नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ।
स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको निर्देशक आकाश अधिकारीले जनाएका छन्।
श्रीकृष्ण विवाहलगत्तै उपचारको सिलसिलामा दिल्लीमा थिए।
२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए।
४९ वर्षे नायकले दर्जनौँ हिट फिल्म दिएका दिए। उनले हालै मात्र आफ्नै लगानीमा बनाएको 'कोहिनूर' फिल्म गत शुक्रबारदेखि प्रदर्शनरत छ।
गत असार २७ गते हिरोइन श्रीमती श्वेता खड्काका साथ उनी उपचारका लागि दिल्लीस्थित एपोलो हस्पिटल पुगेका थिए।
सिभिएर निमोनियाले सताएका नायक श्रेष्ठको एपोलो अस्पतालमा उपचार भइरहेको थियो।
निमोनिया श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । चिकित्सकहरुका अनुसार ब्याक्टेरिया, भाइरस र फङ्गसको संक्रमणका कारण निमोनिया हुन्छ। निमोनियाको बाह्रै महिना हुने संक्रमण भए पनि जाडो मौसममा बढी देखा पर्छ। निमोनिया विशेषगरि पाँच वर्ष मुनीका बालबालिकालाई बढी हुने गरेको पाइएको छ ।
नेपालमा हरेक वर्ष निमोनियाका कारण पाँच वर्ष मुनिका ५६ सय बालबालिकाको मृत्यु हुने गरेको छ । यो नेपालमा हुने बालमृत्युको १६ प्रतिशत हो।
निर्देशक आकाश अधिकारीले भने, ‘मलाई दिल्लीबाट बिहानै फोन आयो, घटना राति भएको रहेछ। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ, म पनि जाने तयारीमा छु।’