विश्वकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल भिडन्तमा बुधबारराती अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । यी दुई टोलीबीचकोको खेल ब्राजिलको साओ पाउओ रङ्गशालामा राती पौने १ बजे हुनेछ । विश्वकप यात्रामा आठपटक भिडेका अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै टिम उपाधि दाबेदारका रूपमा मानिएको छ ।
आठपटकको भेटमा अर्जेन्टिनाले एक खेलमा मात्रै जितेको छ भने बाँकी खेल नेदरल्यान्ड्सको पक्षमा रहेको थियो । २४ वर्षको लामो समयपछि सेमिफाइनलमा प्रवेश गरेको अर्जेन्टिना नेदरल्यान्ड्सलाई पन्छाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ । त्यसो त नेदरल्यान्ड्स पनि कम छैन । पछिल्लो चार विश्वपकमा तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको नेदरल्यान्ड्स यसपटक उपाधि चुम्दै नयाँ इतिहास कायम गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
यस सेमिफाइनल भिडन्तमा दुई टोली मात्र नभई दुवै टोलीका कप्तान लियोनल मेसी र आर्जेन रोबेनबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ । मेसीले जारी प्रतियोगितामा चार गोल गरेका छन् भने आर्जेनको नाममा तीन गोल छ ।
यसअघिको विश्वकपमा अर्जेन्टिनाले दुईपटक उपाधि चुमिसकेको छ भने नेदरल्यान्ड्स तीनपटक फाइनलमा पुगेर पनि उपाधि रक्षा गर्न सकेको छैन । गत संस्करणको विश्वकप फाइनलमा पनि नेदरल्यान्ड्स स्पेनसँग पराजित भएको थियो ।
अर्जेन्टिनाले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियो भने बेल्जियमलाई पाखा लगाउँदै अन्तिम चारभित्र आफनो स्थान सुरक्षित गरेको हो । यस्तै नेदरल्यान्ड्सले अन्तिम १६ मा मेक्सिकोलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियो भने कोस्टारिकालाई हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।