बलिउडकी अभिनेतृ प्रियंका चोपडाले आफ्नो नयाँ सिनेमा मेरिकोममा आफूले गरेको अभिनयको श्रेय ओलम्पिक विजेता मुक्केबाज मेरीकोमलाई गुरू दक्षिणाका रुपमा दिन चाहेकी छन्।प्रियंका चोपड़ाको फिल्म मेरीकोम आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ। यो फिल्ममा प्रियंकाले मेरीकोमको भूमिका खेलेकी छन्।
प्रियंकाले यस फिल्मका लागि महिनौँ लगाएर कडा मेहनत गरेकी थिइन्। सिनेमामा उनलाई कुनै व्यवसायिक बक्सरभन्दा कम देखिएको छैन।प्रियंकाले मेरीकोमप्रति आभार व्यक्त गर्दै यो फिल्म उनै मुक्केबाजप्रति समर्पित गर्न चाहेकी छन्।
'यो भूमिका एक कडा चुनौती थियो, फिल्मका लागि मेरीकोमले मलाई बक्सिङको केही तरिका सिकाएकी थिइन्, यसैका लागि उनीप्रति यो फिल्म गुरूदक्षिणाको रूपमा प्रस्तुत गर्न चाहन्छु,' प्रियंकाले भनिन्। यो फिल्मले एक महिलाको संघर्षको कथा बोकेको छ।
प्रियंकाका अनुसार यो सिनेमामा मेरीकोमको जीवनको साथ साथै आम महिलाको जीवनमा आउने संघर्षको कथालाई प्रस्तुत गरिएको छ। संजय लीला भन्सालीको निर्माण तथा उमंग कुमारको निर्देशनमा बनेको मेरीकोममा नेपालका खलनायक सुनिल थापाले प्रिंकाका गुरूका रुपमा अभिनय गरेका छन्।