म लगबग १३ वर्षको थिएँ । हरेक वर्षझैँ दशैँ मनाउन काठमान्डौबाट आफ्नै गाँउ धादिङ गएको थिएँ। त्यतिवेला दशैँ एउटा खुसीको पोको थियो, धेरै दिन देखिको रमाउने धोको थियो। शहरमा पढ्ने, अनि दुई चार दिन मात्र गाँउ बस्ने भएकाले म सानोतिनो “हिरो” नै कहलिन्थें।
फूलपातीको दिन थियो। 'आउ जाम बाहिर डुल्न', सन्तोषले तलबाट बोलायो। ऊ मेरो मिल्ने साथी थियो। म दलिनमा बसेर यसो यताउति चियाउदै थिएँ। खासै काम पनि थिएन। दशैँमै किनेको नयाँ पाइन्ट लगाएँ, अनि तल झरें। हामी दुई बजार डुल्न लाग्यौं।
खहरे बजार खासै ठूलो छैन। विचमा मोटर गुड्ने सडक र दाँयावाँया लस्करै मिलेका घरहरु, कुनै चित्रकारले क्यानभासमा उतारेको सुन्दर वस्ती जस्तै छ खहरे। बेशी झरेकाहरु दशैँ मनाउन गाउँ नै लागिसकेका छन्। यहिँका रैथाने र स्थाई बसोबास भएकाहरु मात्र छन्। केहि पसल खुलेका छन्। म हरेक पटक दशैँ मनाउन गाँउ आँउदा केहि नयाँ परिवर्तन भएकै हुन्छ। योपाली आँखुखोलामाथि नयाँ झोलुंगे पुल बनेछ। चिसो हावाको मन्द वेगसंग खोलाको सुसाइमा हराउदै पुलबाट कंचन पानी बगीरहेको हेर्दा छुट्टै आनन्द आउँछ।
हामी दुई त्यतैतिर लम्कियौं। पुलको जिपनेर मान्छेहरुको हुल थियो, बीचमा एकजना कराइरहेको थियो। ए, त्यहाँ त लंगुरबुर्जा खेलाइरहेको रहेछ। हामी पनि त्यहि हुलमा मिसीयौं।
“पान तेव्वरSSSSSSSS, अरु बात छैन” खेलाउने मान्छे करायो।
हेर्दा हेर्दै एउटा मान्छेले ५० को १५० कमायो। अरु खालमा राखेको पैसा भने सबै खेलाउनेले नै सोहोर्यो।
मलाई पनि कुनैमा थापम थापम झैँ भयो । तर आफुसंग पैसा थिएन । कसो गर्ने के गर्ने भयो । सन्तोषलाई भने, “ओइ पख है, म घर गएर पैसा लिएर आउछु ।”
उसलाई त्यहिँ वस्न लगाएर म घरतिर लागेँ। घरमा कोहि थिएनन। बुबा खसी लिन पल्लो गाँउ जानुभएको थियो, आमा पारी मिलमा। लौ पर्यो फसाद, कसो गर्ने त? घरमा एक-दुई रूपयाँको सिक्का यता उति झरीरहेको हुन्थ्यो। छ कि भनेर खोजें तर कतै केहि भेटिन।
झट्ट आँखा भित्ता झुण्डीरहेको हजुरबुबाको इस्टकोटमा गयो। ढुंगा खोज्दा देउता मिलेझै भयो। मनमा पाप पलायो । धत्त्, त्यस्तो काम गर्न हुन्न झैँ लाग्यो । तर, आ जे पर्ला पर्ला, कसरी थाह पाउलान र । हात भित्री गोजीमा छिराएँ र २०, २० को दुइटा नोट झिकें । हो, म जिन्दगीमा पहिलोपल्ट चोर बने, हजुरबुबाको खल्तीको ४० रुपयाँ चोर ।
त्यसपछि फिलीली कुदेर उहि ठाँउमा पुगें। मान्छेको भिड अलिक कम भएछ। सन्तोष भने त्यहिँ रहेछ।
