जनकपुर– म सबैरै जनक मन्दिर पुग्दा खासै चहलपहल थिएन । जनकपुरको मूलचोक सुनसानै थियो । रातभरि पानी परेकोले बाटो सिनित्त थियो । एकजना युवा एकाबिहानै मन्दिर परिसरमा सुन्तले प्लास्टिकको पाल टाँगी खाटमा पत्रिका बिछ्याएर पसल थाप्ने तर्खरमा थिए ।‘दिपनारायणजी हुनुहुन्छ ?’ उनले मेरो प्रश्नको उत्तर दिएनन् । उल्टै सोधे, ‘तपाईं को ?’
‘म पत्रकार,’ भनेँ, ‘दिपनारायणजीलाई भेट्न आएको ।’
‘कहाँबाट आउनुभएको ? के काम गर्नुहुन्छ ?’ उनले मेरै अन्तर्वार्ता लिन थाले । उनी दिपनारायण साहका छोरा रहेछन् ।
मैले आफ्नोबारे सबै बताएँ ।
‘बस्दै गर्नुस्,’ उनले खाटको एउटा कुनातिर इसारा गरे, ‘उहाँ अहिले आउनुहुन्छ ।’
करिब डेढ घन्टापछि झुल्किए दिपनारायण । खाटमा बसे । पसलको जिम्मा लिए । स्थानीय र राष्ट्रिय दैनिक गरी दिनको पाँच सय प्रति अखबार बेच्ने उनको पसलमा घुइँचो बढिसकेको थियो ।
मैले अखबार बेच्न तल्लीन साहमाथि क्यामरा तेस्र्याएँ । उनी सचेत भए । छोराले जस्तो सवालजवाफ भने गरेनन् । बरू फोटो खिचाउन पोज दिन थाले । छेउछेउका मानिसलाई क्यामरा र आफ्नो बीच नआउन इसारा पनि गरे ।
अघिल्लो साँझ जनक मन्दिरको बाटो भएर होटल फर्किंदा स्थानीय पत्रकार ध्रुव झाले मन्दिर परिसरको खाट देखाउँदै भनेका थिए, ‘यहीँ बसेर ४५ वर्षदेखि पत्रिका बेचिरहेका छन् दिपनारायण साहले ।’
त्यही बेलादेखि म उनलाई भेट्न र कुराकानी गर्न आतुर थिएँ । उनले यस अवधिमा जनकपुर, जनकपुरको पत्रकारिता र राजनीतिलाई कसरी हेरेका रहेछन् भनेर म जान्न चाहन्थेँ ।
२०२४ सालमा म्याट्रिक पास गरेका दिपनारायणले २०२५ देखि झन्डै दुई वर्ष जयनगरमा पत्रिका बेचेका रहेछन् । त्यसपछि जनकपुर आएर आजसम्म लगातार पत्रिका बेचिरहेका छन् । पहिले हिन्दी पत्रिका बेच्थे । पछि गोरखापत्र थपे । होमनाथ दहालको राष्ट्रपुकार पनि बेचे ।
‘थोडी न अहिलेजस्तो धेरै पत्रिका थियो त्यतिबेला ?’ उनले भने, ‘अहिले त जनकपुरमै दर्जनौं पत्रिका छापिन्छन् ।’
‘कस्तो छ त यहाँको पत्रकारिता ?’ मैले सोधेँ ।
‘कस्तो छ भन्नु,’ उनी अलि जंगिए, ‘सब माफियाकरण छ । धन्दा गर्छ अर्कै, अनि पब्लिसर (प्रकाशक) बन्छ । पुलिस–प्रशासन सबैलाई धम्क्याउँछ । त्यहाँ पनि सबै भ्रष्ट छन्, आफ्नो पोल खुल्ने डरले केही गर्न सक्दैनन् । पत्रकार पनि लठैत छन्, सुरासुन्दरीमा मस्त ।’
‘सबै त त्यस्तो हुँदैनन् नि ?’ फेरि सोधेँ, ‘राम्रा पत्रकार पनि त होलान् ?’
