डिफेन्डिङ च्याम्पियन विर्तामोड युथ क्लबले धनकुटामा जारी सहिद भीमनारायण अर्न्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको उपाधी जितेको छ।
बुधबार धनकुटामा भएको खेलमा ब्वाईज युनियन क्लब काठमान्डौलाई ट्राईब्रेकरमा ५–३ गोल अन्तरले हराउदै विर्तामोडले लगातार दोस्रो पटक उपाधि कुम्ल्याएको हो।
ट्राईब्रेकरमा विर्तामोडको तर्फबाट कर्ण लिम्बु, दिलेन लोक्तान, दिवस गिरी, नानी लिम्बु र गोलकिपर दिनेश थापाले गोल गरे। ब्वाईज युनियनका तर्फबाट अकिम बाबाटुण्डे, सेगुन, युवराज राईले मात्रै गोल गरे।
निर्धारित समय १/१ गोलको बराबरीमा सकिएपछि समयअभाको कारण थप समय नखेलाई ट्राईब्रेकरमा पुगेको थियो। खेलको ९ औ मिनेटमै ब्वाईज युनियनका ईब्राहिम रहमानले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलले पछि परेको विर्तामोड युथ क्लबले दोस्रो हाफमा आक्रमक खेल खेल्दै अजाद प्रधानको सट्टामा मैदान छिरेका दिपेन्द्र तामाङले ७५औ मिनेटमा गोल गर्दे खेल बराबरीमा ल्याएका थिए।
यस अगाडि ८५औ मिनेटमा ब्वाईज यनियनका अकीम बाबाटुण्डेले गोलको सुनौलो मौका गुमाएका थिए। ईब्राहिम, सिगुन र शेखर लिम्बुको प्रहारलाई विर्तामोड क्लबका गोलकिपर दिनेश थापाले रोकेपछि हार स्वीकार्नु पर्यो। त्यस्तै विर्तामोडका आजद प्रधानले १३औ प्रहार गरेको बललाई ब्वाईज युनियनका गोलकिपर विनय श्रेष्ठले रोके। ५१औ मिनेटमा विशाल राईको प्रहारमा समेत विनय बाधक बन्दा खेल टाईब्रेकरमा सकिएको हो।
जितपछि प्रतिक्रिया दिँदै विर्तामोडका टिम मेनेजर भुपेन्द्र लिङदेनले टिम सेट मिलेको र सामुहिक भावनाको कारण जितेको उपाधि जितेको बताए। खेल बराबरी भएकाले टाईब्रेकरमा भाग्यले साथ दिएको उनले बताए। यता ब्वाइजप्रेम घिमिरेले रेफ्रीमा आक्रोस पोखे। रेफ्रीले आफ्नो टिमका खेलाडीको अनावश्यक फल लिने र कार्ड दिएको कारण हार्नु परेको बताए।
उपाधी सँगै विर्तामोडले नगद १ लाख र चाँदीको गोल्डकप हात पारेको छ। उपविजेता ब्वाईज युनियनले नगद ५० हजार र चादीको कपमा चित्त बुझायो। खेलको म्यान आफ दी म्याच ब्वाईज युनियनका अजिज ओलुवासिना भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडी विजेता टिमका कर्ण लिम्बु भए। कर्ण लिम्बुले नगद ४ हजार र मोवाईल सेट हात पारे।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, सदस्यहरु किरण गिरी, कुसुम श्रेष्ठ, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष किशोर राई पुर्वाञ्चल संयोजक सन्तोष बाँनिया लगायतले पुरस्कार, गोल्डकप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।