अरु वर्ष टीकाको दिन बिहान मात्र घर पुग्ने म यस वर्ष फूलपातीकै दिन बिदा पाए नि खासै उमङ्ग थिएन मनमा।
दुई महिना भन्दा लामो बन्द। एक महिना भन्दा पहिलेदेखिको नाकाबन्दी। धेरै भयो, मन बेचैन भएको।
फुलपातीको दिन नै बिदा पाएपनि घर जान खासै मन थिएन। फेरि पनि जानु त थियो नै, दसंैजस्तो चाड घरै नगई बस्ने कुरा पनि भएन। मन खल्लो बनाउँदै भएपनि घर जाने निर्णय गरेँ।
गाउँकै दाइ काम विशेषले आउनुभएको रै‘छ। दाइसँगै बाइकमा जान पाएकाले सजिलो भयो।
घर पुग्नेबित्तिकै आँगनछेउमा हेरेँ, पिङ थिएन। दाइ आउन पाएन छ बन्दले गर्दा। झनै मन खल्लो भयो। यसपालि त न दाइ न पिङ। दुईचार जिल्ला मात्रै टाढा भएपनि खासै भेट हुन्न दाइसँग। मजस्तै ऊ पनि त्यति घर आईराख्दैन। दाइसँग भेट हुने भनेको वर्षमा दुई चोटी, दसैं र तिहारमा। यसपालि त त्यो पनि भएन। झोला फ्यात्त फ्यालेर बसेँ दलानमा।
आफ्नो अधिकार लिने नाममा अर्काको अधिकार, रीतिरिवाज, धर्म सँस्कृति र चाडपर्वलाई सम्मान गर्न नसक्नेहरुलाई धिकार्न मन लाग्यो। सम्भि्कएँ तीजलाई। यस्तै नरमाइलोमै बितेको थियो २०७२ को तीज पनि। न दिदी न फुपू। बन्दले ममी पनि मामाघर जान पाउनु भएको थिएन।
तीजको दिनचाहिँ बन्द नखुलाएका आन्दोलनकारीले रक्षा बन्धनको दिनचाहिँ ‘सर्वसाधारणलाई सजिलो होस् भनेर बन्द खुलाउने निर्णय गरेको' भन्दै थिए। यो कुरा मेरो मनमा बिझेको थियो। ‘बहुजाति, बहुभाषी, भिन्नभिन्न धर्म र सँस्कृतिका खानी हामी नेपाली एकअर्काको रीतिथिति र सँस्कृतिलाई सम्मान गर्छौ' भनेर रेडियोबाट समाचार र कार्यक्रमहरुमा मैले पढेको कुरा झुठ हो कि जस्तै लाग्यो आफैलाई।
गाउँ पनि पहिलेजस्तो रमाइलो लागेन। धेरैजसो साथीहरु आएकै थिएनन्।
फूलपाती र अष्टमी त्यत्तिकै बित्यो।
टीकाको दिन हामी दिदीबहिनी (म र बहिनी) र ममीलाई बुबाले टिका लगाइदिनु भयो। अनि मैले बुबालाई लगाईदिएँ। (बुबा भन्दा जेठो मान्छे घरमा नभएकाले बुबालाई मैले नै टीका लगाइदिन्छु।
मन खुसी नभएपछि अरु सबथोक फिकाफिका हुँदोरै‘छ। घरमा आएपनि यसपालि मनमा दसैं आएकै थिएन। मनै त रैछ नि आखिर सबथोक। बहिनी पनि खासै खुसी थिइन। मन हल्का बनाउन दिदीलाई फोन गरँंे। दिदी त आउँछे कि जस्तो लागेको थियो। तर त्यसको पनि हाल उस्तै।
छोरीले फोन उठाई। उताबाट हेल्लो भन्न नपाउँदै सोधें, ‘कतिखेर हिँड्ने हो तिमीहरु?'
