चार दिनअघि त हो चिठी हात परेको। यस्तो लाग्दैछ म टन्टनाएको पिलो बोकेर चार जन्मदेखि भौंतारिँदैछु।
दिनहुँ दसचोटि ओल्टाइपल्टाइ हेर्छु। खाम च्यात्न खोज्छु। हात थर्थर कामेर आउँछ। फेरि झोलाभित्रै घुसार्छु।
चिठी कल्लाई पुर्याउने थाहा नभएको होइन। खामकै दाहिने कुनामा लेखिएको छ, प्रापकको नाम।
यो नवनिर्वाचित प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीको नाममा आएको चिठी हो, सुखानीबाट।
पठाउने व्यक्तिले पो मलाई बिथोल्यो त यतिका दिनदेखि!
...
‘दाइ काँसम्म जाने हो?’
शनिश्चरेबाट दानाबारी जाँदै गर्दा सँगसँगै हिँडिरहेका मानिसलाई मैले सोधेँ।
‘सुखानी,’ उनले छोटो जवाफ दिए।
सुखानी त्यही बीचमा पर्ने सालको घना जंगल भएको ठाउँ हो। इलाम र पाँचथरका मान्छे पहिले नुन बोकेर यही बाटो शनिश्चरे जान्थे रे। अझै पनि यहाँ डाँका लाग्छन् भनेर सितिमिति मान्छे हिँड्दैनन्।
त्यस दिन अलि अबेर भएकाले मैले गाडी समात्न भ्याइनँ। डरले थुरथुर काम्दै भए पनि जंगलको बाटो नछिचोली धरै भएन।
खुदुनाबारीको पट्यारलाग्दो तेर्सो हिँडिरहेका बेला आफूजस्तै एक्लो बटुवा भेटेपछि बल्ल मेरो हिम्मत बढ्यो। तर के अचम्म! म जति फटाफट हिँड्थे, उनी उति छिटो पाइला चाल्थे। मानौं, मेरो पिछा छुटाउन खोज्दै छन्।
केही सीप नलागेपछि पछाडिबाटै आवाज दिएँ।
उनको तेज गतिले लागेको थियो, दानाबारी नै जाने होलान्। सुखानी पो जाँदै रैछन्!
बस्तीको नाममा एउटा झुपडी पनि नभएको त्यो जंगलमा के गर्न जानुपरेको होला यिनलाई? त्यसमाथि यो रातमा! यति हतारिँदै!
म छक्क परेँ।
‘केका लागि दाइ सुखानी?’
‘रामनाथ बाजेलाई भेट्न,’ उनले मेरो मुखै नहेरी जवाफ दिए।
म दौडेर उनको समिप पुगेँ।
कालो अनुहार। चिम्सा आँखा। थेप्चो नाक। जिङरिङ्ग कपाल र झुस्स दारीले बडो फोहोरी देखिन्थे। हाडछाला मात्रै बाँकी थियो उनको ज्यान। उसै परे एक–एक हड्डी गन्न मिल्ने। अलिअलि रगत नसाबाट बगिरहेको पनि भेउ पाइने। लुगाका नाममा माथि पातलो स्यान्डो भेस्ट लगाएर मुनि उस्तै पातलो गाम्छा बेरेका थिए। मेरा आँखा उनका गोडातिर गए। खालि खुट्टा हिँडिरहेका रहेछन्।
मैले निकैबेर एक शब्द बोल्न सकिनँ। उनी पनि केही बोलेनन्।
निर्जन जंगलमा हामी सँगसँगै हिँडिरह्यौं, बस्!
‘को रामनाथ?’ अलि बेरमा साहस बटुलेर सोधेँ।
’ए चिन्नुहुन्न? भैगो,’ उनले टार्न खोजे।
जंगली क्षेत्र भएकाले काठ तस्करको बिगबिगी छ भन्ने सुनेको थिएँ। मैले त्यही शंका लागेर सोधेँ, ‘बेपारसेपार गर्नु हुन्छ कि कसो?’
मेरो प्रश्नले उनको निधारमा मुजा परे। आँखीभौं तन्किए। चिम्सा र चिसा आँखा एकाएक ठूला र ताता भएर आए।
‘म बेपार गर्नेजस्तो देखिन्छु! दलालजस्तो देखिन्छु!’ उनको हिँडाइको गति घट्यो, स्वरको गति बढ्यो, ‘गरिब जनताको शोषण गर्ने बेपारीजस्तो देखिन्छु म!’
