मान्छे युद्धजस्तो दुःख साह्रै चाँडै बिर्सिन्छन्

सिरिया छाडेका तीन कलाकारसँग अन्तरवार्ता


तमाम अजम, सारा सामा र केभोक मुरद– यो अन्तर्वार्तामा सहभागी सिरिया घर भएका यी तीन कलाकारले आफ्नो ठाउँ छोडे। सिरियामा भइरहेका समस्या र सङ्कट चित्रमा देखाउने तीनै जनाको छुट्टै तरिका छ। ‘आर्ट२१’ नामक एक कलासम्बन्धित अनलाइन म्याजेजिनका लागि लिन्ड्से डेभिसले लिएको यो अन्तर्वार्तामा एक शरणार्थी र कलाकारको रूपमा जीवन कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर खोजिने छ।

घर छोड्नु कस्तो अनुभव थियो? सिरियाको बारेमा सबैभन्दा धेरै के कुरा सम्झिनुहुन्छ?

अजम: मैले चार वर्ष दुई महिना र दुई दिन पहिला सिरिया छोडेँ। अहिले बुझेअनुसार जीवन त्यसबेलै सकियो। त्यो विद्रोहले म र मेरो कलालाई अर्कै केही बनाइदियो। मेरो परिवारले केही सुटकेसबाहेक अरु बोक्न पाएन। हामीले जिरोबाट जीवन सुरु गर्‍यौं। म के सम्झिन्छु भनेर जब मानिसहरूले सोध्छन् म भन्छु कि, मलाई मेरो स्टुडियोको धेरै सम्झना आउँछ। त्यो मेरो सबैथोक थियो। अहिले त्यो गैसक्यो। सम्झनाबाहेक केही छैन। तर, यसरी बाँचेर आफ्नो काम गरिरहन पाउने थोरै भाग्यमानीमा परेँ भन्दा पनि खुसी लाग्छ। विस्तारै जीवन बनायौँ यता पनि। अहिले दुबईको आयाम ग्यालरीसँगै जोडिएको मेरो आफ्नै स्टुडियो छ। यो सुरक्षित त छ, तर यो स्थायी भने छैन। किनकि, यो मेरो घर हैन।

सामा: मैले सुरुको दुई वर्ष ठाउँ छोड्दिन भनेको थिएँ। मेरा धेरै साथीहरूले सङ्कट सुरु भएको तीन महिनामै दमासकस छोडिसक्दा पनि म त्यहीँ बसेँ। समस्या समाधान होला भनेर सोचिबसेको थिँए, तर त्यो सुध्रिनुको साटो झनै बिग्रिँदै गयो। धेरै ठाउँमा कार बम विस्फोट हुन थाले। अवस्था बिग्रियो। सेक्युरेटी चेक बढ्यो। स्टुडियोबाट घर पुग्दा लाग्ने १० मिनेटको समय बढेर २ घण्टा पुग्यो। २०१२ मा मेरो घर नजिकै कार बम विस्फोट नहुन्जेलसम्म त देश छोड्दिन भनेको थिएँ। म त्यस बेला आफ्ना दुई छोराछोरीको साथमा एक्लै थिएँ। श्रीमान अफिस जानुभएको थियो। दुई वर्षसम्म थेगेर राखेको डरको उच्च बिन्दुमा त्यस बेला पुगेछु। आफ्नो सुरक्षा र बच्चाहरूको मानसिक स्वास्थ्य पहिलो प्राथमिकतामा पर्‍यो र त्यसैले घर छोडेर लेबनान जाने निर्णय लियौँ। एक हप्ताभन्दा कम समयमा हामीले घर छोड्यौँ। श्रीमान् व्यवसायको कारणले तत्काल छोड्न पाउनुभएन। तर उहाँ हरेक हप्ता भेट्न आउनुहुन्थ्यो। उहाँलाई आउन ५ घण्टा लाग्छ। हामी विगत ३ वर्षदेखि यसरी नै बसिरहेका छौँ।

म सिरियालाई बिर्सिन सक्दिन, तर मैले सम्झिने गरेको सिरिया अहिले छैन। यो पहिला धेरै राम्रो र सुरक्षित थियो। बिहानको दुई बजे पनि म आफ्नो कार निर्धक्कसँग नडराई कुदाउन सक्थेँ। धर्मको बीचमा कुनै विभाजन थिएन। यो बहुसाँस्कृतिक/बहुधार्मिक र बहुजातीय देश थियो। सङ्कट सुरु हुनुभन्दा पहिला सिरियाको अर्थतन्त्र तीव्र गतिमा दौडिरहेको थियो। अमेरिका, क्यानडा र युरोपमा बसिरहेका मेरा साथीहरू पनि फर्किएर २००७ र २०११ को बीचमा फ्ल्याट किन्न थालिसकेका थिए। उनीहरूले व्यापार सुरु गरेका थिए। तर विडम्बना उनीहरू फेरि फर्किए। म त्यही सिरियालाई सम्झिन्छु।

