‘नमुछे आमा दहीमा टीका'

  • Get News Alerts

‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ।
 
झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठले गाएको ‘आमा तिनीहरुले जेसुकै भनून्।।’ होस्, कृष्णभक्त राईले गाएको ‘नमुछे आमा दहीमा टीका’ होस् वा अरू कुनै, मलाई यस्ता गीत सुन्दा दसैंकै सम्झना आउँछ।
 
हुन पनि यी शब्द सुनेर नरुने आमा कमै होलान्।
 
यी तिनटै गीत मैले दसैंताका नै सुन्ने मौका पाएको हुँ। झलकमान गन्धर्वको गीत सुन्दा मैले ‘आमा’ को मर्म बुझ्दैन थिएँ। असोज महिना परालको दाइँमाथि राखिएको रेडियोमा घन्किएको गन्धर्वको स्वर ‘दसैंमा मात्र बज्ने’ होला भन्ने बुझेँ। त्यसैले, यो गीत दसैंजस्तै मेरो दिमागमा सेट भएर बस्यो।
 
२०५८ तिर जस्तो लाग्छ, सम्झना त्यति निर्मल छैन। यो संसारलाई आँखाले देख्न नसकेका गायक कृष्णभक्त राईको स्वरमा मैले ‘नमुछे आमा दहीमा टीका, नछरे जमरा’ बोलको गीत रेडियोमा सुनेँ।
 
यो गीतको बिट जति मर्दै गयो मेरा आँखामा आँसुको प्रवाह उत्तिकै वेगले बढ्दै गयो। दसैंको समय थियो क्यार, रेडियोमा घरिघरि यही गीत दोहोरिन्थ्यो। 
 
त्यो दिनभरि मेरा आँखाले सुविस्ता पाएनन्। 
 
मैले जान्ने भएदेखि मुश्किलले दुईवटा दसैं ‘दसैं’का रूपमा मनाएँ हुँला। बाँकी सबै दसैं देखेको मात्र छु। दसैं मनाउनु र देख्नुमा फरक छ। पहिलोपटक दसैं मनाएको झलकमान गन्धर्वको गीत सुन्दै परालको दाइँ हालेको वर्ष नै हो। ‘ठूलो भएस्’ भनेर बाले लगाइदिएको टीकाको अर्थ यत्तिसम्म बुझेँ– म सानै छु, बा म चाँडै ठूलो भएको हेर्न चाहनुहुन्छ। 
 
त्यसपछिका वर्ष पनि पक्कै दसैं दोहोरिए होलान्। समय त किन रोकिन्थ्यो र!
 
२०६४ सालमा बासँग दोस्रोचोटि दसैंको टीका लगाउन पुगेँ। बाको नाडी गलेको थियो। बालाई बढ्ता प्रेम जरुरी परेको देखिन्थ्यो। उहाँले ‘ठूलो भएस्’ भन्ने आशिष दिनुभएन। जीवनको उत्तराद्र्धमा बालाई पनि आमाको अभावले घोचेको हो कि भन्ने अनुभव गरेँ।
 
घर सामुन्नेको बाटो अघि बढिरहेका माओवादी कार्यकर्ताले बोकेको रेडियोमा दिप श्रेष्ठको ‘आमा तिनीहरूले जेसुकै भनून्’ भन्ने गीत बजिरहेको थियो। दोस्रोचोटिको दसैंको टीकालाई गीतले बिथोलेर गयो।
 
दसैं मनाउन कम्तीमा मेरो बुझाइमा आमा हुनुपर्छ। अनि बाँकी परिवार हुनुपर्छ, जसरी तिहारमा टीका थाप्न दिदी–बहिनी वा दाइ–भाइ हुनुपर्छ। त्यसैले, दसैं जति नै रंगीन भएर आओस् मेरो लागि खास अर्थ राख्दैन।
 
२०५२ सालको दसैं मैले सुर्खेतको इतराम खोलामा मभन्दा अग्लो डोकोमा भरिएको खण्ढेथाल माझेर बिताएँ। टीकाको त्यो दिन मैले एक डोको खण्डेथाल आँसुले पखालेँ वा इतराम खोलाको पानीले, त्यसको हिसाब मेरो मनैमा छ। म यत्ति चाहन्छु, त्यो दिन जीवनमा कहिल्यै बिर्सन नपरोस्।
 
त्यो बालापनमा खण्डेथालभरी बगेको आँसुको साक्षी इतराम खोलामा अझै बग्दैछ होला!
 
