सांगीतिक समूह नेपथ्यले लण्डनको विश्वविख्यात वेम्बली एरेनामा भव्य कन्सर्ट गरेपछि यतिबेला नेपाल, विश्वभरि छरिएको नेपाली समूदाय र नेपाली संगीतमा रुची राख्ने सबै माझ यो चर्चाको विषय बनिरहेको छ। ड्रमसेट, गितार, किबोर्डका आवाजबाट प्रस्तुत हुने रक कन्सर्ट विश्वभरका युवा पुस्ताको रोजाइ हो। तर, नेपथ्यको प्रस्तुतीमा बेला बेलामा मादल पनि घन्किरहेको हुन्छ। हो, त्यहि मादल नेपथ्यको विशेषता हो।
लहडको भरमा अरुले पनि सहजै मादल बजाइदिन सक्छन्। सांगीतिक टोलीलाई कुनै पनि वाद्ययन्त्रको आवाज थप्नु गाह्रो काम होइन। तर, परिपक्व प्रस्तुतीका निम्ति त्यसप्रतिको गहिरो समझ नै चाहिन्छ। जुन नेपालमा समकालीन अन्य रक ब्याण्ड वा त्यसका गायकसँग छैन।
अमृत गुरुङ नेपाली लोकगीत संकलन संस्कृतिको पछिल्लो अभियन्ता हुन्। जसरी धर्मराज थापादेखि एलपी जोशी, चतुर्भुज आशावादी, बुद्धि परियार, अलिमियाँ, प्रेमदेव गिरीहुँदै रामेश र मञ्जुलसम्मले गाउँगाउँ पुगेर नेपाली आत्माको आवाज समेटेर ल्याए, त्यहि परम्परालाई निरन्तरता दिने उनी कान्छा गायक हुन्।
लोकगीत कसरी जन्मिन्छ, त्यसले रैथाने आवाज र परिवेशलाइ कसरी समेटेको हुन्छ भन्ने कुरा डाँडा पाखा नघुमेसम्म जानिँदैन। यहीँनिर फरक छुट्टिन्छ।
सहर बजारमा सबैले चिन्ने 'सेलिब्रेटी' भइकन पनि अमृत यतातिर उति रमाउँदैनन्। पोखरास्थित घरको ग्यारेजमा थुनिएको महँगो जीप बेवास्ता गरेर उनी जहिले पनि पैदलै हिँडिरहेका हुन्छन्। 'मास्क'ले मुख थुनेर ठमठमी। समकालीन गायकहरुभन्दा बेग्लै उनको अधिकांश समय गाउँमै बित्छ। त्यसमा पनि विशेष गरेर उनको पुर्ख्योली गोठमा। उनी प्रायः समय पैदलै डाँडा पाखा घुमेर बिताउँछन्। लामो दुरीको पैदल यात्राका बेला बाटोभरि भेटिने केटाकेटीका निम्ति चकलेट बोक्न कहिल्यै छुटाउँदैनन्।
घाम तापिरहेका बुढापाकादेखि लिएर खेतमा काम गरिरहेकासम्म जो भेटे पनि बोल्नै पर्ने, बुझ्नै पर्ने उनको जिज्ञासु बानी छ। आफु पनि कृषि कर्ममा लागेका कारण जानेको प्रविधि र शिपको कुरा गर्न उनी छुटाउँदैनन्। खोटाङ पुगेको बेला रुटभन्दा बेग्लै हिँडेर मदन राइको फार्ममै बास बस्न पुग्ने उनी त्यस भेगका बाँकी किसानहरुको समस्या समाधानका निम्ति कृषि विज्ञ राइसँग सम्पर्क गराउन पहल पनि गरिदिन्छन्। यसरी फरक फरक पात्रहरु सँग कुराकानी गर्दै उनीहरुको तस्बिर खिँचेपछि उनी ति सबैको ठेगाना डायरीमा लेख्न पनि छुटाउँदैनन्। काठमाडौं आउने बित्तिकै उनको पहिलो कामै ति तस्बिरहरु ठूलो आकारमा धुलाएर गाउँलेका ठेगानासम्म पोष्ट गरिदिनु हुन्छ।
यसरी तयार हुन्छ एउटा गायक। जसले नेपालको डाँडा पाखाका आवाजलाई संसारकै प्रसिद्ध मञ्चसम्म जिम्मेवारीपूर्वक पुर्याइरहेको छ। आखिर जसले देश बुझेको हुन्छ, देशलाई गाएर सुनाइदिने पनि उसैले हो।
उनै अमृतसँग केहि वर्षयता सँगसँगै मुलुकका थुप्रै पूर्वी तथा पश्चिमी क्षेत्रको पैदल यात्रा गरेका सेतोपाटी संवाददाता गिरीश गिरीले खिचेका तस्बिरहरु यस्ता छन् ।
\