मुरद: १९९१ मा सिरिया छोडेर अर्मानिया जाँदा सोचेको थिएँ, डिग्री सकेर फर्किनेछु। तर पढाई सक्नासाथ मैले युरोप वा अमेरिका जाने सोचेँ। १९९८ मा त अमेरिकाले मलाई छात्रवृत्ती दिएर नै बोलाएको थियो।

म सिरियालाई जहिल्यै घर मान्छु। मलाई बनाउने संस्कृति र परम्पराका धेरै यादहरू यसैसँग जोडिएका छन्। अमेरिकाले त मलाई कलाकार बनायो। यहाँ मैले परिवार बनाएँ त्यती मात्रै।

मैले सिरियाको बारेमा सबैभन्दा धेरै सम्झिने भनेकै सामाजिक सद्भाव भएका मेरा छिमेकीहरू हुन्। हामी यस्तरी खेल्थ्यौ, खाना बाँड्थ्यौं भेटघाट भइरहन्थ्यो। त्यो सबै यहाँ भएभन्दा उल्टो हुन्थ्यो। तर अहिले छैन।

अर्काको देशमा बस्न थाल्दा अनुभव कस्तो भयो? नयाँ वातावरणमा घुल्न थालेपछि देशप्रतिको त्यो भावना कसरी परिवर्तन हुँदैछ? त्यसले तपाईँहरूको कलाकारीतालाई कसरी असर गरिरहेको छ?

From left to right: Tammam Azzam's Syrian Museum: Gustav Klimt's The Kiss (Freedom Graffiti), archival print, 2013; Sara Shamma's Untitled, oil and acrylic on canvas, 2014; Kevork Mourad's The Last Prayer, acrylic on paper, 2014.
बायाँदेखि दायाँ- अजम, सामा र मुरदको कला

अजम: जब मैले दमासकस छोडेँ, म एउटा सिरिजमा काम गरिरहेको थिएँ। जसलाई मैले उपयुक्त नभएपछि छोड्नुपर्यो। यो मेरो सहरका मानिसहरूको कथाहरूमा बुनिँदै थियो। त्यो पीडा भयानक थियो। मलाई ठिक हुन केही समय लाग्यो। त्यसपछि मेरो कामहरू चिन्नै नसक्ने गरी फरक परे। सिरियामा म एउटा पेन्टर मात्र थिएँ। जब मैले छोडेँ म ग्राफिक आर्टिस्टको रूपमा चिनिन थालेँ। सुरुमा यसको आलोचना पनि भयो, तर जब मेरो काम बढ्दै गयो, मान्छेहरू बानी पर्दै गए। मेरो देशमा भइरहेको सङ्कटसँग सम्बन्धित केही कामहरू पत्रिकामा राम्रोसँग कभर भएका छन्। मलाई त्यसमा गर्व छ।

सामा: मेरो आमा लेबनिज हो र हामी उहाँको जन्मसहरमा गयौँ। मैले बाल्यकालमा घुम्न र परिवार भेट्न जाने पहाडै पहाडको ठाउँ थियो त्यो। त्यसैले मलाई देश छोडेको जस्तो त लागेन। म आफूलाई अरू सिरियनभन्दा भाग्यमानी ठान्छु किनकि, लेबनान असल देश हो। त्यहाँका मान्छेहरू पनि असल छन्। सिरियन र लेबनिजहरूमा बेलाबेला समस्या परे पनि उनीहरूको बीचमा धेरै समानताहरू छन्। जस्तो जे भए पनि उनीहरू दाजुभाइ हुन् नै।

मलाई लाग्छ प्रवासी तथा शरणार्थी वा अरू कुनै, जो देश छोडेर अर्को देशमा बस्न बाध्य छन्, उनीहरूले नयाँ अवस्थालाई आफूलाई सुधार गर्ने अवसरको रूपमा लिनुपर्छ। नयाँ सीप सिक्ने तथा नयाँ काम सिक्ने गरेमा देश फर्किएर देशका लागि केही नयाँ गर्न सकिन्छ। अर्को देशमा बस्नुको पनि सकारात्मक कुरा छ र मलाई लेबनानमा ती कुराहरू पाएजस्तो लाग्छ।

