पत्रकार खिलानाथ ढकाल आक्रमण प्रकरणका अभियुक्त मनोजसिंह राईलाई जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। ढकाल आक्रमण प्रकरणमा अपहरण तथा ज्यान मार्ने उद्योगमा दायर मुद्दाको अन्तिम सुनुवाई गर्दै सोमबार अदालतका न्यायाधिश चण्डीराज ढकालको इजलासले राईलाई पाँच वर्ष सजाय सुनाएको हो।
सोही मुद्दाका अभियुक्त रोहित कोइरालालाई ज्यान मार्ने उद्योगमा सहयोग गरेको ठहर गर्दै अदालतले ६ महिना कैद सजाय सुनाएको छ। ढकाल अपहरण तथा आक्रमण प्रकरणका मुख्य योजनाकार भनिएका पर्शुराम बस्नेतलाई कसुर नगरेको ठहर गर्दै अदालतले सफाइ दिएको छ।
'दायर मुद्दामा राईले ज्यान मार्ने उद्योग गरेको पुष्टि हुन आएकोले पाँच वर्ष सजाय सुनाइन्छ,' जिल्ला अदालत स्रोतले भन्यो, 'मुद्दाका अन्य विपक्षी रोहित कोइरालाले ज्यान मार्ने उद्योगमा सहयोग गरेकाले ६ महिना सजाय तोकिएको छ, योजनाकार भनिएका पर्शुराम बस्नेतको हकमा निवेदको दावी पुग्न नसकेकोले सफाइ दिइएको छ।'
अदालतको फैसलामा अपहरण पुष्टि नभएको जनाइएको छ। पत्रकार ढकालमाथि २०६८ जेठ २२ गते आक्रमण भएको थियो। पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले उक्त प्रकरणमा पर्शुराम बस्नेतलाई योजनाकार रहेको बताउँदै राई र कोइराला समेतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
मोरङ जिल्ला अदालत परिसरमा २०६८ जेठ १८ गते ज्यान मुद्दाका अभियुक्त अभिषेक गिरीलाई पर्शुराम बस्नेत समूहले आक्रमण गरी ज्यान लिने प्रयास गरेको विषयमा ढकालले नागरिक दैनिकमा समाचार लेखेपछि उनलाई आक्रमण गरिएको थियो।