उनको रौद्ररुप देखेर म झन् छक्क परेँ।
‘त्यसो भए केका लागि त सुखानी जंगल?’ मैले शान्त भएर सोधेँ।
‘भनिहालेँ नि, रामनाथ बाजेलाई भेटुम् भनेर!’
‘को रामनाथ? त्यहाँ त कुनै बस्ती छैन।’
‘रामनाथ दाहाल बाजे,’ उनी अघिभन्दा अलिकति खुले, ‘हाम्रा नेता हुन्।’
‘तपाईंको नेता? कुन पार्टीका हुन् यी?’ मैले फेरि सोधेँ, ‘पुष्पकमल दाहालकै पार्टीका हुन् कि क्या हो?’
‘होइन, अर्कै पार्टीका,’ उनले झिँजो मान्दै जबाफ दिए।
‘कुन त?’
‘कम्युनिस्ट पार्टीका।’
‘कुन कम्युनिस्ट पार्टी?’
‘अहिले बाँचेको कम्युनिस्ट पार्टी यही एउटा त हो नि। अरूको त के कुरा गर्नु! रायामाझी दरबार पसिहाले। पुष्पलालले केही गर्न सकेनन्। बाँकीलाई आफूआफूमा लडाइँ गर्दै ठीक्क छ।’
उनको कुराले मलाई थप रहस्यमा तान्यो। पुष्पकमलको सट्टा पुष्पलाल र भट्टराईको सट्टा रायामाझीको कुरा गर्ने यी मनुवा कुन जमानाको कम्युनिस्ट पार्टीको कुरा गर्दैछन्!
‘माओवादी त जंगलबाट सहर छिरिसके, तपाईंका यी नेता के अझै भूमिगत छन्?’ मैले भनेँ, ‘सुखानीमै लुकिरहेका छन् कि क्या हो?’
‘अँ! त्यस्तै।’ उनले संक्षिप्त जबाफ दिए, कनीकनी। ‘भूमिगत’ नेताको रहस्य भने अझै ओकलेनन्।
गणतन्त्रको युगमा भूमिगत नेताको कुरा सुनेर मलाई खपिनसक्नु भो। जति सम्हाले पनि मेरो मुखबाट खितखित हाँसो छुटिहाल्थ्यो।
‘अनि किन भेट्न लाग्नु भा’ त बाजेलाई?’
‘दुख्ख बिसाउन, नबुझेका दुईचार कुरा सोध्न।’
‘रातबिरात जंगलको बाटो धाएर के दुख्ख बिसाउनुपर्यो नि त्यस्तो,’ उनी जति तर्किन खोजे पनि मैले जिज्ञासु विद्यार्थीजस्तो प्रश्न सोध्न छाडिनँ।
‘अब अहिले भनेर के साध्दे,’ उनी टक्टकिन खोजे।
‘हैन भन्नुस् न, जंगलको पट्ट्यारलाग्दो बाटो पनि कट्छ,’ म टाँस्सिइरहेँ।
‘हाम्रो सत्ता आएपछि जनताको शासन हुन्छ भन्थे,’ उनले बल्ल मनका पिटारा खोले, ‘गरिबले दुख्ख पाउनुपर्दैन भन्थे। खै पटक–पटक हाम्रो सरकार बन्यो, कहिल्यै सुख्ख पाइएन। दुख्ख झनझन् बढिराछ। के भएर यस्तो भो सोध्न मन लाग्यो।’
त्यति बेलासम्म टाङटिङ खोलाको पुल तरिसकेका थियौं हामीले।
उनी भन्दै थिए, ‘जमिन किसानको हुन्छ भन्थे। म पनि किसानै हुँ, घडेरीबाहेक एकटुक्रा जमिन छैन मेरो नाममा। शिक्षा, स्वास्थ्य सप्पै सरकारले जिम्मा लिइदिन्छ भन्थे, आधा जमिन र श्रीमतीले रहर गरेका सप्पै गहना छोरो पढाउँदा सकिए। सरकारले रोजगारको ग्यारेन्टी गर्छ भन्थे, छोराले बिकम पढेर नि जागिर पाएन। मेरो छोरो शम्भु तपाईंजत्रै भइसकेको छ।’
हिँडाइ र बोली सँगसँगै रोके उनले। मतिर चाहिँ हेरेनन्। आकाशतिर टोलाइरहे, निकैबेर।
म पनि मौन रहेँ। के भन्ने! के सोध्ने!