मुरद: सुरुमा त ‘कल्चरल सक’नै भयो। लामो समयसम्म त म यहाँ बस्न उपयुक्त छुइन भन्ने नै लागिरह्यो। सिरिया नै फर्किँउ कि जस्तो लागिह्यो। तर न्युयोर्कले भने कलाकारको रूपमा केही बन्न सक्छस् है भन्ने सिकायो। यहाँका मानिसहरू विश्वभरका मानिसहरूको कथा सुन्न मन पराउने रहेछन्। मैले यहीँ बसेर आफ्नो इतिहासमा फर्किन थालेँ। अमेरिका हुँदै सिरिया र अर्मानियाको संस्कृतिको धेरै गहिराइमा पुग्न सकेँ। टाढा बसे पनि आफ्नो संस्कृति र सम्पदालाई चिन्न पाँउदा कलाकारको रूपमा झनै बलियो भएजस्तो लाग्छ।

Kevork Mourad. The Last Voice, 2013. Acrylic on paper, 96 x 48 inches. Courtesy of the artist.
मुरदको कला

के तपाईंलाई आफ्नो पेन्टिङमार्फत सिरियाको सङ्कटलाई सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ? अथवा युद्धले थिलथिलो पारेको क्षेत्रलाई छोडेर असर नगरेको ठाउँहरूलाई चिनाउनुपर्छ जस्तो लाग्छ?

अजम: मैले गर्न सक्ने एक मात्र काम भनेको नै मैले देखेको अवस्थालाई बताउने र सोच्न बाध्य पार्न चित्रहरूलाई रङमा उतार्नु हो ताकि, त्यसले त्यहाँको अवस्थालाई सबैसम्म पुर्‍याउन सकोस्।

मेरो एक चित्रले विशेषगरी मानिसहरूलाई असर गरेको पाएँ। मैले यसलाई सिरियन म्युजियमको फ्रिडम ग्राफिटी अनलाइनमा प्रकाशित गरेपछि घर छोडेर हिँडेको थिएँ। पछि त्यो भाइरल भएछ। जब म केही घण्टापछि आएँ, मैले कहिल्यै नजानेका मानिस तथा पत्रकारहरूले सामाजिक सञ्जालभरी छ्यापछ्याप्ती पारेका रहेछन्।

त्यसले क्लिम्टको एक चर्चित चित्रलाई फिचर गरेको थियो। मैले त्यसलाई युद्धले जर्जर पारेको पर्खालपछाडि लुकेको मायाको सानो कथाको रूपमा प्रस्तुत गरेको थिएँ। सिरियामा पहिला झ्याल र ढोका भएका ठाउँहरूले धेरै कथा र घटनाहरू देखे होलान्, तर उनीहरू अहिले खाली–खाली भएका छन्।

गोयाले यस्तै काम मे ३, १८०८ मा हजारौँ निर्दोष स्पेनी जनताहरूलाई मारेको घटनालाई अमर राख्न यस्तै काम गरेका थिए। तर, अहिलेसम्म सिरियामा त्यस्ता मे ३ हरू कति भए होलान्?

मेरो सिरियन म्युजियम सिरिजको मुख्य उद्देश्य संसारले केवल मेरो पेन्टिङमा मात्र रुचि नराखेर सिरियामा कुनै समय दिनमा २०० भन्दा धेरै मानिसहरू मारिन्थे भन्ने कुरा भन्न सकुँ भनेर हो। कलामा कला मात्र हैन, यथार्थ पनि मिसियोस् भनेर हो। त्यो सिरिजमा मेरो मात्र कान नभएर वारहोल, भान घोस, गोया, डाली, माटी, गाउगीन, मन्च, र क्लिम्टजस्ता कलाकारहरूको काम पनि राखिएका थिए। यसरी हेर्दा त्यो सिरिजले हामी सबै एकै विश्वका जनताहरू हौँ र संस्कृतिसहित हाम्रो सबै कुरा मिल्छन् भन्ने बताउन जोड दिएको थियो। मेरा लागि त्यो कुरा महत्त्वपूर्ण पनि हो। अर्को पक्षबाट हेर्दा म सोच्छु, हेर्नासाथ चिनिने युरोपियन मास्टरपिसलाई सँगै राखियो भने सिरियाको ट्राजेडीप्रति संसारको ध्यान तान्न सकिन्छ भनेर पनि हो। गोयाले मे ३ मा मारिएका स्पेनिसहरूको सम्झनामा बनाए, हाम्रो सिरियामा मे ३ कतिपटक आए होलान्?

