"ह्यापी बर्थडे टु यू"
"ह्यापी बर्थडे टु यू"
क्लासमा कसैले जन्मदिन मनाउँदा हामीहरु उभिएर, राईम्स मिलाएर, ताली बजाउँदै यसलाई गाउँथ्यौं।
प्राइमरी स्कूल जाँदा साथीहरु मज्जाले जन्मदिन मनाउँथे। धेरै जसोले चकलेट त कोही घरमा आमाले बनाई दिएका लड्डु कक्षाभरी बाँढ्थे। अनि सबैको "ह्यापी बर्थडे टु यू" पाउँथे। बर्थडे बोइ मिठाई पसलको जेरी जस्तो हुन्थ्यो, बाँकी कक्षाका हामी सबै भने त्यसमा झुम्मने मौरी। मलाई भने साथीहरुले बर्थडे मनाएको देखेर साह्रै इर्ष्या लाग्थ्यो, रिस उठ्थ्यो।
आज मेरो बर्थडे भनेर मैंलेपनि चकलेट बाँढ्न पाए, केटाहरु मेरै वरिपरी हुन्थे, क्या हिरो पो होईन्थ्यो त। बर्थडेको दिन त होमवोर्क नगरेपनि सर-मीसले पिट्दापनि नपिट्ने कति मज्जा हुन्थ्यो होला, म कल्पनामा पुग्थें। तर वास्तविक जीवनमा त्यसरी कहिले पनि मैंले बर्थडे मनाउँन पाईन। कक्षामा कसैले जन्मदिन मनाउँदा, आफूले मनाउन नपाएको झोकमा, अरुले "ह्यापी बर्थडे टु यू" भन्दा म चाहीँ सानो स्वरले गाईदिन्थें- "हात्तीले पाद्य्यो पुई पुई।"
साथीहरुको जस्तोगरि मैंले बर्थडे मनाउन नपाउनुको कारण थियो- स्कूल विदा। स्कूल पढ्ने विद्यार्थी कसलाई विदा मन पर्दैन र? अहिले पिएच. डी. गर्दा त विदा भनेपछी दङ्ग हुने म, झन स्कूल पढ्दा हुने छुट्टी, पक्कै प्रिय हुन्थ्यो। विदाले मनमा उमङ्ग ल्याउँथो तर स्कूलमा बर्थडे मनाउन नपाएकाले मनमा खिन्नता भने रहिरहन्थो। मैंले कहिल्यै बर्थडे नमनाएको देखेर, अरुको मात्र खाएको देखेर, कति साथीले सोध्थे पनि, "ओई मने तेरो बर्थडे छैन?" मलाई हेपेर सोधेको प्रश्नको उत्तर म भने करङ्ग उचाल्दै सानका साथ दिन्थें - "ठूलो मान्छे भएर होला तेरो दाइको जन्मदिनको दिन सरकारले विदा दिएको छ। बरु दाइलाई थ्यांक यू भन। तेरो दाइ जन्मँदा सम्पूर्ण नेपालीको घर-घरमा खुशियाली र हर्क-बढाई थियो। मानिसहरुले ठूलो मान्छे आउँदैछ भनेर खसी, कुखुरा, भेडा, च्याङ्ग्रा, आदी बली दिएर स्वागत गरे पछि म जन्मेको हुँ बुझिस, दशैंको अष्टमीको दिन।"
अरु साथीहरुको जसरी क्लासका सबैको "ह्यापी बर्थडे टु यू" नपाएपनि, एक दिन भएपनि सबैको सेन्टर अफ अट्राकसन हुन नपाएपनि, बर्थडे त मैंलेपनि मनाएँ, किसिम-किसिमले मनाएँ। बर्थडेको दिन पाइन्टको बगलीभरि कहिले लाक्टो त कहिले मेंगो-टार्ट चकलेट राखेर बाढ्दै हिँडेर मनाएँ। लाक्टो चकलेटका तन्किने खोल कसले सबैभन्दा लामो बनाउने भनेर काले, चुसे र भाइहरुसँग कम्पिटिसन गरेर दिन बिताई मनाएँ। अल्ली ठूलो भएपछि झन विविध तरिकाले जन्मदिन मनाएँ: केक काटेर मनाएँ, भाले काटेर मनाएँ, रेस्टुराँमा आलुदम खाएर मनाएँ, गला देखि पोल्ने रम खाएर मनाएँ, देशमा मनाएँ, विदेशमा मनाएँ, भलै त्यो लाक्टो र मेंगो-टार्ट खाँदाको जस्तो उमङ्ग कहिलै आयो।