मौनता उनैले तोडे।
‘क्रान्ति त भएकै हो। क्रान्ति नभएको भए पार्टी सत्तामा नजानुपर्ने। तर क्रान्तिपछि गर्नुपर्ने कुनै काम भएको छैन। हाम्रो पार्टीको सरकारले पनि पञ्चेतले नै गर्ने काम त नगर्नुपर्ने। दलाल र सामन्तको पक्षमा काम नगर्नुपर्ने। शोषित र उत्पीडित वर्गका लागि काम गर्नुपर्ने। खै त्यसो गरेको? मैले नबुझेको यही कुरा रामनाथ बाजेलाई सोध्नुपर्यो।’
‘तपाईंको पार्टी सरकारमा अनि रामनाथ भूमिगत?’
‘यो पार्टी जन्माएकै रामनाथहरूले त हो। हामी पनि थियौं ऊबेला!’
‘अहिलेचाहिँ किन सुखानी बसेका त, आफ्नै पार्टी सरकारमा भएका बेला?’
‘अँ उनी त्यतै बस्छन्,’ उनले फेरि टारे।
मैले कोट्ट्याइनँ।
निकैबेर हाम्रा गोडाका चाप मात्र बोलिरहे। पर खोला सुसाएको आवाज मात्र आइरह्यो। रातको समय कीराहरूको झ्याउँझ्याउँले कान खाइरहेको थियो।
अलि परै पुगेपछि मैले साहस गरेर सोधेँ, ‘यी रामनाथ दाहाल भन्नेको त मैले कतै नामै सुनेको छैन नि!’
उनले चाल नरोकी पुलुक्क मतिर हेरे। कालो अनुहारमा पहेँला दाँत टिलिक्क टल्किए।
‘रामनाथ बाजेको नाम नसुन्ने तपाईं निकै पछिको पुस्ता पर्नुभो। पञ्चेतकालको कुरा तपाईंलाई था हुन्न र मत्रै हो। पञ्चेतकालमा रेडियो सुन्ने सबै नेपालीलाई था छ उनको नाम?’
‘को हुन् त दाइ उनी?’ मैले लत्तो छाडिनँ।
‘२८ सालको क्रान्तिमा हाम्रा नेता उनै त हुन्। उनकै नेतृत्वमा हो हामीले वर्गशस्त्रु सफाया अभियान चलाएको।’
मैले बल्ल बुझेँ।
‘ए! दाइ पनि झापा आन्दोलनको सिपाही?’
‘यी रामनाथ बाजेले नै भनेर लागेको हुँ। उनी भन्थे, कम्युनिस्टको सत्ता आएपछि धनी–गरिब भन्ने हुँदैन। सबै समान हुन्छ। जातपातमा थिचोमिचो हुँदैन। खै त? पार्टी सरकारमा पुगेर नि सबै उस्तै छ।’
‘को को हुनुन्थ्यो त्यो बेला?’
‘रामनाथ बाजे, नेत्र घिमिरे, कृष्ण कुँइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठहरू थिए। राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनालीको नाम त तपाईंले सुन्नुभएकै होला?’
‘सुनेको छु। आरके र सिपी मैनाली होइन त?’
‘हो नि। खड्ग ओली पनि थिए। अरू पनि धेरै थिए। बिर्सि पो सकेछु हौ अब त।’
‘ए! दाइ त पुरानै कम्युनिस्ट पो हुनुहुँदो रहेछ। कति उमेर भो?’
‘६० नाघिसकेँ।’
‘के के गर्नु भो त झापा आन्दोलनमा?’
सुनसान जंगलमा उनको हाँसो गुञ्जियो।
‘के के गरिएन भन्नुस् न!’
