२०६२/६३ सालको जनआन्दोलनका दौरान म जन्डिसबाट भर्खर तंग्रिदै थिएँ। बिरामी भएकाले क्याम्पस र जागिर दुवैमा बिदा लिई डेरामै आराम गरिरहेको थिए।
आन्दोलन सुरु भएपछि बिदा थपियो। आफू कुनै राजनीतिक दलमा आवद्ध नरहेकोले सुरू-सुरूका दिनमा आन्दोलनमा गइनँ। टिभी हेरेर चित्त बुझाएँ। सुरू-सुरूमा आन्दोलनको रूप पनि खासै उत्साहजनक थिएन। तर, जति जति राजा ज्ञानेन्द्र सरकारले आन्दोलनमा दमन बढाउँदै गयो त्यति त्यति आन्दोलन पनि चर्कदै गयो।
त्यो बेलाका मेरा घरपट्टी अङ्कल खुब गफ गर्नुपर्ने, दलका कट्टर बिरोधी र राजाका खाँटी समर्थक थिए। मलाई देख्यो कि कटाक्ष गरिहाल्नु पर्ने- ‘के छ महेश बाबु आन्दोलनमा गएनौ? तिम्रा क्याम्पसका साथीलाई त अहिले असार लागेको छ त नेताहरुको खेताला लाग्नलाई, तिमि चाही किन फुर्सदमा हँ?’
‘म बिरामी छु अङ्कल’, छोटो उत्तर दिएर तर्किन खोज्थेँ। तर उनले छोड्दैनथे –‘ए बिरामी नभ’को भए चाही जाने थियौ ढुंगा हान्न? तिमि त अलि ब्यवहारिक छौ कि भनेको तिमि पनि उस्तै, होइन के हुन लाग्यो यो देशमा? भोलि कसले बचाउँला यो देशलाई? सबै नेता विदेशीका खेताला अनि सबै युवा यिनै खेतालाका पनि खेताला। तिमीलाई थाहा छ यो आन्दोलन कसको योजनामा र किन हुदै छ?’
राजनीतिमा धेरै चासो नराख्ने तर प्रजातन्त्रमा आस्था राख्ने म उनलाई पूर्ण जवाफ दिन त सक्दैनथेँ , मात्र यति भने- ‘अङ्कल अहिलेको जमानामा राजाको प्रत्यक्ष शासन चल्दैन। त्यो पनि ४ वर्ष ज्ञानेन्द्रले समय पाइसके। केही गर्न सकेनन्। अब १२ बुँदे सम्झौता भएको छ, कम्तिमा पनि माओवदीले हतियार बिसाएर शान्तिपूर्ण आन्दोलनमा आयो भने हिजोका ती कहालीलाग्दा दिनको अन्त्य हुनेछ। दलहरु पनि अब सुध्रिने छन्, नसुध्रि सुखै छैन, त्यसैले यो आन्दोलनमा मेरो नैतिक समर्थन छ।’
उनले कड्किदै भने- ‘१२ बुँदे कसले गराएको हो थाहा छ तिमीलाई? यो आन्दोलन सफल हुँदै हुँदैन म ठोकेर भन्छु, ज्ञानेन्द्र सरकार अझै कडा बन्नुपर्छ यी आतंककारीलाई जेल हाल्नुपर्छ।’
‘हेर्दै जानुहोस् अङ्कल’, मेरो चुनौती पूर्ण जवाफ थियो।
पूरै देश आन्दोलनमय भइसकेको थियो। रातिमा मसाल जुलुस र ब्ल्याक आउट अनि दिनभर पर्दशन। ठाउँ ठाउँमा मान्छे मरेको खबर आउन थाल्यो। गोंगबुमा प्रहरी आफैंले गोलि चलाएर आन्दोलनकारीले चलाएको आरोप लगायो। आन्दोलनस्थलमा एम्बुलेन्सलाई समेत जान रोक लगाइयो।
प्रेसलाई समेत स्वतन्त्र समाचार संकलन गर्न नदिई- ‘बिहान १० बजे सूचना विभाग सिनामंगलमा आउने अनि पत्रकारलाई सरकारी गाडीमा रिपोटिङ गर्न पठाउने’ भन्ने हुकुम भयो।
