परिवर्तनको आवाज बोकेकाहरुले गाउने सयौं गीत उनैले लेखेका हुन् । संगीत पनि उनैको । तर, श्याम तमोटलाई कमैले चिन्छन् । ‘गाउँ गाउँबाट उठ’ र ‘संघर्ष हो जीवन’ जस्ता गीत लेख्ने उनी अहिले पनि गाउँमै संघर्ष गरेरै बाँचिरहेका छन् । त्यसैले पनि उनका रचना यता आएर सबै नेपालीको गीत बन्दै गए पनि तिनको रचनागर्भबारे कसैलाई जानकारी छैन । तमोट कहिलेकाहिँ मात्र भोजपुर छाडेर झुलुक्क केही दिनका निम्ति काठमाडौं झुल्किन्छन् । यसपाला त्यस्तै संयोग पर्यो । पारिवारिक कामले राजधानी आइपुगेका तमोटसँग सेतोपाटी संवाददाता गिरीश गिरीले कालजयी गीत ‘गाउँ गाउँबाट उठ’मै केन्द्रित रहेर गरेको कुराकानी:
‘गाउँ गाउँबाट उठ’ को सिर्जना कसरी भएको थियो ?
म २८–२९ सालतिर धरानको महेन्द्र कलेजमा पढ्थेँ । त्यो कलेजको विद्यार्थी भएकै बेला ममा एउटा प्रभावको विकास भयो– लेखन भनेको सउद्देश्य हुनुपर्छ । खासगरि त्यो बेला नेपालको राजनीतिक परिस्थिती कस्तो थियो भने, पूर्वमा झापा आन्दोलन चलिरहेको । त्यसैगरि नेपाली कांग्रेसको पञ्चायत विरोधी गतिविधि पनि बढिरहेकै थियो । बामपन्थी राजनीतिमा लागेकाहरु त्यसबेला परिवर्तनका निम्ति गाउँलाई बेस बनाउनु पर्छ भन्थे । यो गाउँहरुले भरिएको देश, यहाँ गाउँको परिवर्तन नभइकन, गाउँलेहरुलाई तयार नपारिकन राजनीतिक–आर्थिक फड्को मार्न सकिन्न भन्ने मान्यता विकास भइहेको थियो ।
म कलेजको निम्ति धरान आउनुभन्दा अगावै गाउँमै पनि स्कुल पढ्दा सांगीतिक गतिविधिमा लाग्थेँ । त्यो बेलाको रोचक सम्झना छ मसँग । २६–२७ सालतिर भोजपुरमा दुइजना मान्छे देखापरेका थिए । एकजना अलिक गोरो, लामो कपाल पालेको । उनले लगाएको कालो ज्याकेट र रातो सर्ट अझै याद छ मलाइ । अर्को चाहिँ अलिक कालो वर्णका मुन्द्रे कपाल भएका थिए । तेजिलो आँखा र चम्किलो दाँत । गितार भन्ने नयाँ बाजा बोकेका उनीहरु देखेपछि म पनि पछि पछि हिँड्न थालेँ । गीत गाउनुअघि कालो कालो मान्छेले गीतको भूमिका बाँध्थे । गोरो गोरो मान्छे चाहिँ बाजाका तारहरु टिंग टिंग बजाइरहन्थे । मान्छेहरु भन्थे ‘यिनीहरु राल्फा हुन् ।’ गोरो चाहिँ रामेश राल्फा । कालो चाहिँ मञ्जुल राल्फा । उनीहरुले गाएका गीत सुन्दा एक खालको बेग्लै प्रभाव मिल्थ्यो ।
कलेज पढुन्जेल त्यसको प्रभाव म भित्र झनै झ्याँगिसकेको थियो । यसरी यी दुइवटा कुराहरु मिलेपछि चाहिँ मैले गीतहरु लेख्नु पर्छ, नयाँ किसिमले सोचेर लेख्नु पर्छ भनेर मनमनै धारणा बनाएँ ।
धरानको अध्ययन सकिसकेपछि म गाउँ फर्किएँ । गाउँ पुगेर मैले गीत लेख्ने थालनी गर्दा ताका नै तयार भएका मध्ये यो गीत पनि हो । यसरी २०३१ सालमा यो गीतको जन्म हुनपुगेको थियो ।
शब्दका निम्ति यस गीतको धुन पहिलो आधार थियो वा शब्द रचना गरिसकेपछि धुन भरिएको हो ?
