माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज (वैशाख १ गते आइतवार) सुरु हुने चीन र त्यस लगत्तै हुने भारत भ्रमण उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजकको हैसियतले गर्न लागेको बताएका छन्।
उनले चीन सरकारको निम्तो आएपछि संयन्त्र र सरकारबाट समेत अनुमोदन गराएर आफू चीन जान लागेको घोषणा गरेका छन्।
भ्रमणको केहि घन्टा अघि आइतवार बिहान नेपाल वाणी एफएमलाई अन्तर्वार्ता दिँदै दाहालले भने, 'चार दलीय संयन्त्रको संयोजकको हैसियतले म चीन जान लागेको हुँ।'
उनले चीन सरकारले पठाएको निम्तोको बेहोरामा पनि 'उच्च स्तरिय राजनीतिक संयन्त्रको नेता' भन्ने उल्लेख भएको बताएका छन्। 'नेपाल सरकारले पनि मेरो भ्रमणलाई त्यहिँ अनुरुप अनुमोदन गरेको छ,' उनले भने।
चार दलीय संयन्त्रले सरकारलाई नीति निर्देशन गर्ने हुँदा भ्रमणको हैसियत सरकारी वन्न गएको दावी दाहालले प्रस्तुत गरेका छन्।
भ्रमण राजनीतिक मुद्वामा मात्र केन्द्रित नहुने खुलासा उनले गरेका छन्। 'यसपाला म अबको सन्दर्भमा नेपाललाई कसरि स्थिर, समृद्व र सम्पन्न वनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछु,' दाहालले भने।
त्यसै अनुरुप भ्रमणका लागि बेजिङका अलावा आर्थिक रुपले अग्रणी शहरहरु छनोट भएको
उनले दावी गरेका छन्।
दाहालले संयन्त्रको प्रतिनिधित्व गर्दै विदेश जान लागेको बताएपनि चीनले भने उनीपछि चारै दलका नेतालाई क्रमश छुट्टाछुट्टै निम्तो दिने भएको छ। संयन्त्रका नेताहरु सुशील कोइराला, झलनाथ खनाल र विजय गच्छदारले नै निम्तो पाउनेछन्।
एमाले अध्यक्ष झलनाथ खनालले दाहालका आसन्न विदेश भ्रमणहरुले राजनीतिक संयन्त्रको कुनै प्रतिनिधित्व नगने बताएका छन्। 'दाहालको भ्रमणबारे चार दलको संयन्त्रमा एक शव्द छलफल भएको छैन,' नेपाल वाणीकै अन्तर्वार्तामा खनालले भने, 'आफ्नो भ्रमणलाइ हाई प्रोफाइल बनाउन प्रचण्डले सरासर झुटो बोलेका छन्।'
खनालले सबै पार्टीका नेताहरु बलाबेलामा विदशे भ्रमण जाने गर्छन्। दाहालको भ्रमण पनि त्यस्तो सामानय हो, खनालले भने।
माओवादी अध्यक्षको हैसियतले हुन लागेका भ्रमणमा राजनीतिक संयन्त्र र सरकारको आवरण दिन खोजेकोप्रति खनालले आपत्ति प्रकट गरेका छन्।
'विदेशीसँग त्वम शरण गरेर मुुलुकका समस्या समाधान हुन्छ भन्ने हामीलाई विश्वास छैन,' खनालले भने, 'नेपालीहरुले आफ्नो भाग्य आफै कोर्नुपर्छ भन्ने मान्यता हाम्रो छ।'
दाहाल ८ गते चीनबाट फर्केको भोलिपल्ट दिल्ली जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री राजिनामा दिएयता चार वर्षदेखि पटक पटक दिल्लीको आतिथ्यका लागि दाहालले गरेको प्रयास यसपाला सफल भएको छ।
आफ्नै अनुनय विनयमा हुन लागेको भारत भ्रमणलाई पनि दाहालले चार दलको नेताको हैसियतले भनि 'हाइ प्रोफाइल' बनाउन खोजेका छन्।
खनाल दाहालको यो रवैयाँप्रति झनै आक्रोसित छन्। 'हामीलाई के थाहाँ छ भने बेजिङ गएर पनि नेपालीले केहि पाउँदैनन्, दिल्ली गएर पनि केहि हुन्न,' खनालले भने, 'बरु दिल्ली गएर धेरै सिल्ली भएर पर्किने गरेका छन्।'