'सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता' भन्ने मूल नाराका साथ सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३' आगामी विहिबारदेखि राजधानीमा सुरु हुने भएको छ ।
इन्डिजिनियर्स फिल्म अर्काइभ (आइएफए) ले मंगलबार पत्रकार सम्मलेन गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सव वैशाख १२ देखि १५ गतेसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने बताइएको छ ।
महोत्सवमा अष्ट्रेलिया, जर्मन, भारत, ब्राजि्ल, क्यानडा, कोलम्बिया, इक्वेडर, मेक्सिको, न्यजिल्यान्ड, नर्वे, रसिया, दक्षिण इथियोपिया, स्पेन, ताइवान, अमेरिका र ग्वाटेमालालगायतका देशबाट छनोट गरिएका २७ वटा विदेशी चलचित्र, वृत्तचित्र एवम् म्युजिक भिडियो प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा नेपालबाट चेपाङ, धिमाल , गुरुङ, मगर, राई , लिम्बू , नेवार , थारु समुदाय र आदिवासी सिनेकर्मीले निर्माण गरेका नेपाली भाषाका विभिन्न २३ वटा चलचित्र एवम् म्युजिक भिडियो प्रदर्शनको लागि चयन गरिएको छ।
महोत्सवमा सहभागी हुने चलचित्रहरूमध्येबाट पहिलो, दोस्रो र तेस्रो लाई क्रमशः गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रन्ज ड्रम प्रदान गरिने आयोजकले जाकारी दिएको छ ।
यस्तै “नेपाल प्यानोरमा” अन्तर्गत नेपालका विभिन्न आदिवासी समुदायको प्रतिनिधित्व गरेर आएका चलचित्र तथा आदिवासी चलचित्रकर्मीले बनाएका नेपाली भाषाका सिनेमामध्येबाट उत्कृष्ट हुनेलाई नगद र अवार्ड प्रदान गरिनेछ। नेपाल प्यानोरमाअन्तर्गत 'इन्करेजमेन्ट अवार्ड' पनि रहेको छ।
महोत्सवमा आदिवासी जनजाति समुदायको संस्कृति झल्कने विभिन्न झाँकी, नृत्य, हस्तकला, तथा खानाका सामग्रीका स्टलसमेत राखिनेछ।