संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना एकतर्फ रुपमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक गरेपछि यादव र नेम्वाङबीच ‘इगो’ को लडाइँ छरप्रष्ट भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
मंगलबार राष्ट्रपति यादवलाई संविधान जारी हुने समारोहमा उपस्थितिका लागि निम्त्याउन शीतलनिवास पुगेका सभाध्यक्ष नेम्वाङले राष्ट्रपतिको अप्रसन्नताको स्पष्ट झलक पाए जब राष्ट्रपतिले म मेरो सुविधाबारे खबर गर्नेछु भनी भेटघाटलाई छोट्याए ।
नेम्वाङले एक दिनअघि नै आइतबार पाँच बजे संविधान जारी हुने अनौपचारिक घोषणा सञ्चारकर्मीसँग गरिसकेका थिए । यो तिथि तय गर्नेमा राष्ट्रपतिसँग परामर्श गरिएको थिएन । अन्तरिम संविधानमा संविधान सभाध्यक्षको प्रमाणीकरणपछि राष्ट्रपतिको उपस्थितिमा जारी हुनेछ भनिएको छ ।
राष्ट्रपतिको व्यवहारबाट क्षुब्ध र आक्रोसित नेम्वाङले प्रधानमन्त्रीसमक्ष गई गुनासो पोखेका थिए । राष्ट्रपतिलाई सम्झाउने प्रधानमन्त्रीको आश्वासनपछि केही समय प्रतिक्षा गरेका नेम्वाङका फेरि त्यसबेला असहज परिस्थिति बन्न पुग्यो ।