काठमाडौं, वैशाख १७ (सेतोपाटी)– जातीय संघीयताको पक्षमा उभिँदै आएको एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भारतले भाषिक संघीयतामा जान आग्रह गरेर अप्ठ्यारोमा पारिदिएको छ । चारदिने भारत भ्रमणमा फर्केपछि मंगलबार त्रिभुवन विमानस्थलमा माओवादी अध्यक्ष दाहालले भारतीय नेताहरुले आफूलाई भाषिक संघीयतामा जान सुझाव दिएको खुलासा गरे ।
६५ भन्दा बढी भाषा बोलिने नेपालमा भाषिक संघीयता कसरी लागू गर्ने भन्ने अन्योलमा दाहालको छटपटी बढेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, सुरक्षा परिषद्का सल्लाहकार शिवशंकर मेनन र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलगायतसँग भेट गरेका दाहालले भाषिक संघीयताको सुझाव कहाँबाट आएको भन्ने खुलाएनन् । तर, भारतको उपल्लो राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट त्यस्तो सुझाव आएको दाहालको संकेत थियो ।
भषिक संघीयता भारतमै पनि प्रसस्त आलोचना भएको विषय हो । नेपालको बारे भारतले किन त्यस्तो सुझाव दिएको हो भन्ने खुलेको छैन । भारतको सुझावमा दाहालले कुनै प्रतिक्रिया नजनाएको जानकारी दिए ।
भारतीय नेताहरुले नोभेम्बरमै चुनाव गर्नसमेत आग्रह गरेको जानकारी दाहालले दिए । भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई उद्धृत गर्दै दाहालले संवाददाताहरुसँग भने, ‘नोभेम्बर (मंसिर)मा जसरी पनि चुनाव हुन्छ भन्ने आशा गरेको छु ।’