दशैंको अष्टमी बर्थडे भएको म, बुझ्ने भएदेखि भेटे र देखे जत्तिसँग विविध तरिकाले जन्मदिन मनाउँदै, मिष्ठान्न खाँदै आएपनि, जन्मेको साल पनौतीका सम्पूर्ण बन्जाराहरुको घरमा रमझमका साथ आएको दशैं भने म एक्लैले खाई दिएको थिए।
…
गाउँभरी दशैंको माहोल थियो, खुशीयाली र रमझमको। सक्नेहरु चुनले त नसक्नेहरु कमेरोले सेतो पारेर घर रङ्गाउँथे। कोही-कोही घरका भित्रभाग रङ्गाउन कमेरोमा निर मिसाउँथे र निलो बनाउँथे। मुख्यत दशैंकै लागि भनेर सल्लेको वन र ज्याले-पाटीबाट रातोमाटो ल्याउँथे, डल्ला बनाउँथे र सुकाएर राख्थे। त्यो महिनौ अगाडिदेखी जोहो गरेको रातमाटोले पिँडी र आँगन रङ्गाउँथे। कति खेत-वारीको कामले फुर्सद नपाएर ढिलोगरि भएपनि घर टल्काउन लागि परेका हुन्थे।
सबैले घरमा देवीको मन्दिर स्थापना गरेका थिए। घर बाहिर भने सयपत्री, मखमली र लाहुरी फूलले वातावरणलाई रंगिन र सुगन्धित बनाएक थिए। घरबाट टाढा बस्नेहरु, विशेषत काठमान्डौंमा पढ्न या काम गर्न गएकाहरु घर फर्कन्थे। गाउँ फर्केका तिनै युवा अनि लागी पर्थे चारवटा बाँस जुटाउँन, लठारो बाट्न र लिङ्गे पिङ्ग हाल्न। त्यही माझ गाउँको लिङ्गे पिङ्ग दशैं भरी र तिहारसम्म सबैका निम्ती भेटघाट गर्ने थलो हुन्थ्यो, ए कमन मिटिङ्ग पोइन्ट।
यसपाली बन्जारा खलकका धेरै घरमा नयाँ ज्वाई-छोरी आउँदै थिए। उनीहरु जोडतोडका साथ दशैंको सामल जुटाउँदै थिए। घरका आईमाईहरु खरानीमा लुगा पकाउँथे, ढुङ्गामा पछार्थे, मुङ्रोले चुट्थे र पानीमा धुन्थे। उता ससुराली, माइती र मामाघर जानेको तयारी पनि कम्ती थिएन। पहिलो पल्ट ससुराली जानेहरु, विहेको कोट टक्टकाउँथे, ठीक हुन्छ कि हुन्न लगाएर हेर्थे। अरुपनि आ-आफ्ना कुतमा लगाउने दर्जीले सिलाएको लुगा मिलाउँथे। कयौंका निम्ती दशैं एक मात्र नयाँ लुगा पाउने अवसर हुन्थ्यो। धेरै जसो विद्यार्थीका निम्ती दशैंनै स्कूलको पोसक पाउँने समय हुन्थ्यो। बाल-बालिका नयाँ लुगा दिनमै तीन पल्ट लगाउँथे र पट्याएर राख्थे अनि ती लुगा लगाउन पाउँने औपचारिक दिनको प्रतिक्षा गर्थे।