उनको शिर ठाडो हुँदै गएको मैले अँध्यारोमा पनि प्रस्टै देखेँ। उनको छाती फुलेको बुझ्न मैले इन्चीटेप लिएर नाप्नै परेन।
‘सामन्तहरू मारियो,’ भन्दै थिए, ‘उनीहरूकोमा भएको अन्न किसानलाई बाँडियो। राति हामी बैठक बस्थ्यौं, रामनाथ बाजेले बोलाएको ठाउँमा। त्यसपछि कुन सामन्तको सफाया गर्ने भन्ने टुंगो लाउँथ्यौं। राति नै त्यसको घर पुग्थ्यौं। त्यसलाई माथ्र्यौं। उसकहाँ भएको अन्नपात किसानलाई बाँड्थ्यौं।’
एकछिन रोकिए। टोलाए। फेरि भने, ‘रामनाथ बाजे भन्थे, किसानको पसिनाले फलाएको धान आफ्नो भकारीमा थन्क्याउने अधिकार यी समान्तसँग छैन। यो किसानको सम्पत्ति हो।’
‘अरू के भन्थे?’
‘भन्थे हाम्रो देशको नीति ठीक छैन। जसले पसिना बगाउँछ, जमिन पनि त्यसकै हुनुपर्छ। काम गर्ने भोकभोकै पर्ने, कामै नगर्ने सामन्तले बसीबसी खाने व्यवस्था हो यो भन्थे। उनी पञ्चेत र राजालाई पटक्कै मन पराउँदैनथे। जमिन्दारलाई पनि। उनी त्यस्तालाई वर्गशत्रु भन्थे। वर्गशत्रु सफाया अभियान चलाएका हौं हामीले। तर मान्छे मार्न सजिलो हुँदो रैनछ भाइ।’
उनले फेरि थपे, ‘हाम्रो कामले सारा जमिन्दारको मुटु काँपेको समय थियो। तर पञ्चेत लागिहाल्यो। सब तितरबितर भो।सरकारै लागेपछि हामीले केही गर्न सकेनौं।’
‘अनि?’ मेरो उत्सुकता झनझन् बढिरहेको थियो।
‘एकदिन खड्ग ओलीलाई लिएर रामनाथ बाजे कतैबाट घर फर्किँदै थिए। उनको घरमा निकै मान्छे भेला भएको परैबाट देखेछन् बाजेले। बाजेलाई केही अनिष्ट हुन आँटेजस्तो लागेछ। मनमा चिसो पसेछ। खड्गलाई त्यहीँ बस्दै गर्नू भनेर बाजे घरतिर गएछन्। घरमा पञ्चेतका पुलिस पुगिसक्या रान्। बाजेलाई समातिहाले। रामनाथ बाजे नै पञ्चायतको फन्दामा परेपछि हामीले के गर्नु? हामी सबैलाई बाटो देखाउने उनै थिए।’
‘अनि के भयो?’ म परीकथा सुनिरहेको बालखाजस्तो प्रश्नमाथि प्रश्न सोधिरहेको थिएँ।
‘पञ्चेतले रामनाथ बाजेलाई मात्र होइन, हाम्रा थुप्रै कमरेडलाई समात्यो। केही महिना भद्रपुर जेलमा राखेपछि एकदिन रामनाथ बाजे, नेत्र घिमिरे, कृष्ण कुँइकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई इलाम जेल सरुवा गर्ने भनेर यही बाटो इलामतिर लगेछ। सुखानी जंगल आइपुगेपछि पाँचै जनालाई गोली हानेर मारेछन्। उनीहरू सप्पै सहिद भए। पछि पाँचै जना कमरेडलाई मारेको ठाउँमा एक–एकवटा साल उम्रियो। निकै ठूला भएका छन् ती सालका रुख अहिले। म तपाईंलाई देखाउँछु नि भाइ त्यहाँ पुगेपछि।’
‘त्यतिबेलै मारिएका मान्छे कसरी भेट्नुहुन्छ त अनि?’ म घोर आश्चर्यमा परेँ।
उनले मेरो प्रश्नको जबाफ दिएनन्। मेरो अनुहारतिर हेरे, फिस्स हाँसे।
हामी उनले भनेको ठाउँ पुग्नै आँटेका थियौं।
‘त्यसपछि तपाईंहरूको आन्दोलन के भयो त दाइ?’ छुट्टिने बेला हुन लाग्यो भनेर मैले फटाफट सोधिहालेँ।
‘कोही झापा छाडेर भागे, धेरै जेल परे। बाहिर रहेका अरू कोअर्डिनेसन केन्द्रमा सामेल भए। इलामका झलनाथ खनाल, रत्न बान्तवा, मोरङका माधव नेपालहरूसँग मिलेर कोअर्डिनेसन केन्द्र बनाए। मदन भण्डारी पनि त्यसैमा थपिए। उनीहरूले हामीले जस्तो हतियार उठाएनन्। हतियार उठाउने कि नउठाउने भन्नेमा लामो समय बहस गरे। लास्टमा शान्तिपूर्ण रूपमै आन्दोलन अघि बढाए। सम्झिँदा त ठीकै गरेका हुन् कि जस्तो लाग्छ। पछि यही कोअर्डिनेसन केन्द्रलाई माले पार्टी बनाएका हुन्। म पनि मालेको कार्यकर्ता हुँ। अहिले त एमाले भन्छन्।’
अनि मलाई हेरेर सोधे, ‘बाबु कहाँसम्म जाने हो?’