सामा: मानिसहरूले युद्धजस्तो दुःख साह्रै चाँडै बिर्सिन्छन्। व्यक्तिगत दुस्ख पर्नेहरूलाई त यो ठिकै होला, तर चाँडै बिर्सँदा त्यस्तै गल्ती फेरी दोहोरिने सम्भावना धेरै हुन्छ। कलाले ती गल्तीहरूलाई बारम्बार सम्झाइरहन्छन्, ताकि मान्छेहरू त्यस्तो गल्ती गर्न नसकुन्। हामीले युद्धको पीडालाई किन पनि बिर्सिहाल्छौँँ भने त्यसलाई पत्रकारिताको कथाको रूपमा परिणत गरिन्छ, जुन अघिल्लो दिन छापिने अर्को कथालाई स्थान दिएर हराउँछ। यस्तो हुनुहुँदैन। कुनै कला पनि पत्रकारिता हुन्छ, तर साँचो कलाले हेर्नेको कल्पना र वास्तविकतालाई व्यक्तिगत तहसम्म पुर्याएर युद्धको दर्दनाक कथालाई चेतनासँग जोडिदिनुपर्छ। कलाले दर्शकलाई युद्धको बारेमा सूचना सङ्कलन गर्न हैन, युद्धको बारेमा धारणा बनाउन सक्ने बनाउनुपर्छ। ज्ञान र सूचनाको सङ्ग्रहमा यति मात्रै फरक छ। मलाई लाग्छ, समस्यालाई हल गरेर शान्तिपूर्ण वातावरण बनाउनका लागि ज्ञान नै अगाडि सर्नुपर्छ।

मुरद: म सिरियाको समस्यालाई एक सिरियन अर्मानियनको रूपमा सम्बोधन गरिरहेको छु। यी तिनै मान्छेहरू हुन्, जसलाई सिरियनहरूले १९१५ को मासहत्याताका बोलाएर शरण दिएको थियो। जहाँ गए पनि मानिसहरूको पीडा र समस्याहरूबीच एकता हुनुपर्छ भन्ने शब्दहरू व्यक्त गर्नबाहेक म केही पनि गर्न सक्दिन।

अहिले सिरियाका सबै जातजातीहरू त्यही अवस्थाबाट गुज्रिरहेका छन्। म पश्चिमा मानिसहरूले पनि धार्मिक र जातीय रूपमा हेर्नुभन्दा एकैपटक पीडा भोगिरहेका सिरियन जनता भनेर बुझुन् भन्ने चाहन्छु। म जुन देशमा जन्मिएँ त्यसप्रति कृतज्ञ छु, तर अहिले त्यहाँ जे भइरहेको छ त्यसले मलाई गहिरो पीडा दिइरहेको छ। र, मैले मेरो कलालाई त्यहाँ जे भइरहेको छ त्यसमा समर्पित नगरे के गर्ने?

Tammam Azzam. Syrian Museum: Matisse's La Danse, 2012. Archival print on canvas, 45 X 60 cm.
अजमको कला

दहिस/आइएस/आईएसआइएलप्रति तपाईँको के धारणा छ? त्यो धारणा तपाईंको कलामा कसरी प्रतिबिम्बित हुन्छन्?

अजम: मैले मेरा कलाहरूलाई सिरियाले भोगिरहेका अनगिन्ती समस्याहरूलाई सम्बोधन गरेर बनाउँछु। म तपाईँलाई के भन्न मात्र सक्छु भने मानिसहरू एकदमै निराशमा छन् जस्तो कि, उनीहरूले गुमाउनुपर्ने केही छैन। उनीहरू असद वा दहिसको फोर्सले दिने पीडा र यातना भोग्नुभन्दा मेडिटेरियन सीमा डुब्न वा शरणार्थी भएर क्याम्पमा बस्ने जोखिम लिन तयार छन्। अरू केही चाहना नभए पनि उनीहरू केवल बाँच्न चाहन्छन्।

सामा: यो अब अन्तर्राष्ट्रिय समस्या भइसक्यो। यसले अतिवादी सोचले निम्त्याउने कुरूप हिंसालाई प्रतिनिधित्व गर्छ। यो माफी दिन लायक काम नै हैन। र, यस्तो दुर्भाग्यपूर्ण अवस्थाले सबै समकालीन कलालाई प्रभाव पार्ने छन्। मेरोलाई पनि पारेका छन्।

मुरद: इतिहास पल्टाउने हो भने पनि यस्ता अतिवादीहरूले धेरै पटक संस्कृति र सभ्यता सिध्याउन लागिपरेका छन्। अलेक्जेन्ड्रियाको लाइब्रेरी डढाएको उदाहरण हेर्नुभए हुन्छ। आइएसजस्ता समूहहरू पनि ठाउँ खोज्नेहरू हुन्। उनीहरू नयाँ पहिचान खोज्दैछन् र शक्तिले भ्याएसम्म विनाश गरिरहेका छन्।

