कवि श्यामलको एउटा कविता 'दु:स्वप्नमा तल रगतको नदी बगिरहेछ र रगतमा उर्लिरह्को पीडाको झट्काले माथि झोलुङ्गे पुल हल्लिरहेछ ।
त्यो नदी मानिसको रगतको हो, र त्यो झोलुङ्गे पुल हो अचेलको नेपाल जहीँ वर्षदिनको महाउत्सव दसैँ हाम्रा घर-दैलोमा आउन-आउन लाग्दा नदीतिर फर्केर हामी विचलित मुद्रामा कहालिँदै मौन उभिएका छौ ।
नदीमा केही अघिसम्म साढे सात हजार मानिसको रगत बगिरहेछ भनी लास गन्ती गर्ने धन्दामा प्रवृत्त मानवअधिकारकर्मीहरुद्वारा हामीलाई सुनाइएको थियो । अहिले यताका र उताका, रगतको होली खेल्ने क्रीडाभूमिमा झण्डैजसो उस्तैउस्तै आवेग र उन्मादको घोडामा सवार भएका पात्रहरुमाझ नरबलिको सहारकारी यज्ञकुण्डमा रगतरुपी चरु चढाउने प्रतिस्पर्धा चलिरहेछ । र, यज्ञमा बलि चढाइनेहरुको सङ्ख्या बढेर दोब्बर हुँदैछ ।
यसपाला चिनिएका र नचिनिएका, नजिकका र टाढाका, सशस्त्र र न:शस्त्रहरुङ्को रगत प्रवाहित भएको कोलाहलमय भेलमाथि निम्छरो झोलुङ्गे पुलमा उभिएर काम्दै हामी तिनक सम्झनामा शोकमग्न दसैँ मनाउन अभिशप्त छौ ।
कम्तीमा पनि आधा शताब्दीयताका दसैँहरुको टड्कारो वा मधुरो सम्झना मेरो मनको झोलीमा टनाटन भरिएको छ । केही सम्झना यस्ता छन् जसलाई फेरी सम्झेर ल्याउँदा क्षणभर मनमा एकतमासको रोमाञ्च र उमङ्ग तरङ्गित हुन्छ । तर हल्लिरहेको झोलुङ्गे पुल र पुलमुनिको मौन चीत्कारले मनलाई उत्नखेरै विदीर्ण र त्यसैत्यसै उदास बनाइदिन्छ ।
म त्यसतै आठ वर्षको हुँदो हुँ । सदाझैँ शरदकालीन सुन्दर याममा हाम्रो गाउँमा दसैँ आयो । त्यो अष्टमीको दिन थियो । विहान माथि रमिते डाँडाबाट घामले चियाउन थालेदेखि नै हाम्रो आँगनमा विचित्रको चटकजस्तो चहलपहल सुरु भयो । गुन्द्रुक उमाल्ने सानो कराहीमा पानी उमालियो । भक्भकी उम्लिरहेको पानीमा छुस्स अलिकता खरानी हालियो ।
एउटा कुभिन्डालाई झीरले छेडेर प्वालमा चारवटा छेस्का घुसारियो र चौपायाको स्वरुपमा त्यसलाई ठिङ्ग उभ्याइयो । कुभिन्डाको एकापट्टि अलिकता कपेर त्यसमा मसिनो डोरी बाँधियो । कुभिन्डालाई पानीले पर्सिइयो । अनि एकजना डोरी समात्ने, एकजना आरी थाप्ने, एकजना सिरुपाते खुकुरी उजाउने- दसैँले ल्याएको चटकतुल्य नाटक यसरी उत्कर्षतिर अघि बढ्यो ।
ठूल्दाइले देब्रे खुट्टो उचालेर, सिरुपाते खुकुरी हावामा बत्ताउँदै छ्याक्क मार हाने । र, माल्दाईले आरीमा हत्तपत्त रगतबिनाको रगत थापे । त्यो कुभिन्डोको बलिचढाई हाम्रो गरिबीको प्रतीक हो भन्ने मलाई थाहा थिएन । त्यसैले बलिको प्रतीकमा पूरा गरिएको त्यो चरणबद्ध रीति र विधिबाट मलाई विचित्रको बालसुलभ आनन्द प्राप्त भयो । उत्सबको मौसममा चिची खान नपाउनुको विस्वाद त मलाई पछि भात खाने बेलामा पो थाहा भयो ।
