कुपन नम्बर ४००

  • Get News Alerts

दसैं विशेष
केही दिन अघिको कुरो हो, भाइवरमा प्रतिष्ठाले ग्रम्पी बनाएर सन्देश पठाएकी थिई, “ड्याडको बाइकबाट लिएको २ लिटर पनि सकिइसक्यो । अफीस जान पनि नसक्ने भएँ । लौ न, पेट्रोलको केही बन्गदोबस्त गर्न सकिन्न भन्या?”
 
प्रतिष्ठाले मिर्गौला मागेकी भए पनि एउटा त झिकेर उसको पाउमा राख्नु अघि सन्देशले दुइपटक पनि सोच्दैनथ्यो होला । तर पेट्रोल कहाँबाट ल्याउनु उसले रु होइनहोइन भन्दै मित्रराष्ट्रले लगाइदिएको नाकाबन्दीका कारण कहिले नभोगेको इन्धनको संकट भोगिरहेको पुस्ताको एउटा प्रतिनिधि पात्र हो सन्देश । 
 
“हिजोदेखि त हेर न, हिंडेर आउजाउ गर्नु परिसक्यो । घर पुग्दा त थाकेर मरेजस्तै हुन्छ ।”
 
भाइवरमा थप मायालाग्दो इमोजीहरुका साथ उसले भनेकी थिई । ऊ एउटा ट्राभल एजेन्सीमा काम गर्छे । उसको मण्डिखाटारमा भएको घरबाट पुल्चोकमा भएको अफीस भनेको अहिलेको अवस्थामा चाइना बोर्डर र इण्डिया बोर्डर जस्तो भएको छ । कसरी हिंड्छे होला त्यस्ता कलिला पाउहरुले ऊ त्यति लामो दूरी । प्रतिष्ठाले पाएकी दुखका लागि उसले मनमनै नरेन्द्र मोदीलाई जाने जति गाली गर्‍यो  ।
 
उसलाई थाहा थियो, यो मौकामा प्रतिष्ठालाई सहयोग गर्न पाए त्यसको ठूलो महत्व हुन्थ्यो । हिजो बाटोमा पार्क गरेको एउटा भटभटेको पेट्रोलको स्वीच “अन” मै रहेको देख्दा उसको मनमा त्यसबाट अलिअलि झिक्न पाए कस्तो होला भन्ने सोच पनि आएको थियो । त्यो सम्भव हैन भन्ने जान्दाजान्दै पनि उसले पल्याकपुलुक चारैतिर हेरेको थियो । अभाव र आवश्यकताले मानिसलाई जे पनि बनाउन सक्छ ।
 
प्रतिष्ठालाई उसले चिनेका एक वर्ष हुन लाग्यो । सन्देश साथीहरुसंग प्याकेज टूरमा बैंकक घुम्न जाने सन्दर्भमा उसको र प्रतिष्ठाको भेट भएको थियो । उसलाई प्रतिष्ठा पहिलो आँखामै मन परेकी थिई । पाँच दिन बैंकक घुमेर आएपछि पनि बेलाबेला उनीहरुको फोनमा गफ भैरहन्थ्यो । पछि फेसबुक र भाइवरमा पनि उनीहरु आवद्ध भएका थिए । यो मित्रता बिस्तारैबिस्तारै चिया कफी र लन्चसम्म पनि पुगिसकेको छ । उसलाई प्रतिष्ठा झन्झन् मन पर्न थालेकी छ । तर उसको मनमा आफूप्रति के छ भन्ने भेउ चाहिँ सन्देशले अझै पाउन सकेको छैन ।
 
बेलाबेला उसको फेसबुकमा जासूसी गर्ने क्रममा केही दिन अघि उसले एउटा शंकास्पद मान्छेको फोटो देखेको थियो । अप्रत्यक्ष रुपमा उसले त्यसको बारे सोध्दा प्रतिष्ठाले साथी हो भनेर मात्र टारेकी थिई । हुन त उनीहरु दुइ जनाको मात्र त फोटो थिएन । समूहमा अरु धेरैजनासंग उनीहरु बल्थली रिसोर्ट पुगेका रहेछन् । तर फोटोमा त्यो शंकास्पद मानिस प्रतिष्ठाको निकै नजीक बसेको थियो । उनीहरुको कुम लपक्कै जोडिएको त्यो फोटो हेर्दा सन्देशको मुटुमा ह्वारह्वार आगो बलेको थियो । बाउ आमाले राखिदिएको नाम पक्कै बिजोगको हुनुपर्छ त्यसको, त्यसैले फेसबुकमा ऊ आफूलाई मोण्टी भन्दोरहेछ । मोण्टीको टाइमलाइनमा गएर थप अनुसन्धान गर्न खोज्दा मोराले सबैथोक गोप्य राखेको रहेछ, केही हेर्ने मिलेन । 
 