‘मुस्किलले एक प्रतिशत,’ उनी सोझै आंकडातिर गए, ‘पत्रकारहरूको पनि समस्या छ, मालिकले पैसा दिँदैन, महिनाको ४–५ हजार दिन्छ । के हुन्छ त्यसले ? अनपढ मजदुरले त दिनको पाँच सय रोजगारी लिन्छ ।’
उनी निकै खुलस्त कुरा गर्थे । मनको कुरा सोझै मुखमा ल्याउने ।
‘पब्लिसर पनि खत्तम छ, पत्रकार पनि खत्तम छ भन्नुहुन्छ,’ म कुराकानी अघि बढाउँदै थिएँ, ‘तैपनि दिनको ५ सय प्रति पत्रिका बेच्नुहुन्छ, पाठकले के पाउँछन् त त्यस्ता पत्रिका पढेर ?’
‘इन्टरटेन्टमेन्ट पाउँछन् नि,’ उनले ठाडै भने, ‘इन्टरटेन्टमेन्ट हो, उसके बाद कुछो पाउँदैनन् । हिन्दी सिनेमा छ न, टिकट काटो फिलिम देखो, त्यस्तै हो पत्रिका भनेको, पैसा तिर्यो, एकछिन इन्टरटेन्टमेन्ट लियो, सकियो । ज्ञान पाउँछु भनेर कसैले फिलिम हेर्छ, त्यस्तै हो आजकालको पत्रिका ।’
अनुभवले खारिएका दिपनारायणलाई पत्रकारिता मात्र हैन, कुनै पेसाप्रति विश्वास छैन । उनको विचारमा पेसाकर्मीहरूले नै समाज बिगारेका छन् ।
‘बिल्लाधारीहरू नै समाजका समस्या हुन्,’ उनले भने, ‘जति पनि बिल्लाधारीहरू छ न, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, व्यापारी, राजनीतिज्ञ सबैले समाजलाई धोका दिएका छन् । यिनीहरू ठिक नभई देश ठिक हुन्न । जब यिनीहरु ठिक हुन्छन् देशको विकास हुन्छ, शान्ति हुन्छ ।’
उनी व्यापारीमाथि पनि खनिए, ‘व्यापारीको धर्म के हो, तपाईंलाई थाहा छ ?’
मैले टाउको हल्लाउँदै ‘थाहा छैन’ भनेँ ।
‘ल सुन्नुहोस्,’ उनको वर्णन सुरु भयो, ‘उसको धर्म छ मिलावट, जम्माखोरी, कालाबजारी, सरकारका ट्याक्स मार्ना और एकका माल चारमें बेच्ना ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको असमानता पनि चित्त बुझेको छैन उनलाई । ‘राजा और रंकको बच्चा पनि एक हि स्कुलमा पढाउनुपर्छ, एक हि अस्पतालमा उपचार गराउनुपर्छ,’ उनले भने, ‘धनी छोराछोरी बोर्डिङ स्कुल जाने, दूध पिलाउने, अनि गरिबको छोराछोरी सरकारी स्कुल जाने, पानी पनि खान नपाउने ? ये कहाँका इन्साफ है, बताइए ?’
मैले राजनीतिप्रति साहको बुझाइ जान्न खोजेँ ।
मलाई लागेको थियो, उनले समसामयिक राजनीतिबाट कुरा थाल्लान् । तर, उनी परे २०२४ सालका म्याट्रिक पास, जुन उनी पटकपटक दोहोर्याइरहन्थे । उनले राणा शासन र पञ्चायतकालबाट कुरा सुरु गरे ।
‘राणा र पञ्चायतको समयमा जनताको मुखमा टेप थियो, मौलिक हक थिएन,’ उनले भने, ‘अहिले टेप खुल्ला, अनि सब मान्छे बोल्छ । भला बोल्छ, बुरा बोल्छ । प्रजातन्त्रमा त्यही बोल्न पायो, अरू केही पाएन ।’
‘राजनीतिक पार्टीहरू कस्ता छन् त ? जनताले कसलाई विश्वास गर्छन् ?’