‘दानाबारी।’
‘झापा आन्दोलन थाहा नपाउने भनेपछि तपाईं दानाबारीको मान्छे त पक्कै होइन होला?’
‘म काठमाडौंबाट आएको।’
‘कहिले फर्कनुहुन्छ?’
‘भोलि नै फर्किन्छु।’
‘कतिबेला फर्किनुहुन्छ?’
‘बिहानै।’
‘ए! राम्रो। मैले पनि काठमान्डु जाने मान्छे खोजिरहेको थिएँ। भोलि फर्किँदा बाटामा मलाई देख्नु भो भने बोलाउनु होला। म पर्खिराख्छु।’
‘हुन्छ नि दाइ, केही काम थियो कि?’
उनी केही बोलेनन्।
हामी सुखानी जंगलको त्यही ठाउँ आइपुगेका थियौं, जहाँ पाँच क्रान्तिकारीलाई पञ्चायतले गोली ठोकेर मारेको थियो।
हाम्रो देब्रेपट्टि सुक्न लागेको सुखानी खोलो बगिरहेको थियो। यो एउटा खहरे हो। दाहिनेतिर सानो पार्क बनाइएको रहेछ, सुखानी सहिद पार्क। नजिकै स्वागतद्वार पनि थियो।
उनले मलाई त्यहाँ भएका पाँचवटा सालका रुख देखाए। एउटा रुखतिर औंला तेस्र्याउँदै भने, ‘उहाँ रामनाथ बाजे, कमरेड रामनाथ दाहाल।’
खै कुन प्रेरणाले हो, मैले नमस्कार गरेँछु।
उनले भने, ‘कमरेडलाई नमस्ते होइन लालसलाम गर्ने हो।’
मैले एउटा हात कसेर मुठी बनाएँ अनि निधारमाथि लगेँ।
उनी अरू रुखको पनि परिचय दिन थाले, ‘उहाँ कमरेड वीरेन राजवंशी, उहाँ कमरेड नेत्र घिमिरे, उहाँ कमरेड नारायण श्रेष्ठ, उहाँ कमरेड कृष्ण कुँइकेल।’
साँझ छिप्पिँदै थियो। दानाबारी पुग्न अझै लामो बाटो बाँकी थियो।
मैले बिदा मागेँ।
‘दानाबारी कहाँ पुग्नुपर्ने हो?’ उनले सोधे।
‘शुक्रबारे बजार।’
‘टाढा छैन। नआत्ती गए हुन्छ,’ भने, ‘अलि अगाडि ज्यामदार आउँछ। त्यहाँबाट त नजिकै हो शुक्रबारे बजार।’
म टाउको हल्लाएर हिँडे।
मेरा मनमा अनेक तर्कना आउन थाले। यो अँध्यारोमा मान्छे मारिएको ठाउँ चहार्ने यी मनुवा को होलान्? के यी पागल हुन्? कुरा गराईमा त सध्दे नै थिए!
मनमनै ठम्याएँ, जिन्दगीभर राजनीतिमा होमिएका यिनी जीवनको उत्तरार्द्धमा घोर दु:खले पेलेपछि दिमाग सड्कियो होला! साथीहरू सत्तामा पुग्दा पनि आफू रित्तो हात बस्नुपरेकाले निराशामा डुबेर यस्तो भएको हुनसक्छ!
