औसतमा झण्डैं ११.६ किलोमिटर र अर्जेन्टिनाका ११.३ किलोमिटर कुदेको देखिन्छ।
फुटबलमा टिम वर्क महत्वपूर्ण हुन्छ। टिम वर्कको सूचक बलको सफल पास हो। छ वटा खेलको औसत हेर्दा दुवै टिमको सफल पास दर ८० प्रतिशत छ।
तर, जर्मनीको खेलको बेग भने अर्जेन्टिना भन्दा धेरै तेजिलो देखिन्छ। छ खेलमा जर्मनीका खेलाडीले ३४२१ सफल पास खेलेका छन्। अर्जेन्टिानाको पास त्यो भन्दा झण्डैं चार सयले कम छ।
जर्मनीका सातजना मुख्य खेलाडी व्यवासयीक फुटबल पनि एउटै क्लवबाट खेल्छन्– बार्यन म्युनिख। त्यसैले उनीहरुको संयोजन सशक्त छ। अर्जेन्टिनाका खेलाडीहरु भने यूरोपका धेरै क्लवमा छरिएका छन्। अभ्यास खेलको भरमा पूर्ण संयोजन सजिलो छैन।
फुटबलमा कहिलेकाँहि एकदुई जना स्टार खेलाडी विपक्षीलाई ढिम्किन नदिन काफी हुन सक्छन्।।मेसीले अघिल्ला भन्दा राम्रो प्रदर्शन गरे भने अर्जेन्टिना जर्मनीलाई भारी पर्न सक्छ।
चौंविस वर्षअघि इटाली (रोम)को रंगशालामा म्याराडोनाले बलिन्द्र धारा आँसु झार्दा मेसी फुटबल हेर्ने उमेरका पनि थिएनन्। काखो बालक थिए।
शताव्दीकै उत्कृष्ट फुटबलर म्याराडोनाको मुहारमा हाँसो ल्याउने अभिभारा यीनै मेसीको काँधमा आएको छ। उनी त्यसको तयारिमा जुटिरहेको खवर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्रसारण गरिरहेका छन्।