साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिएको आममाफी लिएर स्वदेश फिर्न शनिबारसम्म १३ हजार नेपाली कामदारले दूतावासमा ‘आउटपास’ बनाएका छन् ।
साउदी सरकारले मे १० देखि जुलाई ३ सम्मका लागि सबै प्रकारका गैरकानुनी हैसियतका कामदारलाई सम्बोधन हुने गरी आममाफी दिएपछि फर्कनेको ताँती लागेको आजको कान्तिपुरमा खबर छ ।
राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार आममाफीका लागि फारम लिन थालेको चार दिनमै ‘आउटपास’ बनाउनेको संख्या १३ हजार पुगेको हो । दूतावासले भीड थेग्न नसकेपछि स्वयंसेवी विभिन्न संघसंस्थासँग समन्वय थालेको छ ।
‘घर फिर्न आउटपास बनाउन आउनेको संख्या १३ हजार पुगिसकेको छ,’ राजदूत उदयराज पाण्डेले भने, ‘रियादमा ६ हजार तीन सय, जेद्दामा दुई हजार र दमाममा तीन हजार नेपालीले आउटपास बनाउन निवेदन दिएका छन् ।’
साउदीमा गैरकानुनी हैसियतका नेपाली कामदारको संख्या ७० हजार रहेको अनुमान छ । तीमध्ये ३० हजार भागेर काम गरेका नेपालीको राहदानी साउदी सरकारबाट दूतावास आइपुगेको छ । ती राहदानी सम्बन्धित कामदारलाई दिन दूतावासले वेबसाइट राख्न अपडेट गरिरहेको जनाएको छ ।
आममाफीपछि गैरकानुनी कामदारले स्वदेश फिर्न वा वैध भएर साउदीमै काम गर्न पाउनेमध्ये एक विकल्प रोज्न पाएका छन् । त्यस्ता कामदार अब पहिलेकै कम्पनीमा फर्कन वा हाल भागेरै काम गरिरहेकै कम्पनीको स्पोन्सरमा बस्न वा कम्पनीबाट गैरकानुनी प्रमाणित भएका कामदारले स्पोन्सर परिवर्तन गरेर काम गर्न पाउने व्यवस्था गरिएको राजदूत पाण्डेले बताए ।
आउटपासका लागि दूतावासमा बढेको भीडलाई सेवा दिन निकै कठिन भइरहेको छ । दूतावासले रियादबाहिर पनि दूतावासको पहुँच बढाउन सहयोगी खटाएको जनाएको छ । ‘दमाम र जेद्दामा सहयोगी खटाएको छ,’ राजदूत पाण्डेले भने, ‘अरूमा क्षेत्रका लागि प्रयास भइरहेको छ ।’