राजधानीका नाम चलेकै व्यवसायीले सुनचाँदी तौलँदा ठग्ने गरेको फेला परेको छ।
सरकारी टोलीले सोमबार बजार अनुगमन गर्दा राजधानीको न्युरोड क्षेत्रका नाम चलेका व्यवसायीले नै चाँदी जोख्ने मेसिनबाट सुन र हीरा जोखेर ठगी गरेको भेटिएको आजको नागरिकमा खबर छापिएको छ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहका अनुसार चाँदी, सुन र हीरा तौल गर्न छुट्टाछुट्टै मेसिन प्रयोग गर्नुपर्छ। विभागले यसैअनुसार तीन किसिमका मेसिन प्रयोग गर्न अनुमति दिएको छ। व्यवसायीले भने चाँदी तौलने मेसिनमात्र प्रयोग गरेर सुन र हिरा कारोबारमा ठगिरहेका छन्।
साहका अनुसार चाँदी तौलने मेसिनबाट एक तोला सुन जोख्दा आधा ग्रामभन्दा बढी (०.६६) कम सुन बेचिन्छ। चाँदी तौलने मेसिनले दशमलबभन्दा पछाडि एउटामात्र अंक देखाउँछ। एक तोला सुन किन्दा उपभोक्ताले ११.६६ ग्राम पाउनुपर्नेमा चाँदी तौलने मेसिन प्रयोग गर्दा कम पाउने गरेका छन्।
विशालबजारस्थित गणपति ज्वेलर्सको सोमबार अनुगमनका क्रममा सुन र हीरा जोख्न चाँदीको तौल मेसिन प्रयोग भएको भेटियो। चाँदीका लागि तोकिएको तौल मेसिन प्रयोग हुँदा उपभोक्ताले बहुमूल्य सुन, हीरा किन्दा बढी रकम तिर्नुपर्छ भने बेच्दा कम रकम पाउँछन्।
साहले सुन र हीरा जोख्न दशमलवपछि पनि अंक देखिने मेसिनको प्रयोग विश्वव्यापी रुपमै हुने बताए। चाँदीका लागि भने दशमलवपछि एउटामात्र अंक नदेखिने मेसिन प्रयोग गरिन्छ। सुनका लागि दसमलबपछि २ र हीराका लागि ३ अंक देखिनुपर्ने नियम छ।
गणपति ज्वेलर्सले सुन र हीराका लागि मेसिन गुणस्तर तथा नापतौल विभागबाट स्वीकृत गराएर राखेको भए पनि चाँदी जोख्ने मेसिनमात्र प्रयोग गरेको भेटिएको हो। 'हामीले प्रमाणपत्र दिँदा नै कुन धातु जोख्न प्रयोग गर्ने भनेर छुट्ट्याएर दिएका हुन्छौं,' अनुमगनमा सहभागी महानिर्देशक साहले भने, 'यसरी चाँदी जोख्नेले सुन र हीरा तौलनु उपभोक्ता ठग्नु हो।'
'एउटा कुरा तौल गर्न अनुमति पाएको मेसिन अर्कोका लागि प्रयोग गर्दा सिधै उपभोक्तालाई असर पर्छ,' अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'यसले सुन किन्दा उपभोक्ताले सरासर १० प्रतिशत कम पाइरहेका छन् भन्ने देखाएको छ।'