काठमाडौं, चैत २२ (सेतोपाटी)– सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशसहित पाँचजनामात्रै न्यायाधीश बाँकी हुँदा नेपाल बार एशोसियसनले न्यायाधीश नियुक्ति विवेकसंगत ढंगले छिटो गर्न न्याय परिषद्लाई आग्रह गरेको छ ।
राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउको आदेशविरुद्ध परेको रिट निवेदन सर्वोच्चमा विचाराधीन भइरहेको बेला न्यायाधीश नियुक्ति गर्न हुने–नहुने विषयमा विवेकसंगत भई न्यायाधीश नियुक्ति गर्न बारले आग्रह गरेको हो । ‘विचाराधीन मुद्दाको विषयमा विवेकसंगत ढंगले विचार गरेर न्यायाधीश नियुक्ति छिटो गर्न हामीले आज छलफलमा भन्यौं,’ बार महासचिव सुनिल पोखरेलले भने, ‘न्यायाधीश नियुक्तिमा बारले डेढ वर्षअघि गरेको सिफारिसलाई प्राथमिकतामा राख्नका लागि पनि पहल गरेका छौं ।’ बारले सोमबारसम्म न्यायाधीश नियुक्ति गराउनसमेत परिषद्लाई भनेको पोखरेलले बताए ।
बारले सर्वोच्चमा न्यायाधीशका लागि डेढ वर्षअघि १५ जना योग्य कानुन व्यवसायीको नाम सिफारिस गरे पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । संविधानसभा जेठ १४ गते विघटन भएपछि संवैधानिक संकटका कारण रोकिएको थियो । चैत १ गते मन्त्रिपरिषद् सिफारिस अनुमोदन भएपछि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न बाटो खुलेको थियो । त्यसयता न्याय परिषद्ले सर्वोच्चबाट न्यायाधीश नियुक्तिको क्रम थाले पनि हुन सकेको छैन । ‘हामी न्यायाधीश को को हुनसक्छ भन्नेबारे छलफल गरिरहेका छौं,’ अब न्यायाधीश नियुक्ति छिट्टै गर्छौं ।’
तीन वर्षभन्दा लामो समयदेखि न्यायाधीश नियुक्ति हुन नसक्दा न्यायबाट सेवाग्राही बन्चित भएको भन्दै सर्वोच्च लगायत पुनरावेदन र जिल्लामा न्यायाधीश नियुक्ति गर्न अनुरोध गरेको छ । ‘जिल्लामा न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायी पनि हुने सुनिश्चित भए पछि मात्रै न्यायाधीश नियुक्ति थाल्नसमेत हामीले पहल गरेका छौं,’ पोखरेलले भने ।
प्रकाशित मिति: 2013-04-04 19:36:15