‘आन्टी। हामी त यसपालि मामाघर नआउने रे, ममीले भन्नुभएको। धेरै गाडीहरु चलेकै छैन रे। अनि यस्तो बन्दको बेलामा हिँड्दा मान्छेहरुले गाडीमा ढुंगा हान्छन् रे, डर हुन्छ भन्नुहुन्छ ममी त। अस्ति प्रहरीले लगेको गाडीको पनि सिसा फुटाईदिए रे। (सायद उसलाई स्कर्टिङ भन्न आएन अनि प्रहरीले लगेको गाडी भनी) ६ वर्षकी बच्ची सास फेर्न नभ्याउँदै यति कुरा भन्दैथिई। म त सुनेको सुन्यै भएछु, बोल्नै बिर्सेर। मनमनै सोंचे, जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने भएर नै हामी नेपाली भएका हौं। तर आवाज निकालेर यो कुरा भन्न सकिनँ, किनकि ६ वर्षकी सानी छोरीले यो कुरा बुझ्दैनथिई। आँखाबाट तप्प आँसु झर्यो। फोन काटेँ, दिदीसँग बोल्ने हिम्मत आएनँ। गला अवरुद्ध भयो। वर्षभर पढाईको बोझ, आफ्नो वजन भन्दा गरुङ्गो किताबका भारी, टिउसन र कोचिङ। बल्लबल्ल दसैं आएपछि हिँड्न पाउँछन्, केटाकेटी। टीकाको दिनभन्दा अगाडि नै लिन आउनु भन्ने केटाकेटी, यसपालि त टीकापछि पनि आउन पाएनन्।
बच्चाहरुलाई मामाघर भएपछि अरुथोक केही चाहिँदैन, ममीबुबा पनि बिर्सिदिन्छन् धेरैले। सम्झेर, एकफेर बेसरी रुन पाएपनि हुन्थ्योजस्तो लाग्यो, तर आँसु खसेपनि आवाज निकाल्न सकिनँ।
यी अबोध बच्चाहरुको खुशी खोसेर कुन अधिकारको कुरा गर्दैछन् हाम्रा नेताहरुले? कलिलैमा यस्तो संकट बेहोर्नु परेपछि भोलि ती बच्चाहरुको मनमा प्रतिशोधको भावना नआउँला भनेर कसरी भन्नु? तर त्यस्तो नहोस्। अढाई महिना भयो यस क्षेत्रका बच्चा विद्यालय जान नपाएको, यस्तै हो भने कसरी सक्षम बन्छन् उनीहरु? एकअर्काका खुशीलाई सम्मान गर्नुपर्दैन हामीले? हामीले खोजेको स्वतन्त्रता के हो? कसका लागि? मधेसी जनताकै लागि हो भने, मधेस ७५ दिनदेखि ठप्प छ। धेरैले दुई गाँस खान पनि पाएका छैनन्। हस्पीटल जान पाएका छैनन्। भारी बोक्न पाएका छैनन्। रिक्सा चलाउँन पाएका छैनन्। हामीले आफ्नो अधिकार माग्ने अरु विकल्प छैनन्? सबै समस्याको समाधान बन्द र हड्ताल नै हो त? आफ्नो अधिकार माग्ने नाममा अर्काको बाँच्न पाउने अधिकार हनन् गर्न पाइन्छ? अर्काको अधिकारको ख्याल गर्न पर्दैन? प्रश्नहरुको चाङ लाग्यो, मनमा। तर कसलाई सोधौं? कसले देला मेरा यी प्रश्नहरुको चित्तबुझ्दो जबाफ? म चाहन्थेँ, मधेसी नेताहरुले मधेसका समस्यालाई देशका सबै कुनामा पुर्याउन्, सबैले जान्न पाउन्, यहाँको समस्या। यो यो कारणले मधेस हेपिएको छ, यो यो कुरा आवश्यक छ भनेर आफ्ना विचार र विश्लेषणहरु लेखून्।