त्यही बेला सरकारले उसलाई मोण्टीको ढाड सेक्ने स्वर्णिम अवसर उपलव्ध गराइदियो जसलाई कुनै हालतमा पनि खेर जान नदिने सन्देशले दृढ निश्चय गरिसकेको थियो ।  यो अवसर थियो, मंगलवारको दिन सबै सार्वजनिक सवारी साधनलाई इन्धन वितरण गर्ने । उसलाई हाँसो लाग्छ पत्रपत्रिका तथा आयल निगमको भाषा सुन्दा । पैसा लिएर बेच्ने कुरालाई उनीहरु वितरण गर्ने भन्ने गर्छन् । अहिले त झन पैसा भएर पनि कहाँ किन्न पाइएको थियो र इन्धन । तर जुन दिन देखि मंगलबार पेट्रोल बाँडिने भन्ने घोषणा भयो, सन्देशको मनमा रंगीविरंगी सपनाहरु बुनिन थालेका थिए । यो स्वर्णिम मौकाको उपयोग गर्न सकियो भने उसको गन्तव्य धेरै टाढा छैन । 
 
हुन त सन्देशलाई थाहा थियो, निकै दिनदेखि इन्धनको अभावले हाँहाँ भइरहेको शहरका हरेक पम्पहरुमा मंगलबार निकै लामो लाइन हुनेछ । तर जति बेर कुरेर भए पनि ऊ पाँच लिटर पेट्रोल भरेरै छाड्नेछ अनि त्यो पाँचै लिटर लगेर प्रतीक्षाको स्कूटीमा खन्याइदिनेछ, मुटुभरिको माया खन्याए जसरी । यो जोशमा उसले साधारण हिसाब पनि भुलेको थियो । सात लाख मोटरसाइकल र एक लाख बीस हजार प्राइभेट गाडीहरुमध्ये आधा मात्र लाइनमा लागे पनि कसरी सबैले पेट्रोल पाउलान् भन्ने कुरा उसको मथिंगलमा आएको थिएन । त्यसैले उसले सोमबार बिहानै लगेर आफ्नो भटभटे पेट्रोलको आँखाले भ्याइनसक्नु लाइनमा हालिदिएको थियो । सातदोबाटो रिंगरोडको पम्पको त्यो लाइन तन्किदैं र नखिपोटका गल्लीहरुमा घुम्दैघुम्दै धराने कालो बंगूरको सेकुवा खाने जंक्सनहरु निर पुगिसकेको थियो । त्यहीं चिनजान भएका अरु भटभटेवलाहरुसंग गफ चुटेर सन्देश राती आठबजे लखरलखर हिंडेर ढोलाहिटीमाथिको आफ्नो डेरातिर लागेको थियो । उत्साहले ओतप्रोत भएर उसले बाटोबाटै प्रतिष्ठालाई मेसेज पठायो,
“आइ विल गिभ यू फाइभ लिटर पेट्रोल टूमरो ।”
 
त्यसको एकैछिनपछि प्रतिष्ठाले पठाएको जवाफ देखेर सन्देश बाटैमा खुसीले बुर्लुक्क उफ्रेको थियो । उसले लेखेकी थिई,
xoxo :-)
 
कोठामा पनि पकाएर खाने ग्यास नभएकोले दश रुपैंया मोल बढेको मम खाएर ऊ मंगलबारको सुखद कल्पना गर्दै सुतेको थियो । सुतेको पनि के भन्नु र, रातभरी बीचबीचमा ऊ पेट्रोलको सपना देख्दै ब्यूझिँदै गरेको थियो । एउटा सपनामा पाँच मात्रै हैन फुल ट्याङ्क पेट्रोल पाइएको थियो भने अर्कोमा चाहिँ उसको पालै आएको थिएन । 
 