कुनै तरिकाले हामी उनीहरूको विरुद्धमा लड्न सक्छौँ भने त्यो विश्वभरका सिरियन कलाकारहरू मिलेर सिरियाभन्दा बाहिर बलियो सांस्कृतिक उपस्थिति जनाएर हो। सँगै मिलेर के भइरहेको छ र के हराइरहेको छ त्यसलाई डकुमेन्ट गर्नेसम्म गरियो भनेपनि धेरै हो। जब आइएस हराउँछ हामीले आफ्नो देशलाई पुनस् पहिलाकै अवस्थामा ल्याउने योभन्दा अर्को उपाय छैन।

Kevork Mourad. The Barbed Wire, 2015. Video still. Courtesy of the artist.
मुरदको कला

अन्तर्राष्ट्रिय समुदायले तपाईँहरूको देशको अवस्थालाई कस्तो रूपमा नियन्त्रण गरिरहेको जस्तो लाग्छ? युद्ध सुरु भएपछि सिरिया कस्तो भयो भनेर विश्वलाई कसरी बताउन चाहानुहुन्छ?

अजम: हामी कसैको लागि बोझ बन्न चाहन्नौ। हामी चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहन्छौँ। हामी अत्यास लाग्ने अवस्थामा बाँचिरहेका छौँ।

सामा: यो सिरियाको सङ्कट मात्र नभएर विश्वकै समस्या भइसक्यो। तर दुखद कुरा के छ भने विश्व समुदायले अझै यसलाई संवेदनशील देखेको छैन। यस्तो अतिवादी सोच सबैतिर फैलन थालिसक्यो। र, यसको समाधान अरू धेरै युद्ध लडेर हुनेवाला छैन। राजनीतिज्ञहरूले हिंसा नहुने बाटो रोज्नुपर्ने बेला भइसकेको छ। म मानिसहरूलाई बताउन चाहन्छु कि, सिरिया धेरै बिग्रिसक्यो। हामीले धेरै गुमाइसक्यौँ। अब हामीसँग विश्वले पनि धेरैथोक गुमाउँदैछ। यो र यस्ता समस्याहरूलाई नयाँ समाधान खोज्ने बेला भइसक्यो।

मुरद: मलाई लाग्छ अन्तर्राष्ट्रिय समुदायले जहाँबाट यो समस्या हेरिरहेको छ त्यो साह्रै बृहत र टाढा छ। भित्रबाट यसको जटिलता बुझ्ने प्रयत्न गरिनुपर्छ। सहयोग गलत मानिसहरूसम्म पुगिरहेको छ। मानिसहरू युद्धबाट बाहिर निस्किन के चाहिन्छ त्यो लिइरहेका छैनन्।

जुन बेलादेखि लडाईँ सुरु भयो, सिरियन समाज धेरै समूहहरूमा विभाजित भएको छ, जबकि लडाईँ सुरु हुनुभन्दा पहिला उनीहरू मिलेर बसेका थिए। जहाँ कुनै धाँजा नै थिएनन् त्यहाँ अहिले भ्वाङ परेका छन्।

Sara Shamma. Q6, 2011. Oil on canvas, 150 x 200 cm. Courtesy of the artist.
सामाको कला

सिरियामा अन्तिममा के होला त? पुनः शान्तिमा फर्किन सकिन्छ भन्नेमा आशावादी हुनुहुन्छ?

अजम: व्यक्तिगत रूपमा भन्दा म आफ्नो लागि सिरियामा भविष्य देख्दिन। मलाई मेरो जिन्दगीले जहाँ लान्छ त्यहीँ जान चाहन्छु।

सामा: म विश्वास गर्छु कि, लडाईँ सकिनेछ। तर, त्यो मात्र पर्याप्त हुनेछैन। सिरियामा मात्र नभएर सम्पूर्ण क्षेत्रमा नै दिगो शान्ति बनाउनुपर्छ। सहिष्णुता, निरपेक्षता, आर्थिक न्याय र आपसमा माफी दिएर मात्र यो सम्भव छ।
म शान्ति फर्किएपछि मात्र सिरिया फर्किन्छु। आशा छ, त्यो दिन चाँडै आउनेछ।

मुरद: म विश्वास गर्छु कि, विदेश तथा स्वदेशमा हुन सिरियन विचारकहरूसँग सिरियालाई धर्म निरपेक्ष बनाएर लैजाने सम्भावना छ। यो लडाईँ सकिएर चाँडै प्रजातन्त्र देशमा फर्कियोस् भन्ने मेरो चाहाना छ। त्यहाँ वाक स्वतन्त्रता तथा सेन्सर नहुने कलाकारीता गर्न सकिने कुरामा म आशाबादी छु।