भोलेन्टियर गर्न आएका डाक्टरलाई अपमानित गरेर देश निकाला गरेको समाचार आयो। यी सबै दमनहरुलाई मैले पनि हेरिरहन सकिनँ र आन्दोलनमा होमिने निर्णय गरेँ।
२०६३ साल वैशाख ८ गतेको दिन थियो। म एक्लै धापासीबाट बसुन्धरा चोकमा पुगेँ। नारायणगोपाल चोक तर्फबाट एउटा बिशाल मानवसागर सामाखुसीतर्फ अगाडि बढिरहेको रहेछ। मैले मेरो जीवनमा यति धेरै मान्छे कहिल्यै देखेको थिइँन। म पनि हूलमा मिसीएँ। त्यहाँ चिनेका १-२ जना मान्छे भेटिए।
उनीहरूले बताए अनुसार त्यो मानवसागर कलंकी हुँदै रिङ्गरोड परिक्रमा गर्दै थियो। हिँजो कलंकीमा ३ जना आन्दोलनकारीको मृत्यु भएको थियो। पहिले हामी गोंगबुसम्म जाने भनेर हिँडेका थियौं तर पछि कहाँबाट जोस आयो कुन्नी कलंकी नै पुगियो। बाटोमा चर्का नारा लगाउँदै हामी हिँडेका थियौ। कसैले प्रजातन्त्र जिन्दावाद भन्थे कसैले लोकतन्त्र जिन्दावाद भन्थे। कसै कसैले मात्र गणतन्त्र जिन्दावाद भन्थे तर कसैले पनि संघीयता र धर्म निरपेक्ष जिन्दावाद भनेको सुनिएन। त्यहाँ मैले नाम चलेको कुनै ठूलो नेता पनि देखिनँ। बरु आकाशमा सेनाको हेलिकप्टरले निकै तल -तलसम्म आएर अवलोकन गरिरहेको थियो।
भीडबाट कसैले भन्थे, ‘ज्ञाने हो ज्ञाने, आन्दोलनमा कति मान्छे छन् भनेर हेर्दै छ।’
वास्तवमा त्यो आन्दोलन स्वः-स्फूर्त थियो। महिलाको उल्लेख्य सहभागिता थियो भने भर्खरका बालबालिका र वृद्ध-वृद्धा पनि सहभागी थिए। वैशाखको त्यो प्रचण्ड घाममा आन्दोलनकारीलाई हौसाउने काम गरेका थिए सडक छेउ -छेउमा पानी पिलाउने स्थानीयले र घरका छत् छत्बाट थाल बजाउने दिदिबहिनीहरुले।
सडक पारीबाट रमिता हेर्ने मानिलाई हामी सडकमै आउन आग्रह गर्थ्यौ, टाढा- टाढाबाट हेरिरहेकालाई समेत हातको ईशाराले बोलाउँथ्यौ उनीहरू हुरुरुरु कुदेर आउँथे। त्यो सबै देख्दा सम्पूर्ण शरीरमा काँडा उम्रिन्थ्यो। म एक्लै नारायणहिटी छिरेर ज्ञानेन्द्रलाई बाहिर गलहत्याउन जाउ कि जस्तो लाग्थ्यो।
हामी बनस्थली चोकबाट स्वयम्भु लाग्दै गर्दा ठूलो भर्याङनेर सुरक्षाकर्मीले बंकर राखेर रोडब्लक गरेका थिए। आन्दोलनकारी कराउन थाले- पछि हट्ने होइन साथी हो, अघि बढौं अघि बढौ,’ सायद त्यो मानवसागर देखेर हो वा माथिबाट पछि हट्ने आदेश आएर हो उनीहरूले बंकर हटाएर बाटो खाली गरिदिए।
अघिसम्म सडकमा बसेका सशस्त्र प्रहरीहरू अब रिङ्गरोड पारी खेतमा कुद्न थाले। आन्दोलनकारीले भन्थे-‘नाभाग्नुहोस नाभाग्नुहोस्, आउनुहोस हामीलाई साथ् दिनुहोहोस्।’