मेरा नेताहरुले मधेसमा झनै समस्या थपिदिए। भारी बोकेर बिहानबेलुकी हातमुख जोड्नेहरुलाई भारी बोक्न पनि दिएनन्। दुईचार हजारको व्यापार व्यवसाय सुरु गरेकाहरुलाई गरीखान दिएनन्। मधेसले खोजेको यस्तै हो त? जवाफ दिनुपर्छ नेताहरुले। यदि मधेसी नेताहरु साँच्चै मधेसको हितका लागि आन्दोलनमा छन् भने, भोलिबाटै फिर्ता लिऊन्, यो बन्द र हड्ताल। सुरु गरुँन्, नयाँ तरीकाले दबाबका कार्यक्रमहरु। मधेसीको अधिकार मात्रै होइन, नेपालीको अधिकारका लागि लडून्, एकजुट भएर। उपेन्द्र यादव र राजेन्द्र महतो तराईको मात्रै होइन, नेपालकै नेता भएको हेर्न मन छ मलाई।
यदि नेताहरुमा जाँगर छ भने मधेसका समस्यालाई देशका सबैले थाहा पाउने गरी जानकारी गराऊन्, प्रचारप्रसार गरुन्। समाधानको विकल्प प्रस्तुत गरुन्। मेरा नेताहरु, आफ्नै देशमा नाकाबन्दी गर्छु भनेर सिमानामा धर्ना बसेको होइन, दाइजो र बालविवाहको अन्त्यका लागि धर्ना बसेको हेर्न मन छ। पारिबाट देशमा केही ल्याउन दिदैनौं भनेर बाटो छेकेको होइन, दुर्गन्धित मधेसका थुप्रै गाउँ सरसफाई गर्न झाडु बोकेर हिँडेको हेर्न मन छ। यस्तो आन्दोलन थाल्ने हो भने, हामीजस्ता हजारौं युवाहरुको साथ हुनेछ तपाईँहरुसँग। आँट छ, नेताज्यूहरु?
युवाहरुले सोंच्ने बेला आइसक्यो। ‘काले काले मिलेर खाऔँ भाले'को तालमा छन्, नेताहरु। हामी फगत लडिरहेका छौं, एकआपसमा। सय रुपैयाँ लिटरको तेल हजार रुपैयाँसम्ममा बेच्न पाएका छन्, व्यापारीहरुले। २० रुपैयाँको नुन ५० रुपैयाँमा पनि बेचे। ५० रुपैयाँ भाडा लाग्ने ठाउँमा दुई हजारसम्म लिए। यस्तालाई फाइदै छ अनि को लाग्छ बन्द खुलाउन? मर्ने त आखिर निमुखा नै हुन्। एम्बुलेन्स र मोटरसाईकलको तेल झिकेर सडकमा आगो लगाउँदैमा हामीले अधिकार पाउँदैनौं। चार दर्जनभन्दा धेरै मान्छे मरे आन्दोलनमा। आफैंले थालेको आन्दोलन लथालिङ्ग छोडेर मधेसी नेताहरु मन्त्री र उपप्रधानमन्त्रीको लोभमा भोट हाल्न गए, प्रधानमन्त्री चुनावमा। न मर्नेको परिवारलाई सम्बोधन न आन्दोलनमा होमिएकाहरुलाई हामी यो यो माग पुरा गराउन भोट हाल्दैछौं भने। राजनीति भनेको मनलाग्दा जे पनि गर्न पाइने नीतिजस्तै ठाने मेरा नेताहरुले।
अब दक्षिण जाँदा उत्तरकाले गोरो भएकै कारण कुटाई खान नपरोस्, सवारीसाधन नजलाइयोस् अनि दक्षिणकाले उत्तर आउँदा कालो भएकै कारण अपमानित हुन नपरोस्। यत्ति भए पुग्छ।
सरकारले छिट्टै कदम चालोस्। अति भइसक्यो अब। समस्याको समाधान चाँडै खोजियोस्। उचित मागहरुलाई सम्बोधन गरियोस्। फेरि पनि घरमा आएको दसैंलाई मनमा सजाउन नपाउँदै बिदा गर्न नपरोस्।