आँगनमा खसीको प्रतीकमा कुभिन्डाको बलि चढाइए पनि भोलिपल्ट कताबाट हो कुन्नि हाम्रो चुलोमा चिची आएरै छाड्यो । यसरी त्यो दसैँ पनि स्वादिलै भयो । हाम्रो परिवार बिस्तारै-बिस्तारै विपन्नताबाट अपेक्षाकृत सम्पन्नतामा फेरियो । कम्तीमा पनि दसैँमा आँगनमा कुभिन्डाको नाटक हुन छाड्यो । त्यसपछि सानो होस् वा ठूलो दसैँमा खसी नै काटियो । तर खसी काटेका धेरैजसो दसैँ समयका पर्दाले छेलेर बिर्सिइए, त्यो कुभिन्डो भने सम्झनाको ऐनामा अमिट छाप भएर रहिरह्यो । प्रतीकको शक्ति कति कालजयी ।
विक्रमाब्दको चालीसको दशकको पूर्वार्द्धमा मेरो सानो परिवारको पनि सानो घर बन्यो । त्यो पनि अन्त होइन, महानगरी राजधानीको चक्रपथभित्रै । घर नहुनेको घर हुँदा हुने आनन्द घर नहुनेलाई नै थाहा हुन्छ । मलाई पनि भयो । छोराद्छोरी चिचिलै थिए । घर बनेको खुसियालीमा टुकुचाको डिलबाट एउटा साना काँटीको झ्याम्ले च्याङ्ग्रो किनेर ल्याइयो र नवनिर्मित घरको सम्मानमा त्यसलाई बध गरियो ।
छोराछोरी घरपति त भएकै थिए, अझ त्यसमाथि सिङ्गै च्याङग्राको चिची खान पाउँदा तिनको हर्ष र उमङ्गले पखेटा फट्कारेर अकासिँदै माथि, अझ माथि सगरमाथाको चुचुरो चुम्न पुग्यो । आफू सानो छँदा कुभिन्डाको प्रतीकमा, निख्लो भावनामा, चिचीबिना नै मैले दसैँको एक छाक आनन्द लिएको थिएँ, छोराछोरीले छाकैपिच्छे चिचीसहित आनन्द लिन पाए । अझ त्यसमाथि आफ्नो पक्की घरको नयाँ छतमुनि बसेर । बाबुक नाताले मलाई त्यस दसैँमा बडो सन्तोषको अनुभूति भयो । घर पनि भयो, सिकार पनि मनग्गे आयो ।
चाडपर्वमा पालना गरिने कर्मकाण्डहरुमा मेरो न उत्रो चाख छ न त उतिविधि निष्ठा नै छ । समाज छ र त्यसको एक अङ्सका रुपमा मेरो अस्तित्व छ । त्यसैले मन परे पनि मन नपरे पनि खुकुलो शैलीमा कतिपय कर्मकाण्डहरुको मियो वरिपरि सुमुसुमु घुम्न म कर्तव्यबद्ध छु । दसैँ आउँछ । अनि कोही निधार अघि सार्दै आसिक माग्न मकहाँ आउँछन्, र निधार अघि सार्दै आसिक माग्न मैले कसैकहाँ जानुपर्छ । ती यता आउँछन्, म उता जान्छु । यो आइ-जाइ अनावश्यक, बाक्लो र बोझिलो भइदियो भने मलाई झ्याउ लाग्छ । तर अरुहरुसहितको समाजमा बसेपछि अरुहरुका लागि अलिकता झ्याउ मैले बेहोर्नुपर्छ । त्यसैले दसैँ मेरा लागि अलिकता उमङ्गमय आनन्द हो, अलिकता उच्चाहटलाग्दो औपचारिकता ।