माझ बन्जारा गाउँमा मात्र होइन, दशैं माझ गाउँबाट पर डाँडाको खोचका दुई घर, पराघर, अर्थात हाम्रो घरमा पनि आउँदै थियो। हाम्रो घरमा पनि ठुलोवुवा, वुवा र अंकलहरु दशैं मान्न घर फिरी सक्नु भएको थियो। हाम्रोमा पनि घरमा नै पालिएको खसी दशैंमा बली दिनको निम्ति छुट्याईएको थियो। तर हाम्रो घरमा भने गाउँमा अरु कसैकोमा नभएको एउटा अवस्था थियो, ममीको ठूलो भुँडी।
"भुँडी साह्रै बढेको छ, कतै माईलीले दशैं पो छेक्छेकी?"- गाउँमा दुई जना महिला भेट हुँदा यस्तै कुरा हुन्थे।
यो समय हुँदो हो त डाक्टरले ममीको डेलिभरी डियु डेट तोकी दिन्थे। वुवाले ममीलाई बनेपा लग्नु हुन्थ्यो, त्यहाँ नभए काठमाडौंको कुन्नै नर्सिङहोममा लगेर अल्ट्रा साउन्ड पनि गराउनु हुन्थ्यो होला। ममीको पेटमा छिरेका साउन्ड वेव्सले गर्भको बच्चाको लिङ्गको सस्पेन्स खोली दिन्थे। तर त्यस्तो हुन पाएन।
ममीको बढेको भुँडी देखेर सायद मनिसहरु यत्ती मात्र अनुमान लगाउन सक्थे र त भन्थे- "माइली चाँडै सुत्केरी हुन्छे।"
दशैंमा सधैं झै मनिसहरु नवरथा भरी देवीलाई पुज्थे। दुर्गाको आराधना गर्थे। यसपालीको दशैंमा भने, त्यही ठूलो भुँडीले गर्दा, दुर्गासँगै मेरी ममीलाई पनि सम्झन्थे। अझ भनौ सम्पूर्ण बन्जाराहरुको दशैंसँग खेलवाड गरिदिन सक्ने देवीकी पनि देवी-"महादेवी" बनाईदिएका थिए, ममीलाई। दशैं छेकिने टुङ्गो त थिएन, त्यसैले अल्छी गरि-गरी भए पनि देवीको पूजा गर्थे, जमरामा पानी चढाउँथे।
दशैंको रमझम र तयारी चल्दै थियो, अचानक अष्टमीको दिन विहानैदेखी ममीको तल्लो पेट दुख्न थाल्यो। नभन्दै ममीलाई त सुत्केरी व्यथा पो लागेछ। चाडवाड को बेला स्ट्रेचरमा बोकेर अस्पताल लैजाऊँ भने गाउँमा सबैलाई थाहा हुन्छ। त्यसैले घरमानै सुत्केरी गराउने निर्णय भयो। अन्तत प्रसव बेधनापछि ममीको गर्भबाट एउटा सानो पुलिङ्ग जिनिश निस्कियो। त्यसै दिन बेलुका म जन्में।
हाम्रो घरमा सबै दङ्ग थिए। म हजुरबा-आमाको सात छोरा-छोरी मध्येबाट जन्मेको पहिलो व्याज थिएँ, पहिलो नाती पुस्ता। रहरको बालक, कान्छो पराघरेको जन्मले पराघरमा बुढादेखी बालकसम्म सबै दङ्ग भए। पराघरमा भर्खर धर्तीमा पदार्पण गरेको जिनिशले ल्याएको उल्लास घर वाहिरका धेरैको निम्ति प्रिय हुने खबर थिएन।
सबै गाउँका दाजु-भाइहरुको दशैं खल्लो पार्न नहुने सोचेर घरमा सल्लाह भयो, सुत्केरो परेको कुरा हल्ला नगर्ने। हाम्रो घर माझ गाउँ भन्दा टाढा भएकाले घरमा सुत्केरो परेको कुरा २-४ दिन गुपचुप राख्नु गाह्रो पनि थिएन।