“ल्यायौ ?” उसले सोध्यो।
“अँ, मुन्टो हल्लाएँ।”
ल पख एकछिन दाउ हेरम। खालमा १-२ रुपयाँका सिक्का देखि १०० रुपयाँ राख्ने सम्म थिए। गट्टी गुर्क्याउने एकजना र पैसा सोहोर्ने अर्कै थियो। जम्मा पारेको पैसाको चुली नै बनिसकेको थियो। अघिदेखि दाउ पारिरहेको त्यो मान्छेले इटामा राखेर दोव्वर खायो। उसैको सिको गर्दै जता राख्यो उतै राख्ने बिचार गरें।
जे पर्ला पर्ला, ल पानमा २०, मैले २० रुपयाँ पानको खालमा फालिदिएँ।
“झण्डी चौवरSSSSSS”
“ज्या, थुइक्क झण्डीमा राख्नु पर्ने रैछ ।” अनिल सुसायो, “हेर, ऐले ठाँउको ठाँउ ८० रुपयाँ हात लाग्थ्यो ।”
अव बाकि २० रुपयाँ थियो । चोक्टा खान गाको बुढी, झोलमा डुवेर मरी भने झैँ होला जस्तो भयो । आ, जे पर्ला पर्ला, गए बाउको, आए साउको ।
“ल झण्डीमा २० ।” मैले झण्डीको खालमा २० रुपयाँ फालिदिएँ ।
“पान तेव्वरSSSSSS”
तैट, पानमा राख्याबेला झण्डीमा पर्यो, झण्डीमा राख्याबेला पानामा । आज दाउ नै रहेनछ। त्यसरी ल्याएको पैसा, सबै हारियो, मन खिन्न मात्र भयो।
“ल हिड जाउँ, पारी चौतारातिर पिंग खेल्न।” सन्तोषले भन्यो।
अव त्यहाँ वसिरहेर काम थिएन। घर जान मन पनि थिएन। हामी उतै चौतारातिर लाग्यौं।
सधै मान्छेहरुको भिड हुने पिंग आज भने खाली रहेछ। सबैलाई दशैँ लागेछ क्यारे। पहिले सन्तोष खेल्यो, उसले उभिएर आफै मच्चायो।
“चह चह हुइSSSSSSSSSS” ऊ चिच्यायो।
म भने आफै मच्चाउन सक्दैनथें। सन्तोषले भोटेसाल लाइदियो। मलाई कहाली लाग्यो, तर बल गरेर अझै मच्चाउन खोजें। ऊ जस्तै उभिएर आफैं मच्चाउन खोजें। पिंग बाङ्गो मच्चियो। आकस्मात कापे चिप्लियो र खुट्टाले ठाँउ छोड्यो। म पिंगबाट उछिट्टीएँ र तल बङ्लङ्ग बजारिएँ।
ढुंगामा ठोकिएकाले निधारमा चोट लाग्यो, अलि अलि रगत पनि बग्न थाल्यो। सन्तोष आएर हत्तपत्त उठाइहाल्यो। म रुन थालें।
मुलबाटो हुदै पल्लो गाउँको ढकाल काका आए। उनि मलाई राम्रोसंग चिन्थे। बिहान बिहान हाम्रो घरमा दुध पुराउन आउथे। सबै कुरा थाह पाएसी मलाई काँधमा बोकेर घर लगे।
घरमा मेरो नै खोजी हुँदैरहेछ। निधारबाट रगत बग्न रोकिसकेको थियो। बुबाले मलम लगाइदिनुभयो। एक दुई दिनमा घाउ खाटा बस्यो र निको भयो। त्यो दशैमा त्यसपछि मैले पिंग खेलिन, अँ साँची लंगुरबुर्जा नि खेलिन।
आजभोलि पनि पिंग देख्नेबित्तिकै यो घटना मानसपटलमा ताजा स्मृति बनेर आउछ । घाउ त निको भयो तर त्यो दिनको खत निधारमा बसिरह्यो, अनि मनमा पनि, बाल्यकालको दशैँको एउटा अमिट छाप बनेर।