‘समय कति छिटो दौडेछ’, प्रजितले उही कुरो सम्झ्यो, ‘तेह्र वर्ष।’
ठ्याक्कै तेह्र वर्ष भएछ उसले जन्मस्थान नटेकेको। अचम्म ! समय बितेको पत्तै भएन।
उसले गम्यो। अगाडि ठिंग उभिएको पहरोलाई हेर्यो। पहरो अगाडि पानीको कुवा थियो। सबैले यसलाई चिसापानी भन्थे।
उसले विस्तारै पाइला सार्यो।
गजब मिठो पानी पहरोबाट पलाएको। नाक ठोक्किने पहाडी बाटो हुँदै हिँड्ने यात्रुले घाँटी भिजाउने ठाउँ ‘चिसापानी’।
कुवा छेवैमा छ आँपको बोट। प्रजित आँपको किरै हो भन्दा फरक पर्दैन। ‘साँच्चै यो बुटोमा अचेल आँप फल्छ कि फल्दैन ? पहिला त कति फल्थ्यो, कति खाइन्थ्यो,’ उसले मनमनै गम्यो।
सायद भरियाहरूलाई यो कुरो थाहा हुनुपर्ने हो ! उनीहरू अलि पछाडि नै थिए। ऊ हिँडिरह्यो। भाइ र श्रीमती भरियाहरूलाई पछ्याउँदै आउँदैछन्। आँपको बोट सम्मुख तल फलाँखु खोलो बगिरहेछ। यो खोलोसँगै उसका स्मृति बगेका छन्।
त्यस्तै बाह्र–तेह्रको हुँदो हो प्रजित त्यतिखेर। कट्टु र पेटेभोटो लगाउँथ्यो। एकदिन पाँच–छ पाथी मकैको धोक्रो बोकेर ऊ घरबाट घट्ट लाग्यो। उतिखेर जताततै मिल थिएन। गाउँको पुछार हुँदै बग्ने खोलो यही फलाँखु थियो। फलाँखुकै पानीले उसले बोकेको मकैलाई पिठोमा परिणत गथ्र्यो।
बीच बाटोमा पानी पर्यो। ऊ सुर्तायो, मकै भिज्ने भयो। मकै छोप्ने कुनै ओडाउ थिएन। घट्ट पुग्नलाई अझै केही गम्च्याङगुम्चुङ हिलो बाटो छिचोल्नुपथ्र्यो। खेतका आलि टेक्दै जाँदा लडिने डर। ऊ डराउ“दै–डराउ“दै पाइला छिटो चाल्न थाल्यो।
घट्ट रहेको टहरो नजिकै के पुगेको थियो, गल्र्याम्म पछारियो। मकैको धोक्रो धानको रोपोमा जाकियो। घटेरो बूढोले देखेछ क्यार, फलाँखुको सुस्केरासँगै ऊ पनि करायो, ‘ओ नानी बर्बादै भयो त।’
उसले सकिनसकी पानीमा चोबलिएको धोक्रो खेतबाट बाहिर ल्यायो। घटेरो बूढाले भन्यो, ‘सातदिने झरी पर्लाजस्तो छ, तिम्रो मकै कुहिन्छ बाबु। भिजेको मकै मेरो घट्टले पिन्दैन।’ प्रजितले मकै पिनेर नलगे घरमा खाने कुराको अभाव हुने र त्योभन्दा असहज बाउले भकुर्ने कुरा घटेरोलाई बतायो। उसले अनेक बिन्तीभाउ गर्यो मकै पिनिदिन तर घटेरोले मानेन।
ओसिएको मकैलाई धुल्याउन आखिर ढुंगाको घट््टले कसरी सक्थ्यो र ? ‘च्याँख्ला पनि बन्दैन बाबु यो मकै। यहीँ छोडेर जाऊ या भोलि सुकाएर फेरि पिन्न लिएर आऊ,’ घटेरोले भन्यो।
घट्टमा मकै छाड्दा घटेरोले अतिरिक्त लाभ उठाउँछ भन्थे मान्छेहरू। प्रजित त्यही भिजेको मकै बोकेर अमिलो मन गर्दै घर फक्र्यो।
...