सशस्त्रको केन्द्रीय कार्यालय नेर हामी पुग्दा सशस्त्रका अफिसरहरू रिङ्गरोड हामीलाई खुला छोडिदिएर रोडको दाहिनेपट्टी हातेमालो गरेर आफ्नो कार्यालय तर्फ कसैलाई छिर्न नदिने पोजिसनमा बसेका थिए।
सुरक्षाकर्मीको त्यस्तो ब्यवहारले ज्ञानेन्द्र सरकार पछि हटिसकेको भान दिन्थ्यो।
आन्दोलनकारीहरू हरियो रुखको हाँगा भाँचेर छाता जस्तो बनाई हिँडेका थिए। मलाई पनि त्यो आइडिया मन पर्यो र एउटा रूखमा चढेर हाँगा भाची उनीहरूले जस्तै गरेँ। घाम छेक्ने काम गर्दो रहेछ। तर पछि मिडियामा आयो- ‘कि हरियो हाँगा समाउनेजति माओवादी थिए।’
म छक्क परेँ, म त माओवादी थिँइनँ। अरू पनि कति म जस्ता थिए होला। त्यो बिशाल मानबसागरमा सात दलका कार्यकर्ता र माओवादी मात्र पक्कै थिएनन्। पछि आन्दोलन सफल हुनुमा माओवादीले आफू मात्र श्रेय लिन खोज्यो भने दलहरूले पनि आफूले मात्र, तर निःश्वार्थ सहभागिता जनाएका जनतालाई दुवै पक्षद्वारा अबमूल्यन गरियो।
उनीहरूले आन्दोलनको योजना बनाए, तर सफल पारे जनताले। योजना मात्र सबथोक हुँदो हो त राजा ज्ञानेन्द्रका पनि आफ्नै योजना थिए। तर, उनी घुडा टेक्नु पर्यो। माओवादीको आफ्नै सत्ता कब्जाको योजना थियो। त्यो सबै त्यागेर सात दलसँग मिल्न आउनुपर्यो।
सात दलका पनि आफ्नै योजना थिए होला एक्लै राजालाई गलाउने। गिरिजाबाबु २-३ सय कार्यकर्ता लिएर रत्नपार्कको आकासे पुल मुनि सडकमा बस्थे तर एकछिनमा ७-८ सय प्रहरी आएर उनीहरुलाई तितर बितर पार्थ्यो। उनीहरुप्रति जनताको विश्वाश पूर्ण रूपमा घटिसकेको थियो। एक्लै पार नलाग्ने बुझेरै गिरिजाबाबु माओवादीसँग मिल्न खोजेका थिए।
उक्त दिन बसुन्धरादेखि कलंकी अनि कलंकीदेखि बसुन्धरा जम्मा २० किमि पैदल हिँडिएछ। ठीक हुन लागेको जन्डिस फेरि बल्झिएको संकेत देखियो, फेरि पहेलो पिसाब आयो। घरबेटी अङ्कलले मलाई मुर्खको संज्ञा दिए।
सोही दिन बेलुका शाही घोषणा हुने समाचार आयो। उक्त रात तत्कालिन राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत ‘जनताको नाशो जनतालाई नै सुम्पने’ र प्रधानमन्त्रीको नाम दलहरूले राजा समक्ष सिफारिस गर्ने भनियो। तर त्यतीमा दलहरु रोकिएनन् र वैशाख १२ गतेका लागि झनै आक्रामक आन्दोलनका कार्यक्रम सार्बजनिक गरियो।
घरबेटी अङ्कल भन्दै थिए-‘राजाले जे जति दिएका छन् त्यसैमा चित्त नबुझाएर दलहरूले के खोजेका? दिल्लीको माग पुरा नहुन्जेल यिनीहरु चुप लाग्ने भएनन्, दिल्ली यहाँको राष्ट्रवादी शक्तिलाई ध्वस्त पारेर चैते क्रान्तिकारी नेतालाई स्थापित गर्न चाहन्छ, ता कि उसले नेपालबाट जे खोज्छ त्यो प्राप्त होस्। तिमीजस्तो जिम्मेवार युवा खाँटी कुरा नबुझेर किन हावाको पछि कुदेको बाबु?’