बालसुलभ उमेरको नेटो काटेपछि दसैँको टीका मलाई पितापुर्खादेखि मानिल्याएको औपचारिकताजस्तो मात्र लाग्थ्यो । तर छोरा सात समुद्रपारि गएको वर्ष टीकाको भावनात्मक मुल्यको मलाई गहिरो गरी अनुभूति भयो । पहिले टीका घरमा चारजना हुन्थ्यौँ, यो वर्ष तीनजना मात्र भयौ । घरमा छोराको स्थान जहाँ थियो र उसले घरको मनोलोकमा जति ठाउँ ओगटेको थियो, त्यो रिक्त भयो । मेरो मनमा त्यो रिक्ततामा एकदम निसासलाग्दो न्यास्रोपन भरियो ।
मानौँ भइरहेको एकजना नहुँदा सिङ्गो घरै रित्तो भयो । सुनसान, उदास र नीरस । छोराको तस्बिर भित्तामा थियो, बडो प्रेमले त्यो झिकियो । अनि तस्बीरको निधारमा टीका लगाइदिन तीनवटा हातका बीचमा तँ पहिले कि म पहिले भन्ने हानथाप भयो । छोरो टीका लगाएर पुन: उही भित्तोमा झुण्डियो । हेरेँ, निधारमा दिदी, आमा र बाको स्नेहसिक्त स्पर्श पाएर उ प्रसन्न छ । त्यो देखेर मेरो मनको त्यो विराट् रिक्ततामा सान्त्वनाकारी सन्तोष भरियो । र त्यो क्षण मेरा लागि नवीन सत्यको आविष्कार भएको क्षण थियो- बुझ्यौ, जीवनमा प्रतीकको महत्त्व कति ठूलो हुन्छ !
टीका प्रतीक हो- स्मृतिको, श्रद्धाको, स्नेहको र सद्भावनाको । हामी प्रतीकमा सोच्छौ र हामी प्रतीकमा जिउँछौ । हामी प्रतीकमा सपना देख्छौ र हामी प्रतीकरुपी सपनाका ध्वजा बोकेर ती सपनालाई साकार पार्न जीवन सङ्घर्षमा होमिन्छौ । जीवनलाई स्मृतिका शृङ्खलाहरुमा बाँधेर अर्थ र महत्ता प्रदान गर्ने प्रतीकहरु हामीसँग छन्, र नै त हामी प्रतीकविहीन पशुहरुभन्दा फरक छौँ । हाम्रा चाडपर्वहरु प्रतीकहरुका मौसमी लस्कर हुन् । भूगोलमा जो नजिक छन्, दसैँमा तिनको सशरीर भेट हुन्छ । जो टाढा छन्, तिनलाई प्रतीकमा भेटिन्छ । जसरी टीकाको प्रतीकात्मक पुल हालेर मेरो स्मृतिले कति हो कति दूर सात समुद्रपारि भएका छोरालाई मनको छेवैमा भेट्यो ।
केही वर्षयता झोलुङ्गे पुलमुनि मानिसको निकै नै रगत बगिसकेको छ । र, आफ्नो अनुहारमा रगतका छिटा लागेर दसैँ कुरुप र विरुप भएको छ । दसैँ अहिन्दुहरुको चिनारी मासिदिने हिन्दुहरुको चाड हो भनी यसको अनुहारमा धार्मिक रुढिको मोसो पोतिदिएर दसैँको साँस्कृतिक अर्थलाई नै विकृत र सङ्कुचित तुल्याउने उन्माद पनि हामीले नदेखेका होइनौँ । र, हामीले कतिपय यस्ताहरुका पाखण्डी अनुहारको सक्कली रुप हाम्रा आँखै अगाडी प्रकट भएको पनि नदेखेका होइनौँ ।
पहिले दसैँलाई थुकेर घृणाको भर्याङ्ग बनाइयो । र, कुनै घृणाकर्मी दौरा-सुरुवालको भेषमा त्यही भर्याङ्ग चढेर सत्ताको वृक्षमा काफल खान उक्लियो । जसले ममतामयी आमाका आसिक भरिएका निष्कलङ्क हातको टीकालाई निर्ममतासाथ लत्याएको थियो, उसले पद, प्रतिष्ठा र पैसाका लागि महाराजका हातको टीका वरण गरेर आफ्नो जीवनदायिनी आमाको गर्नुसम्म मानमर्दन गर्यो । मलाई लाग्छ, पाखण्डको यो नग्न प्रकटीकरण प्रकारान्तरले घृणाको भर्याङ्गको पराजय र आमाको टीका लगाइदिने हातकै विजय थियो ।