एक युगमा एकपटक हाउने भोलिपल्टको त्यस ऐतिहासिक दिन, झिसमिसे उज्यालोमै उठेर ऊ टोलको चियापसल पुग्यो । सँधैजस्तै त्यहाँ भेला भएकाहरु देश विदेश र राजनीतिको थरिथरि विश्लेषण गरिरहेका थिए । चिया बनाउने बूढा भन्दै थिए, “आज लाष्ट हो । भोलिदेखि त चिया पनि बनाउन नसकिने भयो है । ग्यास छैन, के गर्नू ।” 
 
त्यो अन्तिम दिनको गौरवशाली चिया खाएर ऊ सीधै आफ्नो भटभटे लाइनमा हालेको ठाउँमा पुग्यो । त्यहाँ केही मान्छेहरु कसैलाई जानेजतिको गाली गर्दै रहेछन् । राती केही भटभटेका ब्याट्रीहरु चोरी भएछन् । सन्देशको भटभटे पनि त्यसै भित्र परेको रहेछ । उसले पनि रिसको झोकमा कोरसमा व्याट्री चोरहरुलाई आमाचकारी गाली गर्‍यो र आफ्नो भडास अलिकति भए पनि कम गर्‍यो । उसको मन बुझाउने एउटै कुरा के थियो भने, उसको भटभटेभन्दा पछाडि पनि गनेरै नसकिने लाइन भैसकेको रहेछ । कोही बाह्र बजेबाट बाँड्छ भन्दैथिए, कोही तीन । पारी फुटपाथको पसलबाट एउटा सानो बट्टा जूस, एउटा फुको चाउचाउ र दश खिल्ली जति चुरोट खाएर सन्देश दिनभर झर्ला र खाउँला भन्ने लाइनमा बस्यो । 
 
तीन बज्नेबेला तिर एउटा अर्को हल्ला सुनियो जसले उसको आङ्ग नै ढक्क फुल्यो । थोरैथोरै मात्रामा मात्र इन्धन आएको हुनाले लाइलमा लागेका सबैलाई पुर्‍याउन त कानको औषधि हाल्ने ड्रपरले पाँँचदश थोपाका दरले बाँडे मात्र सम्भव हुने भएछ । त्यसैले चारसय वटा भटभटे र एक सय चारपाङ्ग्रेलाई मात्र कुपन बाँडेर तेल दिने भन्ने बन्दोवस्त भएछ । आफ्नो भटभटे कति नम्बरमा छ भनेर उसले कल्पना गर्न सकिरहेको थिएन । कुपन बाँड्न शुरु भएपछि अलि पछाडि हुनेहरु इष्टदेउताको नाम पुकारिरहेका थिए । सन्देश पनि ब्रतवन्ध गरेको केही महीनापछि जाप्न छोडेको गायत्री मन्त्र कनीकुथी सम्झेर पढ्न थाल्यो । 
 
गायत्री मन्त्रले काम गरेर हो वा उसको पुर्पुरो बलियो भएर हो, ठ्याक्कै चारसयौं कुपन उसले पायो । उसलाई कुवेरको खजाना नै पाए सरह लाग्यो । चौंतीस ईन्चीको छातीलाई फुलाएर छत्तीस ईन्चको बनाएर उसले विजयी भावमा आफूभन्दा पछाडिका अभागीहरुलाई हेर्‍यो । सबका अनुहार ओइलाएका फूल जस्तो भएका थिए । ऊ भन्दा पाँचसातवटा पछाडि बसेको एउटा भटभटेवाला आक्रोशित भएर कराउन थाल्यो, “यस्तो पनि देश रु दिन नसक्ने भए घण्टा खान सबलाई दिने भनेर लाइनमा राख्या रु साला, सित्तैंमा लिन बस्या जस्तो ।”
 
४०० भन्दा पछाडिकाहरु उसको होमा हो मिलाउन थाले । केपी ओली, सुशील कोईराला, नरेन्द्र मोदी, रामशरण महत लगायतका थुप्रैले सराप खाए । 
 