‘मधेसको मान्छेलाई हेला भयो । मौलिक हकविहीन भए । नागरिकता पाएनन् । काम पाएनन् । दिल्ली गए, हरियाणा गए, रोजगारका लागि । अन्याय भयो । अनि मधेस आन्दोलन भयो । मधेसी पार्टी आयो । जय मधेस भन्न थाल्यो । तर, जनताले सत्तामा पुर्याएपछि तिनै नेताहरू भन्न थाले– जय सालासाली, जय मामामामी, जय नातावाद, जय कृपावाद । नेताहरू सबै बगे । मधेसी पार्टीको एक लहर आयो, गयो,’ उनले एकै सासमा भने ।
‘उसो भए मधेसी जनताले माओवादी, कांग्रेस, एमालेलाई भोट दिन्छन् त ?’ मैले सोधेँ ।
‘कांग्रेस र एमालेमाथि त पहिल्यै विश्वास उडिसक्यो हामी मधेसका मान्छेको । फेरि माओवादी आयो, गरिबको राम्रो गर्छु भन्यो । कहाँ गर्यो राम्रो ? सबै माओवादी कार्यकर्ताको गाडी छ, मोटरसाइकल छ । माओवादी त खाओवादी भइगो । कानुन पनि मानेन । खै प्रचण्डको छोरालाई कानुन लागेको, तीनवटा बिहा गरिहाल्यो । उसलाई बहुबिहा लाग्नुपरेन ?’
‘चुनाव आउन लाग्यो, के गर्छन् त मधेसका जनताले ?’
‘के गर्छ नि, भोट हाल्छ । यो आइमाईहरू छ न, नानी पाउने बेला पीडा हुन्छ, तब भन्छ अब नपाउने । लास्ट हो । केही महिनापछि बिर्सिहाल्छ । सुखभोग गरिहाल्छ । फेरि बच्चा पाइहाल्छ । जनता पनि त्यस्तै हो । वर्षभरि पीडामा बस्छ । चुनाव आउँछ त सुखभोग गरिहाल्छ, भोट दिइहाल्छ । कसलाई भोट दिन्छ भनेर सोध्नुभएको होला, त्यो त मलाई थाहा छैन ।’
मैले फेरि उनकै व्यक्तिगत जीवनबारे निधिखोजी गर्न थालेँ । सोधेँ, ‘यतिका वर्ष पत्रिका बेचेर के पाउनुभयो त ? कस्तो रह्यो जिन्दगी ?’
उनले जिन्दगीप्रति कुनै गुनासो गरेनन् । बरु करोडौं–अर्बौं कमाउनेहरूले भन्दा सन्तोषै माने ।
‘फस्ट क्लास छ जिन्दगी,’ भने, ‘बदमासी गरिनँ, कसैलाई दुःख दिइनँ । बरू गाउँको ६० जनालाई सहयोग गरेँ । पढाएँ । रोजगारी दिलाउन सहयोग गरेँ । आमाबाबु पालेँ । भोकै राखिनँ । फाटेको कपडा लाउन दिइनँ । फोहोर लाउन दिइनँ । सुखसाथ परलोक पठाएँ ।’
दिपनारायणका चार छोरी र तीन छोरा रहेछन् । पहिले छोरी–छोरी भएछ । बुढेसकालमा छोराको सहारा चाहिन्छ भन्दाभन्दै सात सन्तान भएको उनले बताए ।
‘चारवटा छोरी भएपछि एउटा छोराले पुगेन त ?’ मैले सोधेँ ।
‘चार लड्की भयो त धकेन, तीन लड्का भयो त किन धक्ने ?’ उनले हाँस्दै भने ।
उनले चारवटै छोरीको बिहे गरिसके । सबैको जिन्दगी सुखसँग चलेकोमा उनी साह्रै खुसी छन् । छोराहरूले आफ्नो कुरा नटेर्दा भने कहिलेकाहीँ खिन्न मान्छन् । ‘छोराहरूलाई नयाँ हावा लागेको छ, अनुशासन छैन, आज्ञाकारी छैन,’ उनले भने ।
‘अब बुढेसकालमा छोराहरूले सहारा देलान् नि ?’ ६० वर्ष नाघिसकेका दिपनारायणलाई मैले सोधेँ ।
‘अंग्रेजीमा एउटा कहावत छ नि,’ उनले भने, ‘होप इज लाइफ, लाइफ इज होप । आस गर्ने, बस्ने ।’
छोराहरूप्रति मात्र होइन, देश, राजनीति, राजनीतिक पार्टी, नेताहरू र आफ्नो जीवन धानेको नेपालको पत्रकारिताप्रति पनि उनी यसै भन्छन् ।
‘आस गर्ने, कुनै दिन त अवश्य सुध्रिएला ।’