नेपालमा जति सँस्कृति छन्, टीकाका त्यति नै बान्की छन् । हरेककोमा आ-आफ्नो पारा छ, आ-आफ्नो निजत्व छ । कतिपय मतवालीहरुले धार्मिक रङ्ग दिएर दसैँकको बदख्वाईँ गरिरहँदा नवीन सुब्बा नुमाफुङमा टीका लगाइरहेका थिए । त्यो टीका बाहुनहरुको जस्तो होइन । त्यहाँ धेरैले नबुझ्ने सँस्कृतिका तोत्र पटरपटर जपिएका हुँदैनन् । त्यहाँ धनदौलत राजा नहुषको जति होओस भनी लुब्धपन्थको आसिक दिइएको हुँदैन । अरु स्वाँगे आसिकको लम्बेतान गन्थन पनि हुँदैन । त्यो टीका छरितो छ, सरल छ, चिटिक्क परेको छ ।
टीका लगाइको लिम्बू पारा हो त्यो । त्यसैगरी अरु जातका पाराहरु अलग छन् । यी आ-आफ्नो सँस्कृति र परम्परामा ढलिएका निजत्वयुक्त पाराहरु हुन् । यसरी दसैँको टीका साँस्कृतिक भावनाको त्यस्तो अदृश्य सूत्र हो जसले समस्त नेपालीहरुलाई बुनेर एउटा जालोमा बाँधिदिन्छ ।
जीवन उत्सव हो, चाडपर्वहरु हुन् त्यस उत्सवका अलङ्कारहरु । युगान्तकारी विद्रोह वा विप्लवद्वारा राजनीतिक सत्ता र व्यवस्था फेरिँदा पनि पुस्तौँपुस्तादेखि सँस्कारमा जरा गाडेर आएका साँस्कृतिक चाडपर्वहरु मासिँदैनन् । तिनका रुप फेरिन सक्छन् । तिनमा स्वपीडक वा परपीडक तत्त्वहरु भए समय सुहाउने गरी हेरफेर र परिष्कार हुनसक्छ । तर ती सर्वाङ्ग नामेट र निषिद्ध भने कदापि हुँदैनन् । किनभने ती जीवन जिउने अजम्मरी प्रतीक हुन् । तिनको बहिष्कार वा निषेधबाट जीवनमा यस्तो कोलाहलमय रिक्तता छाउँछ, जसलाई कुनै तत्त्वले भर्न सकिँदैन ।
श्यामलको प्रतीकमा झोलुङ्गे पुलमुनि धेरै रगत बगिसकेको छ । हामीजस्तै मानसको रगत ! र, कुन बेला चुँडिने हो भनी डरमर्नु भएको हाम्रो झोलुँगे पुलमा फेरी दसैँ आएको छ । छोरो अर्थपूर्ण ढङ्गले जीवन जिउने ज्ञान र सीपको खोजीमा खोलापारि गएको छ । यस घडीमा उसको उमेरका थुप्रै युवाहरुलाई कतै अन्यायका साथ गोली दागेर र कतै बर्बरतासाथ रेटेर बलि चढाइँदैछ । जहाँ यसरी मानिसको बलि चढाइन्छ, त्यहाँ सँयोगले बाँचिरहेकाहरु वा मारिने रोलमा पर्न सक्नेहरु दसैँको उत्सवमा कसरी रमाउन सक्छन् ?
छोराको तस्बिर भित्तामा फिर्ता गइसकेको छ । तैपनि हल्लिरहेको झोलुङ्गे पुलमा भावुक लयमा कामिरहेको मेरो हात उसलाई दसैँको टीका लगाइदिएर न्यास्रो मेट्न सुस्त-सुस्त माथि उठिरहेछ । जीवन जतिसुकै कोलाहलमय किन नहोस्, उत्सवको याममा प्रतीकको अर्थ सदैव ठूलो हुन्छ ।
दसैँसम्बन्धी यो सामग्री सँग्रौलाको निबन्धसँग्रह "सम्झनाका कुइनेटाहरु" बाट साभार गरिएको हो ।