फ्रान्समा नयाँ शक्तिको पूर्ण  बहुमत


 

 

आइतबार फ्रान्समा ५ सय ७७ स्थानका लागि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति (REM) र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको पार्टी (MDM) को गठबन्धनले ३५० स्थान सहित संसदमा पूर्ण बहुमत प्राप्त गरेको छ।

रिपब्लिकन पार्टी (LR) को गठबन्धन १३६ स्थान सहित संसदमा प्रमुख प्रतिपक्ष बनेको छ। समाजवादी पार्टी (PS) को गठबन्धन, वामपन्थी पार्टी (LFI) को गठबन्धन र दक्षिणपन्थी पार्टी (FN) क्रमस ४६, २६ र ८ स्थानसहित संसदमा तेस्रो चौथो, र पाँचौ पार्टी बनेका छन्।

अन्य साना पार्टी तथा स्वतन्त्र उम्मेदवारले जम्मा ११ स्थानमा जित हात पारेका छन्।

बहुचर्चित हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पराजित राष्ट्रपतिका उम्मेदवारमध्ये वामपन्थी पार्टीका नेता Jean Louis Mélenchon र दक्षिण पन्थी पार्टीकी नेतृ Marine Le Pen ले यस निर्वाचनमा विजय हासिल गरेका छन् भने समाजवादी पार्टीका नेता Benoît Hamon पहिलो चरणको निर्वाचनबाट नै बाहिरिएका थिए। वर्तमान मन्त्रिमण्डलमा रहेर पनि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ६ जना मन्त्रीहरु मध्ये सबैले आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। समाजवादी पार्टी छोडेर स्वतन्त्र उम्मेद्‌वार बनेका पूर्व प्रधानमन्त्री Mannuel Valles नयाँ शक्तिको सहयोगमा निर्वाचित हुन् सफल भए भने यस अघिको सत्ता पक्ष समाजवादी पार्टीका प्रमुखले पहिलो चरणवाट नै हार बेहोर्नु पर्‍यो।

औसत ४२% मतदाताहरुले मतदानमा भाग लिएको यो प्रतिनिधिसभा निर्वाचनवाट अधिकांश नयाँ अनुहारहरु निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्यहरुको उम्मेदवार छनोटमा सबै पार्टीहरुले युवाहरुलाई अवसर दिएकोले ४०% महिलाहरु सहित अधिकांश युवाहरू निर्वाचित भएका छन्। दुई वटा पदमा रहन नपाइने र ३ पटक भन्दा बढी एउटै पदमा निर्वाचित हुन नपाइने कानुन बन्दै गरेकोमा धेरै पूर्व सांसदहरू यो निर्वाचनमा उम्मेदवार बनेका थिएनन्। पुन उम्मेदवार बनेका २१६ उम्मेदवार मध्ये अधिकांश पूर्व संसदले यो निर्वाचनमा हार बेहोर्नु परेको छ।

नेपाल सहित ४९ देश मिलाएर बनाइएको वैदेशिक निर्वाचन क्षेत्र नम्बर ११ मा नयाँ शक्तिको तर्फवाट Mme Anne GENETET निर्वाचित भएकि छन्।

यस निर्वाचनबाट विषेश गरी दुई पार्टीहरु पूर्ण रुपमा प्रभावित भए। रिपब्लिकन पार्टीले आफ्नो प्रमुख प्रतिपक्षको लोगो सुरक्षित राख्न सफल भए पनि यस अघिको १९९ स्थानबाट केवल १३६ स्थानमा सिमित भएको छ। यस अघि राष्ट्रपति पद र प्रतिनिधिसभामा २९२ स्थान सहित पूर्ण बहुमत प्राप्त गरेको समाजवादी पार्टी केवल ४६ स्थानमा सिमित भएको छ।

प्रतिनिधि सभामा दल विषेशको समूह निर्माण गर्न कम्तिमा १५ जना सांसद आवश्यक पर्ने हुनाले प्रमुख प्रतिपक्ष दल (LR), समाजवादी पार्टी (PS) र वामपन्थी पार्टीले यो सुविधा पाउने छन्| राष्ट्रपतिको निर्वाचनमा दोस्रो, चौथो र पाँचौ स्थान हासिल गरेका तीन पार्टीहरु केवल क्रमश ८, २६ र ४६ सिटमा सिमित हुनु र प्रमुख प्रतिपक्षका सांसदहरुको संख्या निकै कम हुनुले राष्ट्रपतिको मनोमानी बढ्न सक्ने चिन्ता राजनीतिक बिश्लेषकहरुले गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.