नेपाली चलचित्रका नायक राजेश हमालले अन्ततः धरान सुनसरीकी मधु भट्टराईसँग शनिबार औपचारिक विवाह बन्धनमा बाँधिएका छन्।
राजधानीको होटल अन्नपूर्णमा हमालको बिहे भइरहेको छ। हमालले १० वर्षदेखि मधुसँगको गहिरो प्रेमलाई गन्तव्य दिनका लागि आज काठमाडौंमा एक अत्यन्त निजी समारोहका बीच उनलाई दुलही बनाउन लागेका हुन्।
नायक हमालका सहयोगी रोशन हमालका अनुसार हमालको वैवाहिक समारोह निजी समारोहका रुपमा सम्पन्न हुनेछ। मधुको इच्छाअनुसार वैवाहिक समारोह निजी रुपमा सम्पन्न हुन लागेको हो। उहाँ(राजेश हमाल) पब्लिक फिगर भएपनि दुलही सार्वजनिक व्यक्तित्व नभएकाले उहाँले वैबाहिक समारोह निजी रुपमा सम्पन्न गर्न चाहनुभएको छ,' रोशनले भने,'केवल दुई परिवारका सिमित आफन्तका बीच विवाह सम्पन्न हुनेछ।'
नायक हमालको भनाइ छ– ‘विवाहको औपचारिकतालाई निजी तवरले पारिवारीक हिसाबबाट सटिक ढंगले सम्पन्न गर्दैछु। मलाई बिहेमा ठूलो तामझाम मन पर्दैन। त्यसैले छोटकरीमा मुख्य–मुख्य परम्परा र वैवाहिक विधि पूरा गरेर विवाह सम्पन्न गर्दैछु।’ विवाहपछि हमालले आफ्नी बधुलाई कपुरधारास्थित निवासमै भित्त्याउनेछन्।
हमाल र मधुबीच गतवैशाखको अन्तिम दिन ३१ गते लाजिम्पाटस्थित होटल शंकरमा इन्गेजमेन्ट भएको थियो। हमालले आज मधुलाई घर भित्त्याएपछि आगामी १४ गते बुधबार होटल शंकरमै रिसेप्सन पार्टी दिँदैछन्। पार्टीमा आफन्तका साथमा पूर्वप्रधानमन्त्री, राजनीतिज्ञ, मन्त्री, कुतनीतिज्ञ, कलाकार, सञ्चारकर्मी, समाजसेवी, सुरक्षा निकायका उच्च पदाधिकारीहरूलगायत झन्डै ५ सय जनालाई निम्तो गरिएको छ।
२९ वर्षकी मधु धरान–११, भोटेपुलकी हुन्। उनी केही वर्षदेखि लाजिम्पाट बस्दै आएकी छन्। मधुले विगत ३ वर्षदेखि विवाह गर्न चाहे पनि हमालले यस वर्ष आएर विवाह गर्ने निर्णय गरेअनुसार आज शनिबारका लागि साइत जुराइएको हो।