सिनेमाको पर्दामा सुनिल थापा उर्फ ‘राते काँईला’ले आफ्नो खलनायकी चरित्रबाट धेरैलाई रूवाएका छन्। तर, आज तिनै सुनिलले बुधबार उनको सम्मानमा आयोजित कार्यक्रममा आफूलाई सम्हाल्न सकेनन। मन्तव्यको सुरूवातमा नै उनी भावुक बने र आँशु खसाले।
इण्डियन बक्सर मेरी कोमको जीवनीमा आधारित संजय लीला भन्सालीको फिल्म ‘मेरी कोम’ मा उनले चर्चित अभिनेतृ प्रियंका चोपडाको कोचको भूमिकामा अभिनय गरेका छन्। उनको यो उपलब्धिलाई सम्मान गर्न सुनिल थापा कस्ता भनेर एक लाइनमा बोल्न उनका सहकर्मी तथा साथीहरूलाई लगाइएको थियो। सहकर्मी र साथीहरूको प्रतिक्रिया सुनेर उनी भावुक बनेका थिए।
कार्यक्रममा उनले आफ्नो खलनायकको चरित्रका कारण महिला दर्शकहरूबाट गाली खाएको सम्झना गरे। उनका साथीहरूले त्यो गालीलाई दर्शकहरूको स्याबासी मान्न भनेको कुरा पनि सुनाए। ‘मेरो शब्दकोशमा ‘नो’ भन्ने शब्द नै छैन किनकी त्यो भनेको दिनबाट नै मान्छेको अधोगती सुरू हुन्छ। त्यो मान्छे जिन्दगीमा अगाडी बढ्नै सक्दैन’, उनले भने।
अगाडि बोल्दै उनले आफूसँग कुनै काम नहुँदा पनि कहिल्यै निराश नभएको र धैर्य गर्न नछोडेको बताए। उनले ‘मेरी कोम’मा अडिसनबाट छानिएको बताए। ‘म एउटा नेपाली फिल्मको सुटिङमा थिए। त्यहीँबेला मलाई मुम्बईबाट अचानक फोन आयो। मलाई कास्टिङ डाइरेक्टर श्रुती महाजनले फोन गरेकी थिइन।’
उनले मलाई भनिन् तपाईलाई हुने एउटा क्यारेक्टर छ गर्नु हुन्छ भनिन्। उनले यो संजय लिला भन्सालीको फिल्म भएको बताउँदै संजयलाई चिन्नु हुन्छ भनेर सोधेको र जवाफमा सुनिलले सञ्जयलाई पनि चिनिन भने म एक्टर नै होइन भनेर जवाफ दिएको बताए।
उनलाई कास्टिङका लागि आएको सिनेमाको दुई तीन सिनको स्क्रिप्टमा आफूले गरेको अभिनय हेर्ने बितिकै संजय लिला भन्सालीले छानेको बताए।
२८ बर्षपछि बलिउड ब्याक भएकोमा बधाई दिन प्राविधिक संघ, मौरी ईन्टरटेन्मेन्ट, श्रीराम बालाजी फिल्मस् र क्रिएटिभ ग्रुपले संयूक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन।
सन १९८१मा बनेको कमल हसन-रति अग्नीहोत्री स्टारर ‘एक दुजेके लिए’ सिनेमाबाट बलिउड छिरेका सुनिल थापा प्रियंका चोपडाको स्टारर ‘मेरी कोम’बाट फेरि बलिउडमा फर्कदै छन। फिल्म आउँदो भदौ २० देखि प्रदर्शनमा आउँदैछ।
तस्विरहरू प्रकाश लामा/सेतोपाटी