यो सिर्जनाको बेला मसँग कापी कलम मात्र होइन बाजा पनि सँगसँगै थियो । म अलिअलि गितार बजाउँथे । धराने संगतले नै मलाई त्यो बाजासँग नजिक्याएको हो । काखमा गितार र हातमा कापीकलम बोकेरै मैले यो गीत तयार पारेको थिएँ । यसको धुन र शब्दमा कुन पहिलो हो मलाइ पनि थाहा छैन । दुवै सँगसँगै जन्मेका हुन् ।
त्यतिबेला रामेश र मञ्जुलहरुसँग संगत भइसकेको थियो वा थिएन ?
यसलाइ म एकोहोरो चिनाजानी भन्छु । म मात्र चिन्थेँ । अघि भनेजस्तो उहाँहरु गीत लिएर गाउँ गाउँ पुगेका बेला हामी वाल्यकालमै थियौं । उहाँहरु जस्तो गावैपिच्छे युवाहरु, भाइहरु भेट्दै हिँड्नेले मलाई चिनेका पक्कै थिएनन् । तर, म चिन्थेँ । धरान पढ्ने बेलामा चाहिँ मेरो संगत कवि बम देवान, गोविन्द विकलजस्ता संग भयो । त्यहि संगतले लेखनतर्फ उन्मुख गरायो ।
त्यसोभए उहाँहरुसम्म यो गीत कसरी पुग्यो ?
यसको पनि रोचक प्रसंग छ । २०३२ सालमा भोजपुर क्याम्पसले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । त्यतिबेला क्याम्पसमा विद्यार्थी मुभमेन्टसँग जोडिएका युवाहरुको निकै प्रभाव थियो । त्यसमा विभिन्न राजनीतिक धार थियो । त्यो साँस्कृतिक कार्यक्रमको अगुवाइ नै क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले गरेको थियो । त्यो कार्यक्रममा विशेष गरेर म र त्यहीँका अर्का एक साथीको प्रस्तुती थियो । हामीले गायौं । गाइसकेपछि श्रोतामध्येकै कुनै भाइ त्यो गीतलाई टिपेर काठमाडौं पुग्नुभएछ । यसरी गीतलाई बोकेर काठमाडौं पुग्नुभएका भाइले नै रामेश दाइहरुसम्म पनि यसलाइ पु¥याइदिनुभएछ । त्यो कालमा फेरि रामेश दाइहरुका छनौट यस्तै गीत हुन्थे । हातमा परेपछि उहाँहरुले गाउन थालिहाल्नु भयो ।
त्यसको कति पछि तपाइहरुको भेट भएको थियो ? पहिलो भेटमा के कुराकानी भए ?
यो गीत रामेश–मञ्जुलको स्वरमा गुञ्जन थालेको चाल मैले पाइसकेको थिएँ । त्यसको करिब डेढ वर्षपछि मात्र हाम्रो भेट भयो । उहाँहरु धरान आएकै बेला थियो । मैले सुरुमा आफ्नो परिचय दिएँ । त्यो क्षणको उल्लेख रामेश दाईले एक ठाउँमा गर्नुभएको पनि छ । उहाँले त्यतिखेर यो गीत लेख्ने कुनै बुढो मान्छे होला भन्ठान्नुभएको रहेछ । भर्खरको तन्नेरी देखेर सुरुमा त अचम्म पर्नुभयो । बम देवान र गोविन्द विकलहरु मिलेर चतरा लाइनमा खोलेको एउटा सयपत्री प्रेस थियो । त्यहीँ हामी भेटेका थियौं । रामेशदाइ कै भाइ अरिमले त्यतिबेला त्यहाँ रेडियो श्रृंखला भन्ने कार्यक्रम पनि सुरुगर्नुभएको थियो । सायद त्यसै सन्दर्भमा उहाँहरु त्यता पुग्नुभएको थियो ।
मेरो लागि त रामेश दाइले मेरो गीत गाएर हिँड्नु नै ठूलो कुरो थियो । त्यो अचानकको भेटमा ठ्याक्कै के शब्द प्रयोग भयो भन्ने मलाई याद छैन । तर, मेरो प्रशंसाबाटै कुरा सुरुभएको थियो । उहाँको मुखबाट ‘तपाई राम्रो गीत लेख्नुहुन्छ । त्यसमा पनि यो गीत धेरै राम्रो छ’ भनेर सुन्दा असाध्यै हौसिएको थिएँ ।
त्यो घटनापछि त हाम्रो सहकार्य नै अघि बढ्यो ।
यसरी रामेश र मञ्जुलले गाएर सुरुभएको गीतको यात्रा पछिल्लो समयसम्म यत्रो फराकिलो दायरामा पुगिरहेको छ । अनेक भाषा, फरक फरक पुस्ताका अनेक गायक । कस्तो लागिरहेको छ ?
मैले त यो गीत यति लोकप्रिय होला भनेर चिताएकै थिइँन । यसले हाम्रो देशको वास्तविकता बोलेको छ भन्ने कुरामा चाहिँ म सजग थिएँ नै । त्यो सजगताबाटै यसको रचना भएको हो । गाउँ परिवर्तन भएपछि नै नेपाल परिवर्तन हुन्छ भन्ने मूल आधार हो । त्यसमा पनि कुनै एक क्षेत्र वा फाँटले होइन, तमाम देशवासीसँग जे जे दक्षता र साधन छन्, त्यहि बोकेर अगाडि बढ्नुपर्ने आव्हान छ यसमा । त्यसले मात्र राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन ल्याउन सक्ने मान्यतामा रचना गरिएको थियो । यति हुँदा हुँदै पनि यो यति लोकप्रिय हुन्छ र यति अगाडि बढ्छ भन्ने कुरा त मेरो कल्पनामा पनि थिएन ।
र, अहिले यसरी बढ्दा चाहिँ स्वाभाविक रुपले एउटा श्रष्टाको हिसाबले खुशी लागिरहेको छ ।
यो गीतको विस्तार अझ कसरी होस् भन्ने चाहना छ ?
यसलाई हामीले गायौं, रामेशदाइहरुले गाउनु भयो । अर्थात् तत्कालीन रुपमा एउटा विचार बोकेका मान्छेहरुले, राजनीतिक र साँस्कृतिक कामहरुलाई घुलमिल गराउदै अघि बढाउने मान्छेहरुले गाउदा यसमाथि लाञ्छना लगाउने काम पनि धेरैले गरे । यो कम्यूनिष्टको गीत हो भनियो । नन्दकृष्ण जोशीले एकपटक मलाई भेटमा गर्नुभएको टिप्पणी घतलाग्दो थियो । उहाँले पनि कतै यो गीत गाइदिएका बेला कांग्रेसका साथीहरुले ‘तैले पनि यो कम्यूनिष्टको गीत गाएर हिँड्ने ?’ भनेर गाली गरेका थिए रे । ‘दाइ तपाइ नै भन्नुस्, यो बामपन्थी गीत हो र ?’ भनेर नन्दकृष्णजी मसँग सोध्दै हुनुहुन्थ्यो । पछिल्लो पटक दोश्रो जनआन्दोलनका बेला फरक फरक विचारधारा बोकेकाहरु बसेको एउटै मञ्चमा पनि सबैको साझा गीत बन्न पुग्यो । तै पनि यसले राजनीतिक मञ्च समातिरहेकै थियो । अहिले आएर युवा पुस्ताका छनौटको गीत गाउने नेपथ्यजस्तो ब्याण्डले अस्ति भर्खरै लण्डनको विश्वप्रसिद्ध विम्बले एरेनामा पनि यो गीत गाइदिएको जानकारी पाएँ । म धन्यवाद दिन चाहन्छु नेपथ्य र गायक अमृत गुरुङको टोलीलाई । उहाँहरुको स्वर पाएर अब यो मुलुककै गीत बन्न पुगेको छ ।
मैले सिर्जना गरेको चिज अब यो बामपन्थी हो कि दक्षिणपन्थी हो अथवा देशको मुहार फेर्न युवाहरुलाई जगाउने गीत, यो के हो भनेर निक्र्यौल गर्ने काम समस्त नेपालीमै छाड्छु । दोश्रो जनआन्दोलनको सफलतापछि त कतिपयले यसलाई राष्ट्रगान नै बनाउनु पर्छ भनेर पनि कुरा उठाए । मलाइ त यो सडकबाट उठेको, गाउँबाट उठेको देश बनाउने प्रेरणादायी सम्पूर्ण नेपालीको गाना हो भनेर सबैले चिनिदिउन् भन्ने लाग्छ ।