उनको कुरा सही थियो वा गलत आज बहसको विषय बन्न सक्ला। तर, त्यो बेलामा त्यस्तो विचार राख्नेहरुलाई पञ्चे र मण्डले भनिन्थ्यो। मैले पनि उस्तै खालको जवाफ दिए- ‘ज्ञानेन्द्र को हुन् र दलले उनले जे दियो त्यहीमा चित्त बुझाउनुपर्ने? पुरै देश लोकतन्त्रका लागि आन्दोलनमय भइरहेको यो अवस्थामा तपाईँ जस्ता एकदुई जना कुर्लनु भनेको हाँसको बथानमा बकुल्ला बन्नु मात्र हो, बहुमतलाई स्वीकार्नुहोस्। मसँग यो विषयमा धेरै बहस नगर्नुहोस् बरू तपाईँको कोठा छोडिदिनु पर्छ भने छोडिन्छ तर राजाको गुनगान गाइँदैन।’
१२ गतेका लागि तय आन्दोलन थेग्ने हिम्मत राजामा देखिएन, उनी आफैंले बिघटन गरेको संसद ११ गते मध्यरातमा आफैं पुनर्स्थापन गरिदिए। दशकअघि चुनाव जितेका संसद फेरि सिंहदरबार छिरे। बिद्रोही माओवादी बराबरी भागबन्डामा संसदमा छिर्यो। उनीहरूले संयुक्त राष्ट्र संघको मातहतमा हतियार र आफ्नो सेनालाई राखे।
अब दैनिक जसो ‘आज यति जना मरे, भोलि उतिजना मरे’ भन्ने समाचार आउन बन्द भयो। गणतन्त्र घोषणा गरेर राजालाई नहटाउञ्जेल दलहरुको (माओवादीसमेत) सहकार्य सराहनीय रह्यो। साथमा आन्तरिक राजनीतिक शक्ति एकठाउँमा रहने हो भने जे पनि सम्भब छ भन्ने म्यासेज जनतामा गयो।
यस्तो सहकार्य देखेर जनता पनि उत्साहित भए। अब केही हुन्छ भन्नेमा सबै आशावादी भए। घरबेटी अङ्कल अब मसँग बोल्न छोडे। मलाई देखेपनि नदेखे झैँ गरि मुन्टो बटारेर भाग्थे। मलाई आफ्नो जित भएको महसुस भयो। महान जनआन्दोलनमा आफ्नो सानो योगदान छ भन्ने कुरामा आत्मसन्तुष्टी मिल्यो।
दुःख लाग्दो कुरो दलहरुको सहकार्य धेरै समयसम्म रहेन राजा हटाईसकेपछि यिनीहरुको सम्बन्ध टुट्दै गयो जसले देशलाई पछाडि त पार्योनै साथमा दलहरुको गठबन्धन कसैले बनाइदिएको बनावटी रहेछ भन्ने आशंका समेत उत्पन्न भयो।
जसले यो गठबन्धन बाँधिदियो उसको उद्धेश्य राजा हटाउने मात्र थियो भन्नेकुराको केहि हदसम्म पुष्टि पनि गर्यो। ‘नेपालमा शान्ति र सम्वृद्धि’ योजनाकारको लक्ष्य हुँदो हो त दलहरुलाई सधैभरी मिलेर जान दबाब दिनुपर्ने। हिजो जसले मिलायो आज उसैले अनेक टिकिडम गरेर फुटाउन तल्लिन छ, सानो उदाहरणका लागि केपी ओलीविरूद्ध सुशील कोइरालाको प्रममा उम्मेद्वारी, संविधान घोषणापछि बाबुराम भट्टराई संसद र पार्टीबाट बाहिरिनु र मधेशवादी दलहरुले नेपाललाई नाकाबन्दीसम्म गर्नूलाई लिन सकिन्छ।
तरपनि हामी यो सब विदेशी चलखेलको दोश विदेशीलाई मात्र दिएर पन्छिन मिल्दैन विदेशीको ईशारामा आफ्नो देशविरुद्ध चलखेल गर्ने नेताहरू नेपाली जनताका प्रमुख दुस्मन हुन्। दोस्रो दुस्मन आफ्नो स्वार्थको लागि अर्काको देशमा ‘माइक्रो म्यानेज’ गर्ने दुष्ट विदेशी हुन्।
