निबन्ध के हो प्रा. डा. अभि सुवेदीले पनि बल्ल हिजो शुक्रबार मात्र थाहा पाए । बुढेसकालमा आएर त्यो थाहा पाउन डा. सुवेदीले हिजो समकालीन ४८ जना निबन्धकारका निबन्ध संकलित संग्रह ‘निर्बन्ध मोन्टाज’ पुस्तकका निबन्धहरु पढ्नलाई पर्खनु पर्यो । राजधानीमा आयोजित ‘निर्बन्ध मोन्टाज’ विमोचन समारोहमा सुवेदीसहित नारायण वाग्ले, श्यामल र रोशन शेरचनले संग्रहबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।
पत्रकार दीपक सापकोटाद्वारा सम्पादित र बि.एन पुस्तक संसारद्वारा प्रकाशित ‘निर्बन्ध मोन्टाज’ विमोचन कार्यक्रममा डा. सुवेदीले निबन्ध र आख्यानको शुरुआत र अन्त्य कहाँ हुन्छ भन्ने कुरामा आफू सधैँ रनभुल्लमा पर्ने गरेको तथ्य खुसीसाथ स्वीकार गर्दै भने, ‘जहाँ आख्यान र अन्य विधाको सीमान्त विन्दु हुन्छ त्यहीँ निबन्ध हुन्छ भन्ने निर्बन्ध मोन्टाज पढेपछि थाहा पाएँ ।’
डा. सुवेदीको स्वीकारोक्तिजस्तै आख्यानकार नारायण वाग्लेको पनि अभिव्यक्ति थियो, ‘ठ्याक्कै असन कहाँ अन्त्य हुन्छ र कहाँदेखि भोटाहिटी शुरु हुन्छ भन्ने थाहा नपाएजस्तै निबन्ध र पत्रकारिता कहाँबाट शुरु र अन्त्य हुन्छ भन्ने पनि थाहा पाउँदिनँ ।’ त्यसैमा सुवेदीले जोड दिँदै सीमान्त अभिव्यक्ति नै निबन्ध हो भन्ने मान्यता ‘निर्बन्ध मोन्टाज’ले स्थापित गरिदिएको बताएका थिए ।
कवि, निबन्धकार श्यामलले निबन्धलाई परम्पारगत जडताबाट बाहिर निकाल्दै नयाँ परिभाषा दिएको टिप्पणीका साथ ‘निर्बन्ध मोन्टाज’ले आधुनिक नेपाली निबन्धकारिताको मानक स्थापित गरेको बताए । ‘सम्पादकले यसमा गरेको मिहेनेतले नेपाली निबन्धको समकालिन अनुहार देखाउँछ’, श्यामलले भने ।
निबन्धकार रोशन शेरनचनले ‘निर्बन्ध मोन्टाज’ले निबन्ध विधाभित्रका विभिन्न उपविधाहरु समेटेर ४८ निबन्कारका निबन्ध एउटै संग्रहमा प्रकाशित गर्ने सम्पादक दीपक सापकोटाको सफलता नेपाली निबन्ध साहित्यका लागि ऐतिहासिक भएका बताएका थिए ।
‘५० को दशकपछि नवीन चेतनासहित लेखिएका निबन्धहरुको यो संकलनले नेपाली निबन्धको समकालीन अनुहार देखाउँछ । नेपाली साहित्यदर्पणमा यी इन्द्रेणी रंग हुन्’, संग्रहमा छनौट निबन्धबारे सम्पादक सापकोटाले भने, ‘यसमा लेखकको जुंगाको मोटाइ, कपालको सेतोपन, भुँडिको आयतन हेरेर निबन्ध छानिएको छैन ।’ संग्रहमा कुमार नगरकोटी, खगेन्द्र संग्रौला, राजन मुकारुङ, स्वागत नेपाल, शारदा शर्मा, मोहन मैनाली, यज्ञश, बुद्धिसागर, सञ्जीव उप्र्रेतीलगायतका निबन्ध समावेस छन् ।