अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अर्जेन्टिनालाई कारबाही गरेको छ।
चालु विश्वकपमा अर्जेन्टिनाले फिफाको नियम तोडेको भन्दै कारवाही गरेको फिफाले जनाएको छ। प्रतियोगिताका क्रममा अर्जेन्टिनाले देखाएको व्यवहारको भ्रत्सना गर्दै फिफाले ३ लाख स्वीस फ्र्याँक अर्थात झण्डै ३ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेको हो।
फिफाको अनुशासन समितिले विश्वकप फुटबलका नीति नियम तोडेको भन्दै अर्जेन्टिनाको फुटबल क्लबलाई यस्तो जरिवाना गर्ने निर्णय गरेको हो।
फिफाका अनुसार खेलपछिको पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक र एक जना खेलाडी उपस्थित हुनु पर्नेमा मुख्य प्रशिक्षक मात्र उपस्थित भएको भन्दै फिफाको नियम तोडेको दाबी गरेको छ।
अर्जेन्टिनाले नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमसँग समूह चरणमा भएको खेलपछि हुने पत्रकार सम्मेलनका क्रममा अर्जेन्टिनाका प्रशिक्षक अलेजेन्द्रो साबेला मात्र उपस्थित थिए।
यस्तै सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि पनि कुनै खेलाडी पत्रकार सम्मेलनमा उपस्थित नभएको फिफाले जनाएको छ।
खेलको पूर्वसन्ध्यामा र खेल सकिने वित्तिकै हुने पत्रकार सम्मेलनमा प्रशिक्षकका साथै टिमका एक जना खेलाडी पनि उपस्थित हुने फिफाको नियम छ।
अब अर्जेन्टिनाले विश्वकपको उपाधिका लागि सोमबार बिहान १२:४५ बजे जर्मनीसँग खेल्दै छ।