काठमाडौं, चैत २०– प्रधानन्यायाधिश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार विघटन गर्नुपर्ने माग राख्दै आदिवासी जनजाति पार्टी लगायत तेत्तीस दलले मुलुकको मुख्य प्रशासनीक निकाय सिंहदरबार घेराउ गरिरहेका छन् ।
नौं बजेदेखि नाराबाजीसहित सिंहदरबार घेराउ थालेका ती दलले सिंहदरबार तथा आसपासका क्षेत्रहरूमा यातायात ठप्प पारेका छन् । काठमाडौं प्रहरीका अनुसार सिंहदरबार आसपास भिआइपी मुभमेन्टबाहेक अन्य सवारी चल्न दिएका छैनन् । छिटफुट मोटरसाइकल भने चलिरहेका छन् ।
घेराउ ११ बजेसम्म जारी रहने आदिवासी जनजाति पार्टीका अध्यक्ष तामाङ बुद्धराज स्याङतानले बताए । ‘मुख्य चार राजनीतिक दलले संविधान संशोधन गरी प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरी राष्ट्रघाती कदम गरेको विरूद्व तेत्तीस दलको आपत्ति हो,’ स्याङतानले सेतापाटीसँग भने, ‘यो सरकार विघटन नभएसम्म हाम्रो आन्दोलन जारी रहिरहने छ ।’
प्रधानन्यायाधिश रेग्मी सरकार ‘विदेशीको इसारा’मा बनेको भन्दै ती दलले यथाशीघ्र विघटन हुनुपर्ने माग राखेका छन् । राष्ट्रिय संयुक्त सरकार बन्नुपर्ने ती दलको माग छ । यही मुद्दामा विभिन्न ९ बुँदे माग राख्दै ती दलले चैत २५ गते आमहडताल आह्वान गरेको जनाएका छन् ।
प्रकाशित मिति: 2013-04-02 12:20:36