ईमान्दारिताका साथ भन्नुपर्दा अन्य दलहरूभन्दा जनतालाई तत्कालिन माओवादीबाट धेरै आशा थियो। पीएचडी गरेका बाबुराम, त्यत्रो कार्यकर्ता र जनसेनालाई मर्न र मार्न तयार पार्नसक्ने प्रचण्ड अनि दुःखले खारिएका अन्य नेता कार्यकर्ता जो जनताका लागि भनेर १० औं वर्ष लडे।
कतिले युद्वमा ज्यान गुमाए। यस्तो शक्तिले देश बनाउने अवसर किन खेर फाल्ला र भन्ने दरिलो जनअपेक्षा थियो। तर सबै भताभुंग भयो, उनीहरूपनि अन्य दलभन्दा कुनै कुरामा कम देखिएनन्। न त भ्रष्टाचारमा न त विदेशीको दलालीमा अनि न त नातावाद र कृपावादमा। गाउँ -गाउँमा जमिन्दारबीरूद्ध गरिएको यिनीहरूको आन्दोलन आफू पनि जमिन्दार बन्नका लागि मात्र रहेछ। गरिब जनतालाई जमिन्दार बनाउनका लागि रहेनछ।
२०४६ सालपछि आफ्नो वुद्धी विबेक र योजना नभई विदेशीको ईशारामा चल्ने अनि जनताले विकाश खोइ भन्यो भने राजाले गर्न दिएनन् भन्ने रेडिमेड जवाफ दिने यिनिहरूलाई २०५२ सालपछि भने माओवादीले गर्न दिएन भन्ने अर्को नँया रेडिमेड जवाफ मिल्यो।
राजा ज्ञानेन्द्रले चार/चार वर्षसम्म सत्ता आफ्नो हातमा लिएर यिनीहरूलाई भुसुनाको हैसियतसमेत नदिँदा हेर्न लायक यिनीहरूको अनुहारमा जनताले सहानुभूति दर्शाए र २०६२/६३ सालको आन्दोलनमा साथ दिए। जनतालाई विश्वाश थियो दलहरूले दुःख पाए अब त सुध्रिन्छन् भन्ने तर... जस्ताको तस्तै।
म सानै छदाँदेखि जनगायक जीवन शर्माको ‘सिमली छाँयामा बसी...’ बोलको एउटा हरफ खुब ध्यान दिएर सुन्ने गर्थेl उक्त हरफमा भनिएको छ:
‘नुन, तेल, लुगा छैन महँगो रासन,
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाईन सास फेर्न,
मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न’
यो गीत सुन्दा मेरो बालमानसपटमा लाग्थ्यो राजाले नै देशको विकाश गर्न नदिएको रहेछन। गरिब दुःखीको घरमा नुन तेल र रासन नहुने बातावरण बनाएका रहेछन्। यो शाशन ढलेपछि त सबै ठीक हुने रहेछ। राजा विरूद्धको आन्दोलनमा एकदिन भएपनि हिड्नुमा मेरो यहि मनोविज्ञानले समेत काम गरेको थियो।
आज जीवन दाईलाई भेटेर सोध्न मन लागेको थियो- ‘दाई बुढो र शामन्ति शासन त ढल्यो त, सम्पूर्ण जनताको घरमा नुन, तेल पुग्यो त? अनि राशनको भाउ घट्यो त?’ उहाँको उत्तर के रहला?
आज मलाई पश्चाताप छ एकदिन भयपनी म आन्दोलनमा नहिड्नु पर्नेरहेछ. घरबेटी अङ्कलसँग त्यसरी नाबाज्नु पर्ने रहेछ। देश विकास गर्नलाई कुनै राजनीतिक बादले छेक्दो रहेनछ बास ईमान्दारिता र इक्षा शक्ति चाहिदो रहेछ। त्यस्तो इमान्दारिता र इक्षा शक्ति चाहे राजामा होस् वा नेतामा त्यो म जस्तो सर्बसाधारणलाई केही फरक नपर्ने रहेछ।
त्यो समय देख्यो भने मुन्टो बटारेर भाग्ने घरबेटी अङ्कलको घर त अहिले मैले छोडिसके तर कहिले काँही बाटोमा उनलाई देख्यो भने म आफैं बाटो काटेर भाग्ने गरेको छु। किन कि मलाई थाहा छ अब उनले मलाई के सोध्ने छन्। उनले जे सोध्ने छन् त्यसको जबाफ म सँग हुने छैन।