बलिउडका चर्चित कलाकार ओम पुरीले हालै दिएको एक अन्तरवार्तामा बलिउडमा पाका अभिनेतालाई कुनै गतिलो भुमिका नलेखिने भएकाले आफूसँग 'रिटाएर' हुनेबाहेक हरु विकल्प नभएको बताएका छन।
ओम पुरीले अन्तरवार्तामा भनेका छन्, ‘पाका अभिनेतालाई आजकल धेरै भूमिका छैनन् र पश्चिमका पाका कलाकारले पाउने जस्तो रोमाञ्चक भूमिका पाउन पनि गाह्रो छ। पश्चिममा पाका कलाकारहरुलाई ध्यानमा राख्दै राम्रा रोलहरू लेखिन्छन, उनीहरुमाथि फिल्म बनाइन्छ जसमा प्रेम कथाहरु पनि पर्छन्। तर, यहाँ यो स्थिति छैन।'
‘यदी मैले काम पाइन भने म रिटाएर हुन्छु तर कामका लागि कसैको ढोका ढक्ढकाउन जान्न। काम मिले गर्छु, नमिले नाटकमा अभिनय गर्नेछु,’ उनले अगाडि भनेका छन्।
६३ वर्षीय पुरी एक अमेरिकी हास्य चलचित्र ‘हंड्रेड फुट जर्नी’ मा देखिदैछन्। तर, हाल बलिउडमा भने उनी कामविहिन बनेका छन्।
थप कुरा गर्दै उनले भने, ‘मसँग काम छैन, कसैलाई मलाई काम दिन भन्दिनु। म आफ्नो काम प्रति गम्भीर छु तर हाल मसँग कुनै काम छैन। एक जना प्रियदर्शन थिए जसले मलाई काम दिन्थे अहिले उनी पनि केही गरिरहेका छैनन।’
बलिउड महानायक अमिताभ बच्चनले ७१ वर्षको उमेरमा पनि काम पाइरहेको सन्दर्भमा उनले ‘फिल्मवालाहरू आफ्नो सिनेमामा स्टारलाई लिन्छन् र महानायक अहिले पनि स्टार हुन्। म स्टार होइन। म राम्रो कलाकार मात्र हो। तर, कमर्सियल स्टार होइन।'