‘साँच्चै घटेरो बूढो अझै जिउँदै छन् कि ... !’ ऊ मुस्कुरायो।
जिन्दगीको उबडखाबड यात्रामा पहिलेका दुःख पनि सुखझैं लाग्दा रहेछन्। अनि कहिले चाहिँ सुख पनि दुःखझैं लाग्ने। दुःखको भारी बोझिलो हुने, विह्वल बनाउने। सुखको पिङ हावामा मच्चिएजस्तो, लडिन्छ कि भन्ने चिन्ताले सताइरहने।
जिन्दगीका पैंतीस बर्खा पार गरेको प्रजितले खोलापारी बाख्राको हुल पछाडि स्याउलाको मुठो च्यापेर घर फर्किरहेको वृद्धलाई देख्यो। एकछिन रोकियो।
फेरि उही ‘नस्टाल्जिया’।
बाख्राका पाठासँग कम रमाउँथेन प्रजित। एकचोटि बाख्रो गोठालो जाँदाको याद आयो। बाख्रालाई हिउँदका खालि खेतमा छोडिदिएर कट्टु फुकालेर फलाँखुमा उ छिर्यो। उसलाई त्यतिखर पौडी खेल्न उति आउँदैनथ्यो। मसानेको दहमा ऊ विस्तारै डुब्दै गयो। खुट्टा तल गाडिए। आत्तिएर बक नै फुटेन। जाङ्बुले देखेछ। हत्तपत्त आएर कपाल तान्दै बाहिर निकाल्यो। भन्यो, ‘झन्डै खुस्किनस्, स्साले।’
उतिखेर त्यो जाङ्बु शेर्पाले ननिकालेको भए ! प्रजित फेरि मुस्कुरायो।
‘के गर्दै होला जाङ्बु ?’ उसले सोच्यो, ‘भेटिन्छ कि गाउँमै ? कि ऊ पनि गाको छ दिल्ली या बम्बईतिर कमाउन ?’
गाउँको धुले स्कुलमा पढेको गरिबको छोरो प्रजित। संयोग, भाग्य, संघर्ष वा यी सबैको योगको कारण आज चोला नै बदलेको छ उसले। आइएस्सी परीक्षामा देशभरिकै उत्कृष्ट नतिजा ल्याएको प्रजितले विदेशी छात्रवृत्तिमा समेत नाम निकाल्न सक्यो। विदेशी इन्स्टिच्युटको अध्ययन पूरा गरेर स्वदेश फर्केको ऊ देशकै नामुद इन्जिनियर भएको छ। सहरमा दुइटा घर छन्। बाआमा सहरमै सरिसकेका छन्। उसका गत पाँच दसैं त विदेशमै बिते। विदेश जानुअघि पनि ऊ बाध्यता वा व्यस्तताले कहिल्यै आफ्नो जन्मघर फिर्न पाएन। यो साल भने ऊ आफ्नी अर्धांगिनीसहित दसैं मनाउन आफ्नै जन्मभूमि फि¥यो।
उ थ्याच्च बस्यो कुवा नजिकैको ढुंगामा।
‘छयास्स !’
ऊ झस्क्यो। धत्तेरी, कस्तो डर लागेको ! लोखर्के पो रहेछ।
‘देवता हुन्छन् प्रत्येक प्राणीमा’ उसले आफ्नै बाबुको उद्धरण सम्झ्यो। मुस्कुरायो। क्यामरा झिक्यो। प्यारो चिसोपानीको कुवाको फोटो खिच्यो। भरियासहित भाइ र श्रीमती केही छिनमा आइपुगे।
‘तपाईंलाई त मेरो मतलबै छैन। म झन्डै लडेर खोलामा पुगेकी,’ श्रीमती जास्मिनले लाडिएर भनिन्।
केही बेर ‘चिसो पानी’को खोँचमा सुस्ताएर उनीहरु उकालो लागे। यसपटक भने सबैलाई अघि लगाएर पछि लाग्यो प्रजित।
...
‘लौ भुल्या रहिनछ है।’
चाउरी परेको अनुहारका गौंडे काकाले प्रजितलाई झ्याम्म अँगालो हाल्दै भने।
‘बाआमालाई सहर लगेर पो बिगारिस् त बाबु,’ काकीले सुर्ताउँदै भनिन्।
‘दुलही गजबकी ल्याएछ कान्छाले’ माथ्ला टोले हजुरबाबुको प्रतिक्रिया आयो। जास्मिन के भन्नु न के गर्नुले पक्क परिन्। अक्मकाउँदै हातचाहिँ जोडिरहिन्। यतिखेर यो जोरजाम र तामझामसहितको टोली गुराँसे गाउँको मुखैमा पुगेको थियो।
प्रजितको पुख्र्यौली घरमा अहिले उसकै काकाकाकी बस्थे। घर भन्नु के उही जस्तापाताको जोरजाम।
गाउँ छिर्ने गौंडानेरै उभिएको बडेमाको पिपलको रुखको पिङमा बच्चाबच्ची झुम्मिराखेका थिए। अहा ! प्रिय ‘लठारे’ पिङ। बच्चाहरु पिङकै लागि लठारिराखेका थिए। काकाको छोरो दर्शन पनि ढाका टोपीमा ठाँटिएर प्रजितलाई स्वागत गर्न गौंडोमै आएको रहेछ। कति सुहाएको उसलाई त्यो टोपी ? उमेरले भर्खर अठार प्रवेश गरेको ऊ घरनजिकै भर्खरै स्थापित समता प्राथमिक विद्यालयमा पढाउँदो रहेछ।
‘होइन को हो यो ? जाङ्बु होइन ?’ प्रजितले जाङ्बुलाई नै सोध्यो।
मुन्टो हल्लाउँदै जाङ्बुले भन्यो, ‘हो त नि, बिर्सनु भयो कि क्या हो ?’