अलि पर पुगेपछि पछाडि फर्किएँ।
अन्धकारमा उनी उही रामनाथको रुखमुनि झोक्राइरहेको धमिलो दृश्य देखियो।
भोलिपल्ट म त्यही बाटो फर्किएँ। झल्झल्ती उनकै तस्बिर आँखामा नाचिरहेको थियो।
टाङटिङ पुलवारी उनलाई देखिहालेँ। उनले पनि मलाई देखेछन्। यसपालि आफैं बोलाए।
‘बाबु! ए बाबु!’
म नजिक गएँ।
‘बाबु काठमान्डु पुगेपछि यो चिठी खड्ग ओलीलाई दिनुस् है,’ उनले खाममा बेरिएको चिठी थमाउँदै भने, ‘उनी पार्टीको अध्यक्ष भका छन्। अहिले त प्रधानमन्त्री पनि भका छन् अरे।’
‘के छ चिठीमा?’
उनी केही बोलेनन्।
धेरैबेर नअल्मलिई चिठी पुर्याइदिने बाचा गरेर म बिदा भएँ।
पुल तरेर वर आइपुगुञ्जेल ती मानिसले मलाई हेरिरहे। मैले पनि निकैपटक फर्किँदै उनलाई हेरेँ।
शनिश्चरे पुगेर बिर्तामोडको गाडी समातेँ। बिर्तामोडबाट भद्रपुर गएँ अनि काठमाडौं आउने जहाज चढेँ। उनीसँग बिदा भएको चार घन्टा जतिमा म काठमाडौं आइपुगेँ। यो चार घन्टामा उनीबाहेक मेरो दिमागमा अरू केही आएन।
आँखा अगाडि गम्छा र स्यान्डो भेस्ट लगाएका, जिङरिंग कपाल र झुस्स दारी पालेका, सिसाकलमजस्ता दुब्ला मानिस घरिघरि ङिच्चङिच्च हाँस्न आइरहे।
...
कोठामा पुग्नेबित्तिकै झोलाबाट उनको चिठी झिकेँ। खाम ओल्टाइपल्टाइ गरेँ।
लेखिएको थियो, ‘प्राप्तकर्ता श्री खड्गप्रसाद ओली, प्रधानमन्त्री, नेपाल सरकार तथा अध्यक्ष, नेकपा एमाले। प्रेषक क.डेकेन्द्र राजवंशी, कार्यकर्ता, नेकपा एमाले, झापा।’
त्यति लामो कुराकानी हुँदा मैले उनको नामै सोध्न भुलेँछु। अहिले थाहा भयो, डेकेन्द्र राजवंशी।
डेकेन्द्र राजवंशी!
यो नाम त मैले कतै सुनेको छु!
मेरो दिमाग चक्कर खान थाल्यो।
ल्यापटप अन गरेँ। नेटको केबल जोडेँ। गुगलमा गएँ। सर्च गरेँ– डेकेन्द्र राजवंशी।
गुगलको नतिजाले मेरो होसहवासै हरायो।
फोटो हेरेँ। काटीकुटी उनै हुन्।
लेखिएको विवरण यस्तो थियो :
‘डेकेन्द्र राजवंशी– २०२८ सालको झापा आन्दोलनका कार्यकर्ता। उनी नेकपा एमालेको कार्यकर्ताका रूपमा जीवनको अन्तिम समयसम्म क्रियाशील रहे। चरम गरिबीका कारण २०६७ वैशाखमा बल्खुस्थित नेकपा एमाले मुख्यालयको बगैंचामा रहेको रुखमा झुन्डिएर आत्महत्या गरे। त्यसको चार महिनापछि उनका छोरा शम्भु राजवंशीले पनि झुन्डिएर आत्महत्या गरे।’
उनले भनेको एउटा कुरा झट्ट दिमागमा आयो- ‘सरकारले रोजगारको ग्यारेन्टी गर्छ भन्थे, छोराले बिकम पढेर नि जागिर पाएन। मेरो छोरो शम्भु तपाईंजत्रै भइसकेको छ।’
उनले पठाएको चिठी अझै मेरो झोलामा छ।
खाम च्यातेर पढ्नसक्छु, हिम्मत छैन।
यस्तो लाग्दैछ म टन्टनाएको पिलो बोकेर चार जन्मदेखि भौंतारिँदैछु।