‘हिमालयन ट्राभल मार्ट–२०१७’ सम्पन्न


हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रुपमा स्थापित गराउने उद्देश्यले काठमाडौँमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट–२०१७ आज सम्पन्न भएको छ । यही जुन १ देखि ४ तारिखसम्म ( जेठ १८–२१) चलेको मार्टमा क्रेता, बिक्रेता, ब्लगर, मिडिया तथा अतिथि गरी ५३ देशका २२० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रमका रुपमा नेपालमा पहिलो पटक आयोजित मार्टले सम्पूर्ण हिमाली क्षेत्रका पर्यटकीय सामग्री नेपाली नेतृत्वमा अन्तर्राष्ट्रिय बजारमा पस्कनु र नेपाललाई अझै पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो ।

उक्त सम्मेलनमा नौजना विश्वका ख्यातिप्राप्त वक्ताको रोचक प्रस्तुति तथा १०७ देशका ब्लगर र पत्रकारको सहभागिताले हिमालय ट्राभल मार्टको सफलतामा उचाइ थपेको थियो ।

कार्यक्रमको दोस्रो दिन, जुन २ तारिखका दिन सोल्टी होटलमा सञ्चालित हिमालयन ट्राभल सम्मेलनमा हिमालय क्षेत्रको पर्यटन तथा अन्वेषण र बजार व्यवस्थापन सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञले कार्यपत्र प्रस्तुत र प्रवचन दिएका थिए।

मार्टको राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १८ मा भव्य समारोहकाबीच उद्घाटन गरेकी थिइन्।

हिमालयन ट्राभल मार्टको समापन मन्तव्य व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले हिमालयन ट्राभल मार्ट– २०१७ नेपाली पर्यटनको कोसेढुङ्गा जस्तै सावित भएको भन्दै आगामी वर्ष जुन १ देखि ३ तारिखमा दोस्रो संस्करणको आयोजना गर्ने घोषणा गरे।

मार्टको नेपाल पर्यटन बोर्ड मुख्य आयोजक तथा कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको थियो ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.