मैले धेरै पहिला नै सिरिया छोडेँ र अमेरिकी परिवारसँग मेरो जीवन न्युयोर्कमा बितिरहेको छ। तर, मैले दमासकसमा आफ्नो स्टुडियो होस् भन्ने सपना बिर्सिएको छैन। त्यो ठाउँले मलाई अरू कुनै ठाउँभन्दा धेरै उत्प्रेरणा दिन्छ।

Kevork Mourad. Downward, 2013. Acrylic on paper. Courtesy of the artist.
मुदको कला

आफ्ना पेन्टिङहरूमा कुन तहसम्म चिन्ता र पीडालाई व्यक्त गर्नुहुन्छ? तपाईँको पेन्टिङले दर्शकलाई डरलाग्दो यथार्थताको सामुन्ने पुर्याउनको लागि यो जरुरी छजस्तो लाग्छ?

अजम: मलाई लाग्छ मेरो कलाको विशेषता नै अलिक असहजता र सामना गर्न लगाउने किसिमको छ। बोन भोयाज सिरिजमा रहेका मेरा ६ पेन्टिङहरूले युद्धको कारण भत्किएका भवन उड्दै न्युयोर्क, लण्डन, दमासकस, जेनेभा, पेरिस र बैरूट पुगेका देखिएका छन्। ती रंगीन पनि छन्। अर्को तहमा हेर्दा ती पेन्टिङहरू कुनै अर्को स्थानमा पुग्न पाए हुन्थ्यो भन्ने सपनालाई प्रतिबिम्बित गर्छन्। युद्धबाट उडेर कुनै शान्त स्थानमा पुग्न खोजेजस्तो लाग्ने। अझै अर्को तहमा हेर्दा ती पेन्टिङहरूले सिरिया र अरब विश्वमा ती सहरहरूले खेलेका भूमिकाहरूलाई पनि देखाउन सक्षम छन्।

बोन भोयाज न्युयोर्कले ९र११ को घटनाको कारण विश्वले भोग्नुपरेको असर र त्यसको चपेटामा परेको असरहरूलाई प्रतिबिम्बित गरेको छ। त्यो घटना हाम्रो इतिहासकै सबैभन्दा दुखद र नाटकीय घटना थियो तर, सहानुभूति र दबाबको अभावले गर्दा विश्वभर लगातार भइरहेका आतङ्कवादी गतिविधिहरू र मानवीय क्षतिहरूले मलाई पीडा दिन्छन्। सहानुभूति पहिलो विश्वमा भएका घटनाहरूमा मात्र सीमित हुनुहुँदैन।

सामा: द्वन्दको कारण जन्मिएका कलाहरूमा दुईवटा झुकावहरू हुन्छन्। एउटाले औँला देखाएर वा निर्णायक बोली बोलेर सङ्घर्षमा तेल थप्छ भने अर्कोले द्वन्द्वको नकारात्मक पाटोसँगै त्यसले मानवीय संवेदनामा पारेको असर देखाएर हिंसालाई बढवा दिनुहुँदैन भन्छ। पहिलोले रिस, घृणा, बदलाको इच्छाजस्ता कुराहरूलाई बढाउँछ भने दोस्रोले प्रतिबिम्ब देखाएझैँ, सुझबुझ, समझदारी र झमतालाई देखाउँछ।

जब कला राजनैतिक हुन्छ, तब यो आज काम लाग्ने तर भोलि पुरानो हुने पत्रिकाजस्तो बन्छ। कला, भलै राजनैतिक भए पनि सँगै संवेदनालाई बोक्ने गहिराइ हुनैपर्छ। यसले दर्शकलाई छुनुपर्छ, हल्लाइदिनुपर्छ उसको हृदय। कला समयसीमाभन्दा बाहिर पुग्नुपर्छ।

मुरद: गएको चार वर्षमा मैले के बुझे भने जो पनि एक सेकेण्डको अन्तरमा ढल्न सक्छ। पेन्टिङ एकप्रकारले स्थीर प्रकृतिको हुने भएकाले म ठाउँहरूको बारेमा पेन्टिङ गर्दा दर्शकलाई जहिल्यै ख्याल गर्छु। पेन्टिङ हेर्दै गर्दा दर्शकले के सोच्न सक्नुपर्छ भने त्यो ठाउँको लागि त्यो अन्तिम अस्तित्व हुनसक्छ। मेरा पेन्टिङहरुले प्रायः कुनै गतिलाई देखाउँछन्। चित्रका वस्तुहरू स्थीर हुन्छन्, तर बीचमा कतै देखाइएका इशारा तथा कोरिएका धर्काहरूले ती चिजहरू क्यानभासमा कतै घुमिरहेजस्तो लाग्छन्। यस्तो किन गरेको भने म चाहन्छु कि, दर्शकहरूले अब के आँउछ भन्ने थाहा पाउन्। र उनीहरूले यसै गरी यो द्वन्द्व र समस्या कम गर्न सहयोग गर्नेछन् भन्ने लाग्छ।

