साहित्यकार जगदीश घिमिरेलाई योपटक अस्पताल भर्ना हुँदा थाहा थियो– म मृत्युको धेरै नजिक छु।
मृत्युलाई स्वीकार गरेका उनी अघिल्लो दिनसम्म पनि मान्छेहरुसँग सामान्य भएर कुरा गरिरहेका थिए। पत्नी दुर्गासँग भने उनले भेटेका थिएनन्। न दुर्गाले नै पतिसँग भेट्ने साहस गरेकी थिइन्।
अन्तिम समयमा घिमिरेले धेरैजसो छोरासँग मात्रै कुराकानी गरेका थिए।
घिमिरेको शरीरले क्यान्सर हुँदा दिइने किमो धान्न पनि नसकेपछि रगत दिएरै उनलाई बचाइएको थियो। आर्यघाटमै भेट भएका उनलाई जाँच्ने डाक्टरका अनुसार परिवारलाई पनि थाहा थियो, अब उनको छिट्टै निधन हुनेछ।
आज (बिहीबार) बिहान सवा पाँच बजेतिर उनी चिरनिन्द्रामा गए। उनलाई करिब नौ बजे गाडीमा राखेर पशुपति आर्यघाट ल्याइएको थियो। छोरा हिमालले नै गाडीमा ल्याएर आएका थिए, घिमिरेको शव!
घिमिरेको शवलाई पहेँलो कपडाले बेरिएको थियो। उनको मृत शरीरलाई आर्यघाटको ब्रम्हनालछेउ राखियो। तिलगंगा आँखा अस्पतालका चिकित्सकहरु आए र उनका निदाएका आँखाको नानी झिकेर लगे जसलाई उनले धेरै पहिले दान गरिसकेका थिए।
उनको मृत अनुहार पनि पहेँलो भैसकेको थियो। त्यो देखेर उनकी छोरी चुपचाप छेउमा रोइरहेकी थिइन्।
आफन्तहरुलाई थाहा भएको मृत्यु स्वीकार गर्न पनि कम्ता गाह्रो भइरहेको थिएन।
उनलाई ब्रम्हनालमा राखियो, अस्पतालबाट छोपेर ल्याइएको कभर फ्याँकेर उनको शरीरलाई नुहाइदिइएको थियो। त्यसपछि बाग्मतीको पानी उनको मुखमा चढाए परिवार र आफन्तजनले।
अन्तिम दर्शनको लागि उनको शव चिताछेउ राखियो।
अस्पतालमा २४ सै घन्टा कुरुवा कोठामा बसेर पनि आफ्ना बिरामी पतिलाई भेट्न नसकेकी दुर्गा घिमिरे अन्तिम भेट गर्न आउनैपर्यो। उनले रुँदै बिदाइको माला लगाइदिइन्।
पशुपति आर्यघाटमा घिमिरेलाई अन्तिम विदाइ गर्न साहित्यिक शुभचिन्तको भिड थियो। साहित्यमा मात्र होइन, घिमिरेले बाँचुन्जेल समाजसेवामा पनि योगदान दिए। उनका मित्रहरुले उनको आत्माको शान्तिको कामना गरे।
फूलैफूलले सिंगारिएको चिताछेउमा उनको मृत शरीर पनि फूलमाला, खादा र अविरले छोपियो।
घिमिरेको अन्तिम दर्शनका लागि आएका कोही शुभचिन्तकहरु उनको बिमारी र मृत्युबारे कुरा गरिरहेका भेटिन्थे। कोही भने मृत घिमिरेकै छेउछाउतिर बसेर उनैलाई सम्झिरहेका थिए।
करिव दुई घण्टा अन्तिम विदाइका लागि पशुपति आर्यघाटमा राखिएका घिमिरेको मृतशरीर चितामा चढाइयो। उनका छोराले दागबत्ती दिए।
रुझेका आँखाले उनको अन्तिम बिदाइ गरिरहेका थिए।
हेर्नुहोस् केही झलकहरु
तस्बिरहरु: प्रकाश लामा