आमा ! म आज स्कुल जान्न ।
किन जान्नस् ? आमा म तिर सर्किनु भो ।
मैले कुम ठोक्दै भने, 'जान्न ! जान्न ! ! जान्न ! ! !'
उता दिदी खित्खिताउँदै थिइन् । स्कुल जान अबेर भैसकेको थियो ।
घरबाट स्कुल पुग्न करिब पौने घण्टा उकालो उक्लनुपर्थ्र्यो सरस्वती प्रा वि नेटा ।
मैले अटेरी गरेको देखेर आमा एकछिन पछि बडे सिस्नोको लाँक्रो ल्याउनु भो ।
'जान्छस् कि झोस्दिउ ?' म झन रुन थाले ।
ओ कोपिला स्कुल जान ढिला भइसक्यो हामी त गइयो, दिदीका साथीहरु परैबाट भन्दै थिए ।
दिदीले मलाई निक्कै माया गर्थिन् । मैले डाँको छोडेर रुन थाले पछि आमालाई भनिन्, 'उता जानुस । मैले मेरो भाईलाई स्कुल लैजान्छु ।'
आ... बुई आइज ।
म दिदीको बुई चँढे । दिदी फटाफट हिडिन् । तर उकालोमा ठस ठस कन्न थालिन् ।
दिदीलाई गाह्रो भएको देखेर देवथापबाट नयाँ चैतारा सम्म हिँडे त्यसपछि मेरो खुट्टा चलेन उकालो अनि लामो बाटो संझिदै ज्वरो आउँथ्यो त्यसैले स्कुल जान नपरे हुन्थयो लाग्थ्यो ।
दिदीले केही छिन फकाउने कोशिस गरिन् । म पल्टेर रोइदिएँ स्कुल एसै ढिला भैसकेको थियो । दिदीले सुस्केरा फेर्दै लतारिन मलाई ।
मैले जिउ चटक्कै छोडिदिए,ज्यान ददारियो ।
म फहरिँदै रुन थाले, मलाई गानो गयो म हिड्न सक्दिन ।
निकै गरुङ्गो र भारि काम गर्दा गानो जान्छ रे मेले यही सुनेको थिए । अनि भनिदिएँ । मलाइ साच्चिकै धौ धौ भएको थियो । दिदी पनि अमिलो हाँसिन् मैले गानो गयो भनेको सुनेर । सायद उनलाई अलि बढी थाहा थियो होला ।
उता साथीले छोडेको पीडा, उता स्कुल छुटेको पीडा ।
हिँडछस् कि पल्टाइदिउँ ? ऊ गोरु आयो । मलाई अनेकन कुराले डराउन दिदाँ पनि नमाने पछि दिदी आँफै रुन थालिन् । घरि मलाई गिज्जाएर रोइन्, घरि साँच्चै रोइन् ।
अलिबेर सँग सँगै रोयौँ तर दिदीले छोडिनन् मलाइ र स्कुल पनि गइनन् । अलिवेर पछि भनिन् तँ खाल्टेलाई अब कहिल्यै पनि स्कुल ल्याउँदिन ।
दिदी म भन्दा जम्मा पाँच वर्षले जेठी छन् । उनले मलाई रिस उठ्दा सधैं खाल्टे भन्थिन् किन भने मेरो दुबै गालोमा हाँस्दा हल्का खोपिल्टो पर्छ ।
न स्कुल जानु,न चाँडै घर फर्किनु । त्यो दिन त्यही नयाँ चौतारामा बस्यौ । दिदीका साथी फर्केपछि सँगै घर फर्कयौ ४ बजे ।
घरमा आएर दिदीले सप्पै कुरा भनिन् । मैले गानो गयो भनेका कुरा । स्कुल नगएको कुरा मैले बाटोमा दुख दिएको कुरा । यो सवै सुन्दा घरका मुर्छा परि परि हाँसे ।
अब म सँग दुईटा विकल्प थिए कि सरासर स्कुल जानू कि सिस्नु पानी खानी रुनी बस्नी । हिजो ल्याएको सिस्नोको लाँक्रो भोलिलाई चाहिन्छ भनेर आमाले गेडुलाको फेदमा राख्नु भाथ्यो । मलाई रातभरी निद्रा लागेन । यति भाँति गरेर किन स्कुल जानु पर्छ,मलाई थाहा थिएन । स्कुल गएर के हुन्छ । मैले कति पढ्छु मलाई केही थाहा थिएन ।
मलाई यति थाहा थियो खुरु खुरु स्कुल गइन भने मलाई मार्छन् । ६/७ बर्षको फिस्टो त्यत्रो उकालो बाटो त्यसै सम्झिँदा पनि जिउ गलेर आँउथ्यो तर स्कुल नजा भन्ने कोही थिएन । दिदीले जति माया गरे पनि रिस उठ्दा चट्काउँथिन् ।
त्यो दिन बेलुका आमाले दिदीलाई भन्दा एक डाडु दुध बढी दिनु भो अनि भन्नु भो खा दुध खाए पछि गानो जान्न, अनारले बिर्सेको, दिदी खितित्त हाँसिन् ।
भोलिपल्टबाट आमाले सानो ताउलीमा डिलमुनिको अगेनोमा थोरै खाना छड्काउन थाल्नुभो । सगोलमै पकाएको खाएर स्कुल जान ढिला हुन्छ भनेर आमाले तेसो गर्नुभएको थाहा पाँए । ८ नबज्दै खाना रेडी । म
स्कुल नजान बनाउने बाहाना कुनै बाँकि थिएन । त्यसैले त्यो दिन देखि दिदीले अरु साथी छोडिन । किन भने म सित चाँडै हिड्नु पर्थ्यो । अनि म पनि जवरजस्ती बानी परेपछि स्कुल जाँदाँ कहिल्यै गानो गएन।
....