सकभर कहीँकतै पाहुना लाग्दा खण्डेथालमा खान नपरोस् भन्ने इच्छा लाग्छ मलाई अहिले पनि। कहीँकतै होटलमा खण्डेथालमा जब खाना आइपुग्छ तब सम्झन्छु ‘भान्छा पछाडि यी थालमा कम्तीमा कसैको आँशु नपोखिएको होस् मेरो जसरी।
 
जब म बोल्न सक्ने भएँ, जब दुई–चार जना उभिएर मेरो कुरा सुन्ने भए मैले जहिले पनि दसैंका नाममा गरिने ठूला ‘पार्टी’को विरोध नै गरेँ। दसैंतिहार मात्र होइन, विवाह र भोज–भतेरका पार्टीमा पनि मलाई खाना खाउन्जेल सकस हुन्छ। सियोको टुप्पोले जस्तो मनभित्र घोचिरहन्छ बारम्बार। ‘हे भगवान यी प्लेटमा कसैको आँशु बगेको नहोस्।’
 
२०५३ सालको दसैं पनि सुर्खेतमै बिताएँ। एउटा कुल्फी सित्तैमा खान दिने सर्तमा साहुले दिनभरी कुल्फी बेच्न पठाए। उनले दिने भनेको कुल्फीसँग मैले मेरो दसैंको टीकाको साइत साटेँ। टीकाको दिन आफ्नो उमेरका धेरै परिवारका केटाकेटीलाई उनीहरूको खुसी मिसिएको पैसासँग मैले मेरो पिडा मिसिएको कुल्फी बेचेँ।
 
असोज महिना थियो। साँझ–बिहान मन्द चिसो भए पनि मध्याह्न चर्को घाम लाग्थ्यो। घामले जमिन तातिएपछि खुट्टा पोल्न थाले। खुट्टामा प्लास्टिक बाँधेर घर–घर चहारेँ। साहुले दिने बाचा गरेको कुल्फीको आशा मनभरी जीवितै थियो। म घरघर चहारी नै रहेँ। साँझ ३५ वटा ‘कुल्फी’ बेचेर सकाएँ। र, अन्त्यमा साहुले खान दिएको एउटा कुल्फी समातेर सुर्खेत बसपार्क नजिकको पर्खालमा अडेस लाएँ।
 
आँखाबाट बग्दै गरेको आँशुले आधा कुल्फी पग्लिएर घाँटीसम्म पुग्यो। आँशु मिसिएर कुल्फीको स्वाद नुनिलो बन्यो। आँशुको स्वाद नुनिलो हुन्छ मैले त्यही बेला थाहा पाएँ। तीन फिटजति चौडा ‘ग्याविन’ बाँधेको पर्खालमा म कतिखेर निदाएछु पत्तो पाइन।
 
२०६३ असोजमा म उनै साहु खोज्दै सुर्खेत पुगेको थिएँ। सायद मेरो बालापनका केही सवाल बाँकी नै थिए। अथवा, अलिकति उनीसँग प्रेम पनि थियो। 
 
माओवादी द्वन्द्वका कारण गाउँबाट बढेको बसाइँसराइँले सुर्खेत ठूलो सहर बनिसेकको थियो। खुट्टामा प्लास्टिक बाँधेर मैले चहारेका घर मेरो स्मृतिबाट कसरी हराए होलान्। मैले ती घरलाई पहिल्याउन सकिनँ। ती साहुजीलाई खोज्न सकिनँ।
 
र, पनि हरेक वर्ष दसैंमा मलाई तिनै साहुजीको अनुहारले छपक्क छोप्छ। ‘साउजी तपाईँको बलले जितेको भए म भारत पुग्ने थिएँ। मेरो बालापन साट्दै म कुल्फी बेचेर जिन्दगीको अध्याय पार लाउँथेँ सायद। नाफाको पैसा भाग लाउँथेँ होला कसैसँग अनि घाटा जति बेहोर्थें होला भाग्य सम्झेर। तर मेरो भाग्यले जित्यो। त्यसैले म हिँड्ने बाटो र मेरो कर्म बदलियो।
 
र पनि, दसैंमा तपाईंको घरमा थापेको टीकाले मेरो निधार रंगिएपछि म सधैं ऋणी छु तपाईँको। त्यसैले तपाईँलाई खोज्दै २०६३ सालमा सुर्खेत पुगेको थिएँ।
 
त्यस पछिका वर्ष आउने ‘दसैं’ फगत वर्षमा एकचोटि आउने मितिका रुपमा मात्र बुझेँ मैले। दसैं आएको र गएको पत्तो भएन। विस्तारै दसैंको स्वाद लाग्न छाड्यो। मनलाई सम्झाउन थालेँ, ‘कोही नहुनेका लागि जुन दिन मन खुस त्यो दिन बडा दसैं।’
 
दसैंमा आमाले मुछेको टीका लगाउने रहर कहिल्यै पुगेन। तर, जिउँदो रहेका बाले पनि टीका लगाउन पाउने अधिकारबाट धेरै वर्ष टाढै बस्न पर्यो। र, पनि दसैं चल्दै रह्यो। गएको दसैंपछि बा बिते। र, बाको मृत्युसँगै मैले दुईचोटि मनाएका दसैंका रंग पनि मेटिए।
 
आमाले कहिल्यै टीका मुछेको भेटिनँ र भेट्ने पनि छैन। र, पनि गायक कृष्णभक्त राईलाई गुनगुनाउन मन लागिरहन्छ ‘नमुछे आमा दहीमा टीका ...’

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट