लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’ बेलायतको भ्रमण पुरा गरेर बिहीबार काठमाडौं फर्किएको छ । विश्वविख्यात संगीतकर्मीहरु माझ महत्वपूर्ण मानिने लण्डनको विम्बले एरेनामा भव्य प्रस्तुती दिएर आएका यसका गायक अमृत गुरुङ असाध्यै उत्साहित देखिन्छन् । त्यहाँ पाएको माया अहिले पनि छातीभरि सलबलाइरहेको बताउने गुरुङका अनुसार त्यो आगामी दिनका निम्ति समेत उर्जा बनेको छ । निकै अघि देखेको विम्बले सपना त नेपथ्यका निम्ति पुरा भयो । के रहेछ त विम्बले ? त्यसपछि अबको सपना के ? यिनै विषयमा गिरीश गिरीसँग गुरुङले शुक्रबार गरेको कुराकानी–
के रहेछ यो विम्बले एरेना भनेको ?
हल र आवाजको स्तर बुझ्नेहरुका निम्ति विम्बले एरेना भनेको एउटा असाध्यै ठूलो ‘इनडोर भेन्यू’ हो जसको एउटा कुनाबाट अर्को कुनामा बसेको मान्छेले सहजै सम्वाद गर्न सक्छ । त्यति ठूलो हल भइकन पनि दुई कुनामा बसेका मान्छेले एक अर्कासँग स्पष्ट कुराकानी गर्न सक्नु भनेको चानचुने विशेषता होइन । त्यति विशिष्ठ पाराले तयार पारिएको ठूलो हल विरलै भेटिन्छन् ।
अर्को विशेषता भनेको चाहिँ अत्यन्तै व्यवस्थित । हामी सिंगो देशमा एउटा पनि अडिटोरियम नभएको ठाउँका मान्छेको निम्ति त्यहाँ हल मात्र होइन, त्यसको असाध्यै व्यवस्थित सञ्चालनले पनि प्रभाव पार्दोरहेछ ।
यिनै दुई चिज मलाई गजब लाग्यो ।
विम्बलेमा जाने बित्तिकै सबैभन्दा पहिले तपाईले के हेर्नुभयो ? के कुराले आकर्षित ग¥यो तपाइलाई ?
त्यो हलको एउटा कुनामा त्यहाँ कन्सर्ट गर्नेहरुको चिनो राखिँदो रहेछ । संसारकै प्रख्यात कलाकारहरुको हत्केलाको छाप लगाएर । मडोनादेखि ब्रायन एडम्ससम्मका ति छापहरु लहरै राखेको देख्दा रमाइलो लाग्यो । सुरुमा त त्यसैले प्रभाव पार्यो । भित्र छिरिसकेपछि चाँहि त्यो हलको भव्यता र व्यवस्थापनले नै आकर्षित पारेको हो । त्यहाँ पस्ने बित्तिकै मैले सबैभन्दा पहिले ट्राइ गरेकै त्यहि अघि भनेको आवाज नै हो । दुई कुनामा दुईजना उभिएर कुरा गर्ने । त्यही नै हो हलको स्तर मापन गर्ने तरिका । त्यो गजब लागेपछि मलाई पुगिहाल्यो । बाँकी कुराको मलाई खासै चाँसो भएन । संसारका महान कलाकारहरुले उपयुक्त ठहर गरेको त्यस हलमा मैले धेरै खोजीनीति गर्नु आवश्यक पनि थिएन ।
एउटा प्रस्तोताको निम्ति अन्य भेन्युमा गाउनु र विम्बले एरेनामा गाउनुले के फरक पार्दो रहेछ ?
यसमा चाहिँ एक किसिमको प्रेसर थियो । म स्टेजमा जानुअघि एउटा प्रेसर महशुस गरिरहेको थिएँ । यत्रो ३० लाख जनसंख्या भएको काठमाडौंमा एकेडेमीको हजार सिट भर्न गाह्रो हुन्छ । दर्शक पाइँदैन । जबकि सम्पूर्ण बेलायतभर नेपालीको संख्या ५०–६० हजारभन्दा बढी छैन । त्यो ठाउँबाट यो ८–१० हजारको स्थान कसरी भरिएला भन्ने तनाव । अप्रकट रुपमा यो प्रेसरले निकै थकाइरहेको थियो । मान्छे आउलान् कि नआउलान् भन्ने चिन्ता । हुन त म जीवनमा १२ जना मान्छेको सामुन्ने पनि उत्तिकै जोशले गाइदिएको मान्छे हुँ । तै पनि त्यत्रो हल सामुन्ने देखेपछि चाहिँ यो अलिक प्रेसरै हुँदो रहेछ । कार्यक्रममा जानुभन्दा अघिसम्म चाँहि यो एक किसिमको अब्यक्त तनाव थियो ।
कार्यक्रम देखाउन जाँदा चाहिँ त्यत्रो भिँड देखेर के महशुस गर्नुभयो ?
पहिले त केहि पनि देखिँन नि ! म दुई बजे नै हलमा पुगिसकेको थिएँ । ब्याक स्टेजमा बसेको मान्छेलाई केहि थाहा हुने कुरा पनि भएन । सामान मिलाउने, साउण्ड चेक गर्ने इत्यादि कामहरु गर्न थाल्यौं । आवाजको हिसाबले अघि नै भनिहालेँ, त्यो गजबैको हल थियो । वाद्ययन्त्रसहित साउण्ड चेक गर्दा त त्यसको विशेषता अझ चम्कियो । त्यस्तो ‘पर्फेक्ट’ आवाज । कार्यक्रम सुरुहुनु केहि अघि चाहिँ मान्छेहरु फाट्टफुट्ट आउँदैछन् भनेर मलाई कसैले सुनाए । म बाहिर गएर हेर्ने कुरो पनि भएन ।
तपाईले त्यत्रो दर्शकको चापलाई सबैभन्दा पहिले कुन बेला र कसरी महशुस गर्नुभयो त ?
मान्छे देख्नुभन्दा पहिले नै अरु चिज भयो त्यहाँ । म त ब्याक स्टेजमै थिएँ । जति समय बित्दै गयो, घडिको सुइ घुमिरहेकै छ, आठ बजे सुरुहुनुपर्ने कार्यक्रम, दर्शकको हुटिंग सुरुहुन थाल्यो । हाम्रो कार्यक्रम सञ्चालक सुमन खरेलजी हुनुहुन्थ्यो । उहाँ स्टेजमा जाने बित्तिकै अघिको हुटिंगको स्वर यसरी झन् चर्कियो, मैले भनेँ ‘यस !’ त्यो आवाजबाट दर्शकको उपस्थिती र उनीहरुको ब्यग्रता दुवै अन्दाज गर्न सकिन्थ्यो । गीत गाउने मान्छेलाई यस्तो किसिमको आवाजको अन्दाज हुन्छ । त्यसले मलाई स्टेज नपुग्दै जुरुक्क जुरुक्क उचालिहाल्यो । पहिले त मलाई जीउ नै धक्क फुलेजस्तो पनि भएको थियो ।
म हुत्तिएर मञ्चमा पुग्दा पहिले त सर्वत्र अँध्यारो थियो । त्यसपछि अलि अलि खुल्न लागेको सामुन्नेको दृश्य मेरो निम्ति अद्भूतै थियो । गजब थियो (दुवै हात उचाल्दै) । १८–२० वर्षका भाइबैनीहरुको ठूलै लहरमा मेरो पहिलो आँखा प¥यो । फूलको लहर देखेजस्तो भयो । मग्ग मग्ग फुलेजस्ता कति राम्रा यौवन । वेम्बलेमा पाइने एकै नासको पहेँलो स्ट्रीप सबैले हातमा लगाएका थिए । उनीहरुले एकसुरमा हात उठाउँदा त्यो पहेँलो टल्किएर कस्तो राम्रो देखिएको । सबै उज्यालो र खुशी मेरै अघिल्तिर जम्मा भएजस्तो । त्यसपछि त गीत सुरुभइहाल्यो । त्यसपछि मेरो आफ्नै धुनमा म एकोहोरिएँ । हुलले सुरुदेखि नै मसँग गाउने इच्छा देखायो । मैले सँगसँगै आखिरीसम्मै गाइदिएँ ।
त्यस्तो महत्वपूर्ण भेन्युमा एक्कासी त्यत्रो ठूलो मासले उचालेको बेला नर्भस भइन्न ?
भइन्न ।
यत्रो उर्जाको श्रोत के हो ?
पहिलो कुरो त यो बितेको २२ वर्षदेखिको अभ्यास हो । दोश्रो कुरो मैले नेपाली जीवन र नेपाली परिवेशलाई बुझ्ने क्रममा जति कठिनाइहरु देखेको छु, त्यसले अझ धेरै ठूला चूनौतिहरु सामना गर्ने आँट दिएको छ । म जीवनमा साना साना कुराहरुबाट प्रभावित भएको मान्छे हुँ । अरुले ठूला भन्ने गरेको कुराले चाहिँ मलाई उति प्रभावित पार्दैन । भिडभाड, स्टारडम र सेलिब्रिटी भन्ने कुरा मेरा निम्ति केहि होइनन् । बरु, डाँडापाखामा पुगेको बेला गाउँलेले अनाहकमा भोगेका दुःख देख्दा धेरै दिनसम्म पिरोलिन्छु । हो, त्यस्तो बेला चाहिँ म नर्भस हुन्छु । उनीहरु रमाएको देख्दा म पनि रमाउँछु । मेरो गायकीको विकास पनि त्यसैले गरेको हो । म भित्र आत्मबल पनि त्यसैले हालिदिएको हो । बाँकी रह्यो लण्डनको दर्शक । त्यहाँ पनि त तिनै नेपाली अनुहार थिए ।
कार्यक्रमपछि दर्शकको प्रतिक्रिया कस्तो थियो ?
मसँगै पढेको एकजना मेरी राणा पनि दर्शक घेरामा थिइन् । ‘दाई धन्यवाद है, बेलायत बसेको १० वर्षमा यतै बसेका मेरा स्कुले साथीहरुलाई हिजोको कार्यक्रमले बल्ल भेट्ने मौका जुराइदियो,’ भनेर उनी सुनाइरहेकी थिइन् । बेलायतमा नेपालीहरुको कार्यक्रमको इतिहासमै आफु आफुबीच ‘फाइट’ नभएको पहिलो कार्यक्रम भनेर चर्चा गर्नेहरु पनि थिए । म्यूजिकले यसरी एकोहोरो बनाइदियो कि कसैले दायाँबायाँ सोच्ने मौका पनि पाएनन् भन्ने उनीहरु तर्क गर्दै थिए । यस्तो माहोल भइदियो कि जुनसुकै उमेरका मान्छे पनि कुनै न कुनै बेला आफु बसेकै ठाउँमा ननाचेको कोहि थिएन भनेर पनि उनीहरु सुनाइरहेका थिए । बुढाबुढी समेत ताली बजाएर हल्लिरहेको दृश्य ठ्याक्कै गाउँघरमा रोदी बस्दाको जस्तो थियो रे ! मलाइ सबैभन्दा प्रभावित पारेको प्रतिक्रिया चाहिँ एउटा भेटघाटमा कुनै तेश्रो व्यक्तिले सुनाएको थियो । कार्यक्रम सकिएपछि उनलाई एकजना दर्शकले भावुक हुँदै ‘मलाई नेपालको माया लाग्यो, नेपाल जान मनलाग्यो’ भने रे ! त्यो प्रतिक्रियाले चाहिँ मलाइ छोएको थियो ।
यसपालाको प्रदर्शनमा टिमको सहयोग कस्तो रह्यो ?
हाम्रो किबोर्ड बजाउने भाइ सुरजको बा विरामी हुनुहुन्थ्यो । आइसियुमा भर्ना भएका बालाई छाडेर बेलायत जानुपरेको थियो । यस्तो बेलामा स्टेजमा कुनै प्रभाव पर्ला कि भनेर सँधै चिन्ता हुन्छ । तै केहि भएन । मलाई एउटा खुशी के लाग्छ भने मेरा साथीहरु आफ्ना कुरालाई टिममा सेयर त गर्छन् । तर, जब स्टेजमा गयो उनीहरु त्यो कुराको झलकसमेत कसैलाई दिँदैनन् । पोहोर साल अष्ट्रेलियामा त कार्यक्रम हुँदाहुँदै बेस गिटारिस्ट सुबिनको बाको निधन भएको खबर आइपुगेको थियो । त्यो बेला सुबिनले थाहा पाइकन पनि कतै अप्ठेरो व्यक्त गरेन । कलाकारको निम्ति सबैभन्दा ठूलो चूनौति यस्तै क्षण हुने गर्छन् ।
यसपालाको बेलायत यात्रामा अन्तभन्दा फरक के थियो त ?
अरु फरक त केहि थिएन । त्यति थोरै नेपाली बसोबास भएको ठाउँमा पनि नेपथ्यका त्यति धेरै दर्शक पाउँदा खुशी लाग्यो । त्यसका पछाडि अरु केहि होइन ‘हामी नेपाली र हाम्रो नेपथ्य’ भन्ने भावनाले काम ग¥यो । एक हिसाबले नेपालीपनको उत्सव जस्तो भइदियो । अर्को फरक भनेको एउटा ठूलो, प्राविधिक हिसाबले सम्पन्न र व्यवस्थित हलमा कार्यक्रम गर्न पाइयो ।
त्यो त तपाईले वेम्बली एरेनामा नेपथ्यलाई प्रस्तुत गर्ने वर्षौदेखिको सपना थियो भन्दै आउनुभएको छ । त्यो सपना त पुरा भयो । अबको सपना चाहिँ के नि ?
मान्छेले जटिल कुरालाई नै सपना बनाएका हुन्छन् । सबै सपना पुरा हुन्छन् भन्ने पनि हुँदैन । वेम्बली सपना पुरा भयो । अब चाहिँ मलाई च्याम्बर अर्केष्ट्रासँग मिलेर नेपथ्य ब्याण्डको प्रस्तुती दिने इच्छा छ । ब्याण्डका सदस्य सुरजले म्यूजिक पढेका पनि छन् । मान्छेलाई निर्देशित गर्ने त विचारले नै हो । अहिले नहोला, दश वर्षपछि होला तर, सिम्फोनी अर्केष्ट्रा हलमा च्याम्बर अर्केष्ट्राको साथ नेपथ्यले संगीत प्रस्तुत गर्ने अबको मेरो सपना हो ।
छुट्यो कि,