मेरो कामहरू पुरै पेन्टिङमा मात्र सीमित छैनन्। म भिडियो आर्ट र लाइभ देखाइने पिसहरू पनि बनाउँछु। मैले संगीतकार, लेखक र अभिनेताहरूसँग पनि काम गरिसकेको छु। मेरो कलाको स्वर प्रायः राजनैतिक हुनेगर्छ। म धेरै दुःख दिइरहेका र महत्त्वपूर्ण विषयहरूलाई नै आफ्नो कामको विषय बनाउँछु।

Tammam Azzam. Bon Voyage: New York, 2013. C-Print Diasec Mounting Edition of 5+3AP, 120 X 100 cm. Courtesy of the artist.
अजमको कला

के तपाईँलाई लाग्छ कि, कलाले विश्वमा महत्त्वपूर्ण परिवर्तनको सुरुवात गर्नसक्छ? यसले सिरियामा भइरहेको युद्धलाई शान्तिसम्म पुर्याउनका लागि कसरी मद्दत गर्न सक्ला?

सामा: कलाले सामान्यतया जनताको राय वा विचारलाई सम्बोधन गर्छ। र, त्यही पब्लिकले गर्ने निर्णयले राजनीतिज्ञहरूलाई दबाब दिन्छन्। कलाले निर्णय गर्नेहरूलाई सिधै सम्बोधनचाहीँ किन गर्दैन?

कलाले निर्णयकर्ताहरू तथा राजनीतिज्ञहरूलाई आफ्नो कल्पनालाई खुल्ला छोड्नलाई उत्साहित पार्नुपर्छ अनि मात्र उनीहरूले द्वन्द्व समाधानको शान्तिपूर्ण समाधान खोज्न सक्छन्। जब कुनै कलाकारले उसको कला सुरु गर्छ, नयाँ कुरा ल्याउने प्रयत्न गर्दा उसले पहिला सोचेका विचार, विभेद, पूर्वाग्रह, युनिभर्सिटीमा सिकेका कुरा, अरूले भनेका कुरा, सबै छोड्नुपर्छ। अनि मात्र उसले राम्रोसँग आफूलाई कलामा खोल्न सक्छे। त्यसरी नबाँधिएमा मात्र ऊ नयाँ कुरा निर्माण गर्न सफल हुन्छे। राजनीतिज्ञहरूमा पनि यही कुरा लागु हुनुपर्छ। यसले हरेक समस्याहरूलाई पहिला नै बनाएको योजना तथा विभेद बिना नै हेर्नुपर्छ। उसले नयाँ तरिकाबाट समाधान खोज्न नयाँ कल्पना त गर्नैपर्छ।
सिरिया र समग्र अरब विश्वले पनि नयाँ उपाय खोज्नैपर्छ र त्यो शान्तिपूर्ण हुनुपर्छ।

मुरद: यदि हजारौँ सिरियन कलाकारहरू अगाडी आउने हो र सामाजिक सञ्जाललगायत माध्यमबाट सिरियाबारे बताउने हो भने हामीले समाचार मिडियामा देखेको भन्दा भिन्दै सिरियन समाजको स्वरूप देख्न पाउने थियौँ। यसले हामीलाई शान्तिको अझै नजिक पुर्‍याउने थियो। बढ्दै गर्दा हामीले अहिले कलाकारहरूले काम गरेजस्तो सँगै काम गर्‍यौं। त्यसरी नै भाइचारा लिएर एक अर्काबाट सिक्दै अगाडि बढ्नुपर्छ।

Sara Shamma. Untitled, 2015. Oil and acrylic on canvas, 60 x 80 cm. Courtesy of the artist.
सामाको कला

सिरियाका अरू कलाकारहरू (अन्तर्वार्ता दिनेहरूसहित) ले गरेका कामहरू तपाईँलाई कस्तो लाग्छन्? एउटै संस्कृति र भोगाइ पस्किने कलाकारहरूलाई देख्दा सामुदायिक भावना आउँछ?

