विश्वकप फुटबलको पुरस्कार राशि कति होला त्यो सधैं चासोको विषय बन्दै आएको छ। विश्व फुटबल महासङ्घ फिफाले प्रत्येक संस्करणमा पुरस्कार राशिलाई बढाउँदै आएको छ। यसअघि अफ्रिकामा भएको विश्वकपको १९औँ संस्करणमा पनि फिफाले पुरस्कारको राशिमा वृद्धि गरेको थियो।
फुटबलप्रतिको लगाव र मोहलाई यो विश्वकपमा बढाइएको पुरस्कार राशिले निकै प्रभाव पर्ने फिफाले दाबी गरेको छ । गत विश्वकपको पुरस्कार राशि लगभग १८ करोड डलरको थियो ।
ब्राजिलमा जारी विश्वकप फुटबलको २० औं संस्करणको उपाधि जित्ने टोलीले ३५ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ। दोस्रो हुने टोलीले २५ लाख डलर पाउनेछ।
तेस्रो हुने टोलीले २२ लाख र चौथो हुने टोलीले २० लाख डलर पुरस्कार पाउनेछन्।
यसैगरी क्वार्टरफाइनलसम्म पुगेका आठ टोलीले जनही १४ लाख डलर हात पार्नेछन्। प्रिक्वार्टरफाइनलमा पराजित हुने टोलीले जनही नौ लाख डलर पाउनेछन्।
प्रतियोगिताको समूहगत चरणबाटै घर फर्कने टोलीले जनही आठ लाख डलर पुरस्कार पाउने भएका छन्।
विश्वकप सुरु हुनुअघि फिफाले प्रतियोगितामा सहभागी ३२ वटै टोलीलाई तयारीका लागि भनेर जनही १५ लाख डलर प्रदान गरेको थियो।