काठमाडौं, चैत २० (सेतोपाटी)– राहदानी हराउनेले अब कम्तीमा हराएको मितिबाट ६ महिनासम्म नयाँ पाउने छैनन् । राहदानी हराउनेलाई कडा दण्ड सजाय गर्न सरकारले राहदानी नियमावली संशोधन गर्ने तयारी गरेको हो । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नियमावली संशोधन गर्ने प्रस्ताव मन्त्रालय पठाइसकेको छ ।
‘राहदानी जस्तो महत्वपूर्ण कागजात सजिलै हरायो भन्छन् । दैनिक अखबारमा हराएको सूचना निकालेपछि केही दिनमै नयाँ राहदानी पाइहाल्छन् । यो प्रवृत्ति नै भयो । नियतवश हराइने यस्ता राहदानीवाहकलाई अब ६ महिनासम्म नयाँ राहदानी नदिने प्रस्ताव गरेका छौं,’ राहदानी विभागका कार्यकारी महानिर्देशक यादव खनालले भने ।
हराएको भनिएकामध्ये ९५ प्रतिशत राहदानी नियतवश आफैंले च्यातेर फाल्ने वा लुकाइने गरेको विभागको भनाइ छ । विभागका अनुसार राहदानी हरायो भन्ने विविध कारण छन् । कुनै दूतावासले भिसा रिजेक्ट गरे त्यो राहदानीमा अर्को देशले पनि भिसा दिँदैन भन्ने धेरैको गलत बुझाइ छ । यस्ता व्यक्तिहरूले समयावधि हुँदा हुँदै राहदानी हरायो भनी नयाँ लिने गर्छन् ।
अर्को कारण म्यानपावर कम्पनीले नै राहदानी लुकाइ दिने गर्छन् । वैदेशिक रोजगारमा जानेसँग म्यानपावरले राहदानी लिएपछि लामो समय फिर्ता नगरे यस्ता व्यक्ति राहदानी हरायो भन्दै नयाँ लिन पुग्छन् ।
म्यानपावरले सुरुमा भिसा आउँछ आउँछ भन्दै राहदानी अड्काउछन् । लामो समयसम्म नआएपछि दिक्क मानेर व्यक्तिले राहदानीकै माया मारिदिन्छ । मानिस अर्को म्यानपावरमा जालान् भनेर राहदानी कब्जामा लिने गरिन्छ । भिसा आउँदासम्म व्यक्ति कहाँ पुगेको हुन्छ पत्तो हुँदैन । राहदानीमा उल्लेख व्यक्तिको नाममा भिसा आएको हुनाले म्यानपावरले पनि अर्को व्यत्तिलाई राहदानीमा फोटो परिवर्तन गरि पठाइदिन्छ ।
राहदानी हराउनुको अर्को कारण हो बंगालादेशी तथा नेपाली मूलका भारतीयलाई बेचिनु । केही खाडी राष्ट्रले बंगलादेशीलाई प्रतिबन्द नै लगाएका छन् त भारतीयलाई निस्चित उमेर तोकिदिएका छन् । यस्ता भारतीय र बंगलादेशी नेपाली राहदानी पाँच लाख रुपैयाँसम्ममा खरिद गरी नेपाली नागरिक बनी वैदेशिक रोजगारीमा जाने गर्छन् ।
‘राहदानी जेन्यून तरिकाले भन्दा पनि नियत राखी हराएको पाइयो । यो कानुन फितलो भएको कारण हो । यसकारण अब नियतराखी राहदानी हराउने माथि कडा अनुसन्धान गरी कारवाही हुनुपर्ने प्रस्ताव हामीले गरेका छौं,’ खनालले भने ।
हाल राहदानी हराए दैनिक अखबारमा हराएको सूचना निकाल्नुपर्ने प्रावधान छ । सूचना प्रकाशित भएको एक सातापछि त्यसको कटिङ प्रहरी कार्यालयमा बुझाउनुपर्ने र त्यसको आधारमा बिना कुनै सोधपुछ प्रहरीले राहदानी हराएको रिपोर्ट बनाइदिने गर्छ । उक्त रिपोर्ट सहित आवेदन दिए बढिमा ४५ दिन भित्रमा नयाँ राहदानी पाइन्छ ।
विभागका अनुसार नियवाली संशोधन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालय पुगेको छ र संशोधन गर्नेमा सहमति बनिसकेको छ । विभागको प्रस्ताव अनुसार नै नियमावली संशोधन भए राहदानी हराउने माथि सुरुमा छानबिन हुन्छ र दोषी देखिए कारबाही ।