ओम अस्पतालको छुट्टै क्याविनमा भर्ना भएर ३४ दिनदेखि उपचार गराइराखेका आफ्ना पति (साहित्यकार, जगदिश घिमिरे) लाई भेट्न दुर्गा घिमिरे अचेल गएकी छैनन्।
क्याविन बाहिरको कुरुवा कोठा भने उनी छाड्दिनन्। पतिलाई भेट्न आएका आफन्त र शुभचिन्तकसँग भेट गर्छिन। डाक्टरका सल्लाह सुन्छिन। अरु जोहो गर्छिन।
उनलाई घिमिरेको उपचार चलिरहेको भित्री कोठामा छिर्ने आँट आएकै छैन।
'आमा त भेट्न जानै सक्नुहुन्न, यहि बाहिर बस्नुहुन्छ,' घिमिरेका छोरा हिमालले सेतोपाटीसित भने।
साहित्यकार घिमिरे धेरै जसो क्याविनमा सुतेकै हुन्छन्। औषधीले लठ्याएर वा उठ्न नसकेर।
हिमालका अनुसार, अहिले घिमिरेलाई छातीको इन्फेक्सनले थला पारेको हो।
त्यसैको उपचार भइराखेको छ। त्यसबाहेक उनको शरिरले थेग्न सक्ने जति किमो चिलाइराखिएको छ। हेमोग्लोविन पनि चढाइएको छ।
आगन्तुकलाई भेट्न डाक्टरले नै रोकेका छन्। उनको क्याविनको ढोकामा लेखिएको छ, 'प्रवेश निषेध'।
आगन्तुकको ओहोरदोहोरले थप 'इन्फेक्सन' नहोस् भनेर यो प्रतिवन्ध लागेको हो।
'यो सूचना डाक्टरहरुले टाँसेका हुन्,' हिमालले जानकारी दिए।
घिमिरे विमारी परेको खवर सकेसम्म परिवारले बाहिर ल्याएको छैन। तैपनि दिनहुँ आफ्न्त र शुभचिन्तक भेट्न आइरहेकै छन्।
उनका छोरा र छोरी तथा पत्नीलाई भेट्छन्। र ढोकाको आडैमा राखिएको पुस्तिकामा 'स्वास्थ्यलाभको शुभकामना' लेखेर चित्त बुझाउँछन्।
यसरी शुभकामना दिन आएकाको सन्देश भने घिमिरेलाई सुविस्ता भएको बेला सुनाउने गरिएको छ। यो जिम्मा छोरा हिमाल वा छोरी जुनुको छ।
घिमिरेले छोराछोरीसँग सबैबारे सोध्छन् । के के भनेर गए? तिमीहरुले के भन्यौं? भनेर चासो राख्छन्।
'बुवा उठेपछि हामीले यहाँ लेखेर छाडिएका शुभकामना सन्देश पढेर सुनाइदिन्छांै,' छोरा हिमालले भने, 'उँहाले पनि सबैलाई सोध्नुहुन्छ।'
बुधवार दिउँसो १२ बजे पनि क्याविन बाहिर पाँच/छ जना शुभचिन्तक थिए। सदा झैं श्रीमती घिमिरेलाई भेटेर सान्त्वना दिँदै आफन्त फर्किरहेका थिए।
उनी भर्ना भएको महिना दिनसम्म परिवारले चाहे अनुसार नै हल्ला भएन। तीन दिनदेखि उनको विमारको खवर इष्टमीत्रको नेटो काटेर बाहिर पनि पुग्यो।
त्यसपछि आगन्तुक बाक्लिन थालेँ। अनि एउटा पुस्तिका राखिएको छ। त्यसमो शुभकामना र शिघ्र स्वास्थ्य लाभको सन्देश थपिदै छन्।
रामेछापकै राजनीतिज्ञ नवराज सुवेदी, पूर्व प्रधान सेनापति रुक्माङ्गद् कटवाल, साहित्यकारहरु कृष्ण धरावासी, गीता त्रिपाठी, उषा शेरचन, मोमिला लगायत दर्जनौंले शुभकामना लेखिसकेकका छन्।
पुस्तिकाको पानामा 'गेट वेल सुन' भन्ने सन्देश थपिँदो छ।
घिमिरेले २०६३ सालमा माइलोमा क्यान्सर लागेको थाहा पाएपछि 'अन्तरमनको यात्रा' आत्मकथा लेखेका थिए। उक्त किर्तीले मदन पुरस्कार जितेको थियो।
आफ्नो युवाकालमा 'साविती' उपन्यास लेखेर हिट भएका थिए। त्यसपछि धेरै वर्ष साहित्य लेख्न छोडेर राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा जागिरे भए। उनले आफ्नो जन्मथलो रामेछापमा तामाकोशी सेवा समिति खोलेर समाजसेवा पनि गरे।
यहि बीचमा उनले अखवारि लेखनमा पनि हात हाले। चर्चा कमाए।
उनलाई क्यान्सरले समात्यो। उपचारको कठिन समयमा अन्तरमनको यात्रा लेखे।
क्यान्सरसँग लड्दै घिमिरेले पोहोर साल ६७ वर्षको उमेरमा राजनितिक विषयबस्तुमा आधारित, आफ्नो पछिल्लो उपन्यास 'सकस' पनि लेखे।
२०६३ सालमा देखिएको मल्टिपल माइलोमा (रगतको क्यान्सर) ले डेढ वर्ष यता उनलाई झन् दुख दिन थालेको छ। किमोथेरापीको सकस पनि शरिरले धान्न छोड्दै गएको छ।
'अझैं पन्ध्र बीस दिन भर्ना गरेरै उपचार गर्नुपर्ने सल्लाह डाक्टरको छ,' छोराले भने।