अनि त्यो मानिस तुरुक्कै आँशु झारुँला जसरी आफ्नै भटभटेको ट्याङ्कीमा मुड्की हान्दै बोल्न थाल्यो, “मेरो बुबा क्यान्सरको विरामी हुनुहुन्छ । उहाँलाई किमोथेरापी गराउन लानुपर्ने छ । अब म के गरुँ लौ ।”
 
सन्देशको मन कुटुक्क काटियो । ऊ भित्रको मानवताको सागरमा अचानक ठूलो सुनामी सिर्जना भयो । त्यो मान्छेको आवश्यकता उसको भन्दा कताकता बढी महत्वपूर्ण थियो । त्यो मान्छेलाई सहयोग गर्नेले ठूलो पुण्य कमाउँथ्यो । त्यो मौका अरुलाई दिन एक छिन कसैको मन पग्लिएला कि भनेर उसले कुर्‍यो । तर मानौं त्यो मानिसको रोदन कसैको कानबाट भित्र छिरेको थिएन । कोही चुइँक्क नबोली बसिरहेका थिए । सन्देशले लामो सास फेर्‍यो र त्याग गर्ने निर्णय गर्‍यो । मैले यो मानिसको लागि आफ्नो कुपन बलिदान गरें भने भगवानले कसो नदेख्ला । प्रतिष्ठाको मन जित्न अवश्य पनि उसैले मलाई सघाउँछ होला । उसले भावुक भएर थर्थर काँपेको स्वरमा त्यो मान्छेलाई भन्यो, “यो कुपन तपाईँ राख्नुस् । पेट्रोल भर्नुस् । बुबालाई किमो दिन लैजानुस् ।”
 
कुपन थमाएर व्याट्री नभएको आफ्नो भटभटे लाइनबाट निकालेर घिच्याउँदै जाँदा निकै परसम्म त्यो मान्छेले उसलाई दिएका आसिकहरु उसको कानमा ठोक्किइरहेका थिए । 
राती नौ बजे प्रतिष्ठाले भाइवरमा अनलाइन हुनासाथ उसलाई लेखी,
“पेट्रोल?”
एक छिन घोरिएर उसले रुन्चे अनुहारको इमोजीका साथ एकै मात्र शव्द लेख्यो,
“सरी ।”
अनि ऊ प्रतिष्ठाको उत्तर कुरेर बस्यो । केही बेरमा उसको मोबाइलले सुसेली बजायो, “नो वरिज । मोण्टी गट मी फाइव लिटर्स ।”
सन्देशलाई माइक टाइसनले पानीपेटमा मुक्का हानेजस्तो भयो । उसले केही लेख्नै सकेन । 
 
एकैछिनमा फेरि आठ दश थरि इमोजीहरुका बीचमा प्रतिष्ठाकै मेसेज आयो,
“पूअर लिटल स्वीट मोण्टी........यू नो मेरो लागि ट्वेण्टी सेभेन आवर्स क्यूमा बसेछ । तै पनि उसको टर्न झण्डै नआएको रे.......बट उसले आफ्नो ड्याडलाई किमो दिन लैजान पर्ने भनेर ब्लफ दिएपछि एउटा इडियटले आफ्नो कुपन उसलाई दियो रे ।”
 
यस पटक माइक टाइसनको मुक्का उसको च्यापूमै बजारियो । चारैतिर तोरीका फूल र रंगीविरंगी ताराहरु देख्दा सन्देश आफैलाई धिक्कार्दैथियो । हुन त प्रतिष्ठाको बल्थलीको ग्रुप फोटोमा त्यो कुटिल मोण्टीलाई उसले देखेको त हो नि । तर धेरै मान्छेहरु भएकाले अलि टाढाबाट साँझपख खिचिएको त्यसमा उसको अनुहार स्पष्ट थिएन । त्यसमाथि उसको ध्यान त मोण्टी र प्रतिष्ठाको चपक्क टाँसिएको कुममा बढी थियो । 
 
दिउँसो त्यो भीडमा, अप्रत्याशित र नसोचेको ठाउँमा हेल्मेट र मास्क लगाएर रुने भातमारा त्यही मोण्टी हो भनेर उसले कसरी चिताउन सक्नु र?  फेरि एकपटक प्रतिष्ठाको मेसेजले सुसेली बजायो,
“मोण्टी इज सो स्मार्ट ना?”

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट