काठमाडौं, चैत २१ (सेतोपाटी)– एसिसी २०–२० कपको फाइनलमा पहिलो ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १३५ रन बनाएको छ । केही बेरमा ब्याटिङ सुरु गर्न लागेको अफगानिस्तानलाई नेपालले १३६ रनको लक्ष्य दिएको छ । नेपाली टोलीका कप्तान पारस खड्का ५० रनसँगै आउट भएका थिए । नेपालले राम्रो फिल्डिङ गरे एसिसी २०–२० कपको उपाधि सुरक्षित गर्न सक्नेछ ।
अहिले कीर्तिपुरस्थित रंगशालामा हजारौं दर्शकहरू नेपालको पक्षमा हुटिङ गरिरहेका छन् । चन्द्र–सूर्य अंकित झन्डा फहराउँदै दर्शकहरू नेपाली टिमको हौसला बढाइरहेका छन् । पहिलो पटक एसिसी २०–२० को फाइनल खेलेको नेपालले अफगानिस्तानलाई पराजित गरे नेपाली क्रिकेटमा नयाँ इतिहास रच्नेछ । यसअघि मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले युएईलाई छ विकेटले जितेको थियो । त्यस्तै मंगलबार नै भएको सेमिफाइनल खेलमा अफगानिस्तानले हङकङलाई जितेर फाइनलमा प्रवेश गरेको थियो ।
प्रकाशित मिति: 2013-04-03 14:51:05