‘तपाईं सपाईं होइन, ओए प्रजिते भनेर बोला त’ प्रजित रन्कियो।
जाङ्बुले पनि भन्यो, ‘हुन त हिजोअस्ति सँगै बाख्रा गोठालो जाने साथी नै त हो नि, तैपनि... ?’ दुई जनाले अंगालो मारे।
प्रजितको आँखा ओसिलो भयो। जाङ्बु अचेल गाउँमै डकर्मीको काम गर्दोरहेछ। गाउँमा अचेल सडक पुगेछ। सडक बनाउने र भूकम्पको प्रकोपका कारण बनका रुख भने सखाप पारिएछन्। घरघरमा ‘सडक तान्ने प्रतिस्पर्धा’ चलेको रहेछ। अलि बलिया पाखुरा भएकाहरू गाउँमा विरलै बाँकी रहेछन्। धेरै अरब, मलेसिया र दिल्ली बम्बई गएका। ठूलाघरेका छोरो त अस्ट्रेलियासमेत पुगेका छन् रे।
...
फूलपातीको दिन। अघिल्लो दिनको यात्राको थकाइले जास्मिन लोथ थिइन् तर बिहान सबेरै उठ्यो प्रजित। कुनै बेलाको नास्तिक उसलाई खै के रौस चल्यो, मन्दिरतर्फ लाग्यो।
घरमाथि डाँडामा शिवको मन्दिर थियो। अहिले शिवनजिकै बुद्ध थपिएछन्। दुवै मुर्तिमा उसले श्रद्धापूर्वक शिर निहुराएर ढोग्यो। डाँडाबाट अलि तल बाटोमा हर्केको चिया पसल छ। पसलको एकपाखो भूकम्पले लगे पनि बाटापट्टिको कोठा केही नभएको। त्यहीँ पस्यो ऊ।
चिया दानीबाट फुरफुर बाफ निक्लिरहेको छ। जितमान र मंगले ‘टेबल’मा उपरखुट्टी लाएर बसिरहेका छन्। दुवैले प्रजितलाई झुकेरै नमस्कार गरे। पसले आफ्नै धुनमा थियो।
गाउँका बूढापाकाजति प्रायः सबैलाई चिन्ने प्रजित अल्मलियो। दुई धमिला आँखाले प्रजितलाई ठम्याउन खोजे। प्रजितले पनि अनुमान लगाउन खोज्यो। चकटीमा बसेका बूढाले फर्किएर प्रजितलाई हेरे।
अप्ठ्यारो मान्दै प्रजितले भन्यो, ‘मैले त चिनिनँ।’ उतापट्टिबाट जवाफ आयो, ‘कान सुन्दिन बाबु , प्रजित होइनौ तिमी ?’
लौ, उनै घटेरो बूढो पो रहेछन्। बुढ्यौलीले गर्दा कान पनि नसुन्ने भइसकेछन्। गति पनि घिनलाग्दो भएछ। घट्ट बन्द भएपछि यिनी यतै गाउँमै माग्दै जीवनको गुजारा चलाइरहेका रहेछन्।
उसले चियापसलको मोठबाट तुलसीको पात टिपेर पसलेलाई दिँदै भन्यो, कालो चियामा यो हालेर पकाउनुस् त। एकैछिनमा तयार भयो। यसमा आफ्नै माटोको सुगन्ध मिसिएको थियो। उसलाई तत्कालै खोइ के सुर चल्यो, गोजीबाट ५ हजार निकालेर घटेरो बूढोलाई थमायो।
‘यिनलाई बाँचुञ्जेल चाहिने खर्च मै हाल्दिन्छु हर्के दाइ। यो चाहिँ यिनको दसैं खर्च भो।’
चियाको पैसा तिरेर प्रजित पसल बाहिर डाँडामा निक्लियो। कलिलो घामको जलप डाँडामा प्रकट भइसकेको थियो। भित्र हर्केको नाति कराइरहेको थियो, ‘हजुरबा, यो दसैंमा म मासु नखाने। हाम्रो मने (खसी) नकाट्ने। उसलाई नि दुख्छ। नाइँ नकाट्ने।’
यतिखेर हर्केको चिया पसलमा रहेको पुरानो ‘नेसनल पानासनिक’ रेडियोमा जगत र जीव कल्याणको सन्देश बोकेर मालसिरी बजिरहेको थियो।