काठमाडौं, वैशाख १० (सेतोपाटी)– राजा ज्ञानेन्द्रद्वारा २०६३ वैशाखमा संसद पुनस्र्थापनाको घोषणाभन्दा पूर्व माओवादीको बढ्दो हैसियतप्रति अमेरिकासँगै चीन र भारत चिन्तित हुन थालेको एउटा विकिलिक्स केबलले खुलासा गरेको छ ।
वैशाख ९, २०६३ मा नेपालस्थित अमेरिकी राजदूत जेम्स मोरियार्टीले आफ्नो विदेश मन्त्रालयलाई पठाएको केबलमा भनिएको छ, ‘भारतीय राजदूत शिवशंकर मुखर्जीले माओवादी र भिडले राजाद्वारा दलहरूलाई गरिने सत्ता हस्तान्तरण स्वीकार नगर्ने अमेरिकी आशंका सही भएको मान्दछन् ।’ त्यसैगरी चिनियाँ राजदूत सु हेपिङ पनि माओवादीको बढ्दो बर्चस्वबारे चिन्तित भएको हालै सार्वजनिक उक्त केबलमा भनिएको छ ।
वैशाख ८ गते राजा ज्ञानेन्द्रले दलहरूलाई सत्ता हस्तान्तरण गर्ने पहिलो घोषणा गरेका थिए तर माओवादीको आलोचनासँगै अन्य दलहरूले पनि यसलाई स्वीकार नगरेपछि राजाले वैशाख ११ मा दोस्रो संबोधनमार्फत संसद पुनस्र्थापनासहित दलहरूलाई सत्ता हस्तान्तरण गरेका थिए । यसै पृष्ठभूमिमा पठाइएको उक्त केबलमा माओवादीमाथि पछिसम्म पनि अंकुश जारी राख्न भारतमा रहेका केही माओवादी नेतालाई गिरफ्तार गर्न मोरियार्टीले मुखर्जीसँग आग्रह गरेका थिए । ‘सत्ता हात पारेपछि माओवादीले भारत या अमेरिका कसैलाई मान्न नपर्ने भएकाले उनीहरूमाथि कुनै अंकुश राखिराख्न भारतले त्यहाँ भएका केही माओवादीलाई थुन्न सक्नुपर्छ’ भन्ने तर्क थियो मोरियार्टीको ।
त्यसै सन्दर्भमा चीनले नेपालको स्थायीत्व नै आफ्नो मुख्य चासो भएको बताएको थियो । चिनियाँ राजदूत सु हेपिङले परिस्थिति माओवादी अनुकूल बन्दै गएकामा मोरियार्टीसँग चिन्ता व्यक्त गरेको पनि केबलमा उल्लेख छ । ‘माओवादीको वर्चस्व बढ्दै गएकाले अन्य राजनीतिक दलहरूले परिस्थितिलाई आफू अनुकूल बनाउने साहस देखाउन सक्ने छैनन्’ भन्ने ठहर हेपिङको थियो । वैशाख २७ मा पठाइएको अर्को केबलमा सु हेपिङलाई उद्धृत गर्दै मोरियार्टीले भनेका छन्, ‘माओवादीसँग कुनै पनि सम्पर्क नराख्ने नीति चीनको छ । नेपालको स्थायीत्व नै चीनको मुख्य स्वार्थ हो ।’
हेपिङले चिनियाँ कुटनीतिज्ञहरू हतियारसहित अन्तरिम सरकारमा माओवादीको प्रवेशको पक्षमा छन् भन्ने आरोप सरासर असत्य भएको पनि मोरियार्टीलाई बताएका थिए । त्यसलाई खण्डन गर्दै राजदूत सुले भनेको केबलमा उल्लेख छ, ‘त्यस्तो मान्यता चीनको हुँदै होइन ।’