विपन्न, निमुखा र घरबारविहीन चेपाङलाई घर बनाइदिने सरकारी कार्यक्रमबाट टाठाबाठाले मात्रै फाइदा लिएका छन्। आफ्नो जमिनसमेत नभएकाले चेपाङले आवास कार्यक्रमबाट लाभ नपाएको चेपाङ अगुवाहरूले बताएको आजको नागरिकमा खबर छ ।
आवास कार्यक्रम सञ्चालन भए पनि विपन्नले नपाएको र चेपाङ नाममा आएको रकम नै हिनामिना भएको जनगुनासोपछि सचिवालयको काम गरिरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रले सोमबार मनहरीमा सार्वजनिक सुनुवाइ गरेको थियो। सुनुवाइमा चेपाङहरूले विपन्नलक्षित जनता आवास कार्यक्रममा धनी र हुनेखानेले नै सुविधा उपभोग गरेको भन्दै आक्रोश पोखे।
चेपाङ अगुवा विष्णुराम प्रजाले धेरैजसो गरिबले घर नपाएको दाबी गरे। 'गरिबसँग जग्गाको पूर्जा छैन। लालपूर्जा नभई घर बनाउन पाइन्न,' उनले भने, 'यो धनी चेपाङहरूका लागि हो। जग्गा किन्न सक्ने, लालपूर्जा बनाउन सक्नेलाई सुविधा दिएजस्तो भयो। गरिबचाहिँ भोकभोकै छन्।' साँच्चै भूमिपूत्रले लालपूर्जा पाउन नसकेकाले पीडितका पक्षमा काम हुन नसकेको उनको गुनासो थियो।
सरकारले २०६७/०६८ देखि जनता आवास कार्यक्रमअर्न्तगत मकवानपुरका सात गाविसमा चेपाङ समुदायलाई घर निर्माण गरिरहेको छ। अतिविपन्न र लोपोन्मुख समुदायलाई घर बनाइदिने भनिए पनि मकवानपुरमा लक्षित वर्गले राज्यको सुविधा उपभोग गर्न नपाएको अधिकांशको गुनासो थियो।