यसरी नै वाटोले वाटो हिडन सिकायो । गौडाहरुले उक्लिन सिकायो । ओरालोले झर्न सिकायो । दिदिको हात समातेर स्कुल उक्लिरहँदा यामले ऋतु फेर्दै थियो ।
बितेका कालमा घटेका घटनाको विवरणलाई इतिहाँस भनिन्छ ।
कक्षा ४ को सामाजिक शिक्षाको पहिलो पाठको पहिलो हरफ, यो कण्ठस्थ सुनाउनुपथ्र्यो ।
तर कक्षाका सबै खडा । मोहराज सर कडा छन् अब के सजाँय गराउनेहुन् । सब अनुमान लगाउँदै थिएँ ।
कसैले नजानेर सब खडा भएको मा मँ पनि चिन्तित थिइन ।
गुरु रिसले चुर हुदै कडके, बदमास सब कुखुरो बन्ने अब १५ मिनेट ।
दुबै घुँडाको बीचमा मुन्टो पारेर दुबै हातले कानका लोति समाउँदै सबै कुखुरो बन्यौ । हातमा लौरो समातेर जसले ठग्छ उसैको ढाडमा ड्याम्म पार्दै मोहराज सर कक्षामा यता र उता गरिरहे ।
सबैलाई सकस भएको थियो खुट्टा गल्दै गए । गुरुका आँखा छलेर घरिघरि कसैले ठग्न खोज्थे । जस्ले ठग्थ्यो उसले पक्का लौरो खान्थ्यो ।
मेरो ठीक अगाडि शिव थियो । मैले टाङ मुनीबाट उसलाइ देखें उ बरबरी आँशु खसाल्दै थियो । उसको जाँग उध्रेको थियो हाफ छुट्टीमा कपर्दि खेल्दा । अनि मैले आफ्नो कमिजको खिप उसलाई दिएको थिएँ ।
कुखुरो बन्दा त्यो खिप पनि फुत्केछ । उसको जाँगे पखेटो जस्तै भएको थियो । मैले मनमनै भने छिः केटोले भित्र केही पनी लाएको रैन्छ ।
उसलाइ कुखुरो बन्नुको पिडा भन्दा जाँगे उध्रेर लुकाउने कुरा देखिएकोमा बढी पीडा थियो । त्यो कुरा गुरुले थाहा पाएछन् अनि नजिकै आएर भने तँ बस् । उसले दुइ घुडा चेपेर बस्न खोज्यो तर आफुलाइ सम्हाल्न उसला्ईइ गारो भएको थियो ।
सबै खुट्टा गलेर आवाज निकाल्दै थिए । रामे बुर्लुङग पल्ट्यो । कक्षामा यसरी सबै कुखुरो भएको पहिलोपटक थियो ।
स्कुलमा मास्टरले दिने सजाँय मध्ये यो सबै भन्दा कठिन सजाँय । धेरैले आँशु र सिंगान संगै छोडे । मँ कता पिसाब छोडिन्छकी भनेर संयम हुदै थिएँ ।
कक्षाभरिका कुखुरो भएको रमाइलो हेर्न घरीघरी ३ र ५ का ले झ्यालबाट गिजाउथें । अघिल्लो दिन भागेर कोही लौसी खान कोही घर गएकोमा सबै ग्लानी ले पानी पानी भएका थियौ । सबैका आँखाका डिल धमिला भएका थिए । यतिकैमा गुरु पग्लिएर बोले, अब कहिल्यै १ बजे भागेर जानी की नजानी ??