म जन्मिएकोमा सबै भन्दा धेरै खुशी भएका थिए, बुट्टे घाँगर भित्रका दुई साना मानव शारीर, मेरा फुपुहरु। मेरो जन्मले एक्कासी ठूला भएका मेरा फुपुहरुले सुत्केरोको हल्लाह नगर्ने सल्लाह बुझेनन् या आफ़्नो घरमा भाइ भएको कुरा मन भित्रै गुम्साएर राख्न तीनलाई सम्भव थिएन। भोलिपल्ट विहान झिसमिसे देखी राता बुट्टे घाँगर धारी दुई मानव आक्रिती गाउँका घर-घर पुगेछ्न् अनि सुनाई दिएछन्, "हाम्री भाउजुले त भाइ पाईन।"
म जन्मेको खबरले सम्पूर्ण बन्जाराहरुको घरमा दुर्गा पूजा रोकियो, जमरामा पानी चढाईएन, साँझको बत्ती बालिएन। जोडतोडका साथ सुरु भएको दशैंको तयारी-रमझम अचानक रोकियो, स्पीड्मा गुढीरहेको गाडीमा झ्याप्प लागेको ब्रेक जस्तै। ससुराली, माईती जान मच्चीएकाहरु मेरो जन्मसँगै खुम्चिए। मामाघर जान उचालिएका बालकका खुट्टा अचानक थचारिए। नयाँ चोली कस्न नपाएका कसैले भनिनै दिए, "माईलीले छोरो पाई, हाम्रो चाहीं दशैं खाई।" टिकाको मुखमै अचानक रोकिएको दशैंले सानो तिनो सुनामीनै ल्याईदियो। घरमा टिका लगाउन आउने नाता, कुटुम्बलाई- यसपाली दशैं छेकियो भनेर कसरी खबर पुर्उने सबैलाई आपत पर्यो।
आहिले हुँदो हो त, बुवा-ममीले छोरा जन्मेको खबर फेसबुकमा फोटो सहित राख्नु हुन्थ्यो होला। फुपुहरुले स्टाटस्मा "माई क्युट नेफ्यू" लेखी फोटो सियर गर्थे होलान्। मामा र दाइ-दिदीहरुले लाइक गर्नु हुन्थ्यो होला। फेसबुक र ट्वीटरले सबैलाई थाहा दिन्थे- पराघरमा बालक जन्मेछ, बन्जाराहरुको दशैं बिग्रिएछ। सोसिएल नेट्वोर्कमा नभएकाहरु आफन्तलाई फोन वा मोबाईल गरेर खबर गर्थे होला- "हाम्रो यसपली दशैंमा टिका लगाउन नहुने भयो।"
अप्षोच, मेरो जन्मले गर्दा दशैंका जमरा पहेंला हुन पाएनन्, बन्जाराहरुको कानमा सिहुँरिन पाएनन्, कपालमा च्यपिएनन्। पानी नपाएका जमरा, कि पुन्यमातामा बगाईए कि तुलेसामोठमा सेलाईए। बन्जाराका खलकमा सुत्केरो परेको थाहा नपाएका नाता कुटुम्ब टिका थाप्न आए तर रित्तो निधार फर्किए।
…
म जन्मँदाको साल बन्जाराहरुको दशैं रोकियो। म भने जति ठूलो हुँदै गएँ, मेरा दशैंहरु रमाईला र आविश्मरणिय हुँदै गए। मैंले अलिअली बुझ्न सक्ने भएदेखि नै दशैं मनाएँ। स्कूल पढ्दा राजेश हमालको तस्बिर भएका पोस्टकार्डहरुमा "वडादशैंको हार्दिक मंगलमय शुभकामना" लेखेर साथीहरुसँग आधान-प्रधान गर्दै मनाएँ। आफूलाई मनपरेकी केटीलाई लजाई-लजाई ग्रीटिङ् कार्ड दिई आविश्मरणिय बनाएँ। आफन्त, साथी-भाइसँग शुभकामना बाँढें। अग्रजसँग आशिर्वाद थाप्दै, घर-घर चहार्दै मनाएँ। अझ पनि मनाउँदैछु, शुभकामना साट्दै- "ह्यापी विजया दशमी टु यू अल।"