भोलि (शुक्रबार) रिलिज हुने नेपाली फिल्म ‘अन्तराल’को दुइटा गीत अहिले फरक प्रस्तुतिका कारण चर्चामा छन्– ‘एउटा गीत गाउँछु यहाँ’ र ‘खासखास खुसखुस’ । रमाइलो तरिकाले गाइएका यी गीतहरूले स्रोतालाई हलुका शैलीमा आनन्दित महसुस गराउँछन् ।
यी गीत शशिबिक्रम थापाले गाएका हुन् । संगीत पनि उनकै हो ।
महिला निर्देशक दीपा बस्नेतले बनाएको यो फिल्मको संगीत निर्देशन नै शशिले गरेका हुन् । ‘एउटा गीत गाउँछु यहाँमा माइलाको पीडा रमाइलो पारामा उतारिएको छ, सुन्नेहरूले मन पराइरहेका छन्,’ ३३ वर्षीय शशिले भने । मीठो पारामा माइलाहरूको कथा प्रस्तुत गरिएको यो गीत तीर्थ दावाँलीले लेखेका हुन् । ‘अन्तराल’मा जम्मा चारवटा गीत छन् ।
डेढ दशकदेखि संगीतमा लागेका शशिले यसअघि नेपाली फिल्म ‘आगमन’मा संगीत भरे पनि त्यो रिलिज भएको छैन । ‘यस हिसाबले अन्तराल मेरो संगीत निर्देशकका रूपमा पहिलो फिल्म हो,’ शशिले भने । अहिले उनी ‘प्रयोग’ र ‘सुरुवात’ दुई फिल्ममा संगीत भरिरहेका छन् ।
‘बिदाइको बेला नरोए दिदी’ शीर्षक गीतबाट गायनयात्रा सुरु गरेका शशिले त्यसयता गायन, लेखन र संगीत गरी करिब ४ दर्जन गीत तयार गरिसकेका छन् ।
अभिनयमा पनि रुचि राख्ने शशिले करिब करिब १० वटा फिल्ममा विभिन्न भूमिकामा अभिनय गरिसकेका छन् । नेपाली मौलिक संगीतप्रति रुचि राख्ने शशि परम्परागत बालन गीत रेकर्ड गराउने तयारी समेत गरिरहेका छन् । नौ वर्षअघि
‘सौन्दर्य’ एल्बम निकालेका शशि अहिले अर्को एल्बम ‘म त माया गर्छु’को तयारी पनि गर्दैछन् । यसबाहेक आफ्नै शब्द, संगीत र गायनमा उनी स्वदेशी गानको एल्बमसमेत निकाल्ने तयारीमा छन् ।
इलाहावादबाट संगीतसम्बन्धी शिक्षा लिएका शशि आध्यात्मिक गायनमा पनि रुचि राख्छन् । उनले गाएका केही भवन पनि स्रोतामाझ लोकप्रिय भइसकेका छन् ।
हेर्नुहोस भिडियोमा माइलाको गुनासो :