सब रुन्चे स्वरमा उत्तर दिए, नजानी ।
कण्ठ गर्न भनेको गर्नी की नगर्नी ??
ठुलै अपराध स्वीकारे जस्तै सबैले भन्यौ, गर्नी ।
सधै होमबर्क गर्नी की नगर्नी ?? गर्नीऽऽऽ
घुडामुनी मुन्टो र कानका लोती दूबैहातले समातेरै यती सपथ खाएपछि गुरुको आदेश भो,अब बस ।
त्यतिखेर मलाइ निकै ठुलो जीत जिते जस्तै महसुस भयो ।
मलाइ खुब याद छ त्यसपछि कहिल्यै कुखुरो बन्नु परेन र कक्षा छोडेर पनि भागिन।
नेटा पढाउने सबै गुरुहरुले खुप माया गर्थे मलाइ । आफ्नो नाम संग मेल खाएर होला मोहराज सरले मलाई कहिलेकाँहि मित भन्थे दयाराम गुरु इश्वरी गुरु ले माया गरेर सँधै खेतारे भाइ भन्थे घरको नाम खेताघर भएर होला । शायद केशब गुरु अनि नइन्द्र गुरुले पनि प्यार गर्थे ।
गर्मी महिनामा कहिलेकाँहि बिहान पढाइ हुन्थ्यो । चैत वैशाख ताका सबै स्कुलबाट फर्किदा खाजा भनेर सुक्का रोटी र चटनी लैजान्थे अनी बनमा लुकाउथें । स्कुलबाट जो पहिला आउथ्यो उसैले जिप्टाउँथ्यो ।
कहिलेकाँही झगडा हुन्थ्यो यै कुरामा । स्कुलबाट फर्केर आउँदा जहिले पनि देवथापाको स्वामीको रुखको लहरो परेको हाँगामा झुण्डिएर सरररर यता र उता गर्न खुब मजा आउँथ्यो । एकपटक त्यो हाँगो लाछिएर सब रक्ताम्मे ।
दिदी,उनका साथीहरु विष्णु,खुमे दाइ,रामकृष्णे,शिवे,गणेश,चित्रा,थुमा सबै एकैपटक हुल्ली खेल्दा हाँगो झडयाम्मै भाँचियो । हागो कड्याक कड्याक गर्दै लाछीएर हामी सबै बाटो मुन्तीर पाखाभरी पछारीयौ ।
कसैको टाउकोमा काट्यो कसैको मुखमा,पिठ्यूँमा जतासुकै ददारियो । दिदीको आँखीभौं नेर सुनीएर बडेमानको टुटिल्को उठ्यो । रामकृष्णको ओठ मुख ह्वाम्मै सुनयिो । खुमेदाइको नाथ्रो फुट्यो । कोइको कता कोइको कता सब घाइते । अब घरमा गएर के भन्ने सबलाइ यो पनी चिन्ता थियो ।
केही उट्पट्याङ गरेको थाहा पाए कडा सजाँय दिने मोहराज गुरुको घर त्यही तल थियो । हल्लीखल्ली सुनेर वहाँ बाटोतिर निस्किनुभो । त्यसपछि त सब झोला समातेर कुलेलम ।
भोलीपल्ट कोहीपनि स्कुल गइएन । खुब हल्ला मच्चियो । त्यतीखेर झण्डिनेहरु प्राय सबैको अनुहारमा एउटा न एउटा खत अझै नी छ।
यस्ता उपद्रोहरु कैयौपटक हुन्थ्यो । कहिलेकाहीँ चोरका पाइलामा परिन्थ्यो । कहिले काक्रो चोर्नजानेलाइ मान्छे हेर्नुपर्थ्यो ।
कहिले निबुवा नासपती चोर्न जानेको झोला बोक्नुपर्थ्यो । उनीहरु भाग्थे आफूले कुटाई खानु पर्थ्यो ।
स्कूलमा धेरै खेलिने खेल कपर्दी हो । एक बज्यो कि कपर्दी । शारीरिक पढाउने गूरुले पनि कपर्दी नै बढी खेलाउने । अझ केटा र केटी भनेर उक्साउने । केटाहरु रमाइलो मान्थे केटीहरु लजाउँथे ।
खेलमा केटाहरु केटीलाई साँध छुन दिँदैन थिए, च्याप्प समातिहाल्थे । २, ३ जनाले गुटुमुटु पार्थे तर केटीहरु पनि लुरा केटा देखे हेप्थे तर हार्थे ।
कहिलेकाँही कपर्दी खेलमा केटीहरुको जामा फुस्कस्न्थो र भित्रको मेडी देखिन्थ्यो उनीहरु भुतुक्क हुन्थे केटाहरु मरी मरी हाँस्थे।