अजम: हो म त्यो महसुस गर्छु। अरू सिरियन पेन्टरहरू जस्तैः सारा सामा, केभोर्क र मुरद। हामीले गर्नसक्ने के मात्र छ भने हामी जनताको दुःख र सङ्घर्षलाई डकुमेन्ट गर्न सक्छौँ। यदि हामीले कुनै माध्यमबाट संवाद र चेतना फैलाउन सक्यौँ भने हामीले आफ्नो काम गर्‍यौँ।

सामा: उनीहरूको काम राम्रो छ। म एउटै अनुभव सेयर गर्ने सिरियाली कलाकारसँग मात्र हैन विश्वका सबै कलाकारसँग सामुदायिक भावना सेयर गर्छु। र, सँगसँगै के पनि हो भने म कुने वर्गीकरणमा फिट हुन्न।

मुरद: तमाम अजमलाई म व्यक्तिगत रूपमा जान्दछु र उसले जे सोच्छ र गर्छ त्यसलाई मन पराउँछु। उसले आफैँले आफैँलाई आविष्कार गरिरहेको हुन्छ। ऊ उज्वल छ। सारा सामाको बारेमा धेरै जान्दिन तर, उनी रियालिस्टिक पोट्रेट गर्छिन् भन्ने थाहा छ। उनी पनि एकदमै सफल कलाकार हुन्। र, म एउटै संस्कृति र अनुभवसँग मिसिएका कलाकारमा सामुदायिक भावना पाँउछु।

Kevork Mourad. Words for All, 2009. Acrylic on canvas 48 x 48 in. Courtesy of the artist.
मुरदको कला

तपाईँ र तपाईँको कलाको प्रक्रियाको लागि अभियान वा आन्दोलन के हो?

अजम: मेरो आगामी एकल शो ‘द रोड’ ले यो आन्दोलनको बारेमा धेरै कुरा गर्छ। स्टोरेइज सिरिजले दर्कलाई सुरुवातमा खाली र स्थीर सडकमा लिएर जान्छ जहाँबाट कुने गन्तव्य वा बाटो देखिँदैन। त्यहाँ त केवल कहिल्यै नसकिने र नदेखिने अवरोध नै अवरोधहरू मात्र देखिन्छ।

हामी सबै सिरियनहरू यो आन्दोलनमा सहभागी भैसकेका छौ। यो आन्दोलन सुरक्षित सिरियाको लागि हो, हाम्रो जीवनको लागि हो।

सामा: मेरो पेन्टिङमा देखिने गेस्चरल मुभमेन्ट मुख्य भाग हो। म धेरै पारदर्शी कलरमा काम गर्छु र जब कुनै शरीरको अङ्गहरूलाई थोरै दुरी राखेर एकपछि अर्को गरी दोहोर्याउँछु, त्यो मान्छे कुनै गतिमा भएको जस्तो देखिन्छ। उसको हात हल्लिरहेको जस्तो वा उसको अनुहासको एक्सप्रेसन परिवर्तन भइरहेको जस्तो। ऊ नाचिरहेको जस्तो।
पेन्टिङमा पारदर्शिता हुँदा तपाईँ त्यहाँको हावालाई महसुस गर्न सक्नुहुन्छ। पेन्टिङ भित्रै छिर्न सक्नुहुन्छ। मलाई लाग्छ, मुभमेन्ट इज लाइफ।

शब्दको रूपमा मुभमेन्टलाई हेर्ने हो भनेचाहिँ यो अलिक हस्तक्षेपकारी वा सामाजिक र राजनैतिक आन्दोलनलाई बुझाउँछ। मलाई लाग्छ, कुनै महत्त्वपूर्ण चित्र आफैँमा पनि एक सामाजिक आन्दोलन हो।

मुरद: मेरो लागि मुभमेन्ट भनेको तपाईँ दर्शकले देखेको कुनै चिज हो, जसलाई तपाईँ आउने महत्त्वपूर्ण समयभन्दा पहिला देख्नुहुन्छ। यसमा पनि दुईवटा पाटोहरू छन्ः एउटा सांकेतिक र अर्को कुनै अर्थसँग सम्बन्धित। मलाई त्यस्तो आर्ट हेर्न मनपर्छ जसमा गेस्चर वा फर्मुला एकदमै सुन्दर ढङ्गमा प्रस्तुत गरिएको हुन्छ। कला जहाँ मुभमेन्टलाई एकदमै मास्टरक्लास क्वालिटीमा देखाइन्छ। मुभमेन्टको अर्को महत्त्वपूर्ण पक्ष भनेको त्यसपछि के आँउछ भन्ने मिस्ट्री नै हो। पेन्टिङ लिनियर आर्ट नभए पनि मलाई चित्रले दर्शकलाई देखाइरहेको वा दर्शकलाई चित्रतिर तानिरहेको दुवै गरेको मनपर्छ।

Tammam Azzam. Storeys Series, 2015. Acrylic on canvas, 200 X 250 cm.
अजमको कला
Sara Shamma. Self portrait, 2015. Oil and acrylic on canvas, 200 x250cm. Courtesy of the artist.
सामाको कला

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.