हिमालपारिको गाविस बिही–९ ड्याङकी २४ वर्षीया युवती हुन् पेमा लामा । उनी अहिले मानसिक तनावमा छिन् । वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनान बसेर फर्केकी उनलाई युवा समूहले राति जबरजस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरिएको छ। यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न मन तयार छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
दुई महिनाअघि उनी लेबनानबाट गाउँ फर्किएकी हुन्। गाउँ फर्केको चार दिनमात्र भएको थियो । लेबनानको सुख–दुःख साट्न पनि भ्याएकी थिइनन् उनले। घर फर्केको चौथो रात चकमन्न हुँदै थियो । पेमा घरमै सुतिरहेकी थिइन् । एक्कासी आठ दस जनाको दलबल आएर उनलाई तान्न थाले । आधा रात रोइकराइ गरिन् । तर उनको चित्कार सुन्ने कसले ? बलिया केटाले उनलाई जबरजस्ती काँधमा हाले । बोकेर क्रो पुर्याए । क्रो बिही गाविसको १ नं. वडामा पर्छ ।
पेमा लेबनान जानुअघि बुबा बितेका थिए । लेबनान गएपछि उनको आमाको पनि निधन भयो । घरमा दाजु–भाउजु मात्र थिए । घरबाट आफूलाई जबरजस्ती तानेर लगेको क्षण सम्झँदै उनले भनिन्, ‘घरमै बसिरहेकी थिएँ । आठ–नौजना केटाहरु आए । दाजु भाउजुलाई मज्जाले रक्सी खुवाए। अनि म सुतेको ठाउँमा आए । तानेर लगे।’