दशैं केवल जुवा — जांड, — मासु — मदिरा, वलि र वगली (पैसा) को चाड हैंन। यो भ्रातृत्व, स्नेह, मिलन, आपसी सद्भाव र खुसी बाँड्ने पनि पर्व हो। एक प्रकारले दशैं नेपालीहरुको राष्ट्रिय पर्व भन्दा अतिशयोक्ति नहोला। किनभने दशैका अवसरमा हाम्रो देशमा हिन्दू र वौध्द धर्मावलम्वी दुवै उत्तिकैं रमाउंछन्, खानपीनमा मस्ती गर्छन्, पूजाआजा गर्छन् र रमाइलोगरी मनाउंछन्। यसपालि दशैंताका काठमाडौंबाट २० लाखभन्दा बढी मानिस राजधानी छाडेर बाहिर गएको खवरले पनि दशैं यौटा राष्ट्रिय पर्व भन्ने बुझ्न कठीन हुंदैन। सधैं भीडभाड हुने राजधानीका सडकहरु मध्य दशैंमा करीव, करीव शुन्य हुन्छन्। दशैले बास्तवमै विविध जातजातीमा वांडिएका नेपालीहरुलाई एकसूत्रमा आवध्द गराएको छ। दशैंमा करीव दुइहप्ता सबै फेष्टिभ मुडमा हुन्छन्। दशैंमा स्कुल, कलेज, कल—कारखाना, सरकारी कार्यालय, बैक आदिमा लामो विदा हुन्छ। त्यसैले वर्षभरिको अहोरात्री काम पछि शान्तिको श्वास फेर्न र थकाई मार्न समय पाउंछन् नेपालीहरुले। कतिपय विदेशमा गएकाहरु पनि संभव भएसम्म यस अवसरमा स्वदेश फर्कन्छन् आ—आफ्ना परिवारसंग बसेर रमाइलोसंग दशैं मनाउन।
२०६२।६३ को जनआन्दोलन पछि नेपाल गणतन्त्रमा रुपान्तर हुनुका साथै धर्म निरपेक्ष घोषित भैसकेको छ। तर पनि जनसंख्याको. झण्डै अस्सी प्रतिशत हिन्दूहरुको बाहुल्य भएको कारणले दशैं एक महान् चाडकोरुपमा झण्डै सबै नेपालीहरु हर्षोल्लासका साथ मनाउंछन्। राष्ट्रपतिव्दारा दशैमा सर्वसाधारणलाई टिका प्रदान गर्ने चलन अझै जारी नै रहनुबाट पनि यो पुष्टि हुन्छ।
संस्कृति, परम्परा, चाडपर्व मानिसले सयौं वर्षदेखि मनाउंदै आएको हुन्छ, र हरेक देशको आ—आफ्नो चाडपर्व हुन्छ, दशैं पनि त्यस्तै एउटा महान् चाड हो नेपालीहरुको निम्ति। दशै आसुरी शक्तिमाथि दैवी शक्तिको, असत्य माथि सत्यको अनि दुर्भावना माथि सद्भावनाको विजयको प्रतीक हो। दुर्गाका दर्जनौं नामहरु मध्ये महिषासुरमर्दिनी अर्थात महिषासुरको वध गर्ने देवी पनि हो। यसको सांकेतिक अर्थ हो दुर्गा भवानीले मानिसहरुमा रहेको आसुरी प्रवृत्तिको अन्त्य गर्ने प्रेरणा हामीलाई दुर्गा प्रदान गर्छिन् भन्ने। दुर्गालाई जगदम्बे अर्थात् सारा जगतका माता वा सृष्टिकर्ता पनि भनिन्छ। विद्या, वुृध्दिकी खानी सरस्वती र धनसम्पत्तिदाता लक्ष्मीकारुपमा पनि दुर्गालाई पूजा गरिन्छ। यसरी दुर्गा एकातिर स्त्री शक्तिका अनेकरुप हुन् भने अर्कातिर नवरात्रीको रुपमा दुर्गाका नौरुपको पूजा गरिन्छ, शैलपुत्री, चन्द्रघण्टा, कालरात्री, महागौरी आदि जसलाई मानिसमा विभिन्न अवसरमा देखिने नौ प्रकारका भावना वा प्रवृत्तिकारुपमा पनि बुझ्न सकिन्छ। तसर्थ हाम्रो धर्म संस्कृति नै हाम्रो पहिचान हो र यसमा हाम्रो मौलिकता लुकेको हुन्छ।
तर दशैंसंगै जोडिएर आउने कतिपय कुप्रथा, गलत चलन र गलत प्रवृत्ति जति सबै हामीले साथै राख्न पर्छ भन्ने पनि छैन। दशैंमा मासु एक प्रमुख परिकार मानिन्छ, जुन स्वास्थ्यवध्र्दक पनि छ। तर दशैंमा देवीदेवतालाई खुसि तुल्याउने नाउंमा पशुवली दिने प्रथा भने हिजोआज सभ्यसमाजको परिचायक मानिंदैन। हुन तः आजभोलि मन्दिरहरुमा गरिने पशुवलि धेरै हदसम्म कम भैसकेको छ। हालै दशैंको अवसरमा यस स्तंभकार दक्षिणकालीको मन्दिर दर्शन गर्न जांदा त्यहां मन्दिर हाताभित्र वलि दिन रोक लगाइएको पाइयो, जुन निकै सराहनीय कदम मान्न सकिन्छ। त्यहां मन्दिरमा पशुलाई ढोगाई मन्दिर बाहिर खुला ठाउंमा वलि दिने गरिएको रहेछ अहिले। तर लाखौं पशुहरुको वलि दिइने वाराको गढीमाईको जात्रामा भने वलिप्रथा अझै रोक्न सकिएको छैन।
वास्तवमा हामीले वेद वा उपनिषदको गहन अध्ययन गर्यौं भने के निश्कर्षमा पुगिन्छ भने वलि हामीले पशुको हैन हामीभित्रको पाशविक प्रवृत्तिको दिने हो। महिषासुर खोज्न बाहिर कतै जान पर्दैन, हामी मध्ये कोही, कोहीमा त्यो प्रवृत्ति अझै पाइन्छ र त्यही महिषासुर प्रवृत्तिलाई वलि चढाउन सकिएमा माता दुर्गा खुसि हुन्छिन्। हामीभित्र रहेको घृणा, व्देष, रीस, अहं जस्ता नकारात्मक भावनाको वलि चढाउन सकेमा नै देवी प्रसन्न हुन्छिन् र त्यसले मानव जातीको कल्याण पनि गर्दछ। शक्ति पीढहरुमा वलि चढाउने प्रथा पशुलाई आसुरी शक्ति मानी त्यसलाई दमन गर्ने कार्यको प्रतीक मात्र हो। हामी भित्रको अन्तरव्दन्द, अहं, घृणा र व्देषलाई त्याग्न सकिएमा त्यसै भित्री उर्जा मुखरित भएर आउंछ र अन्तरव्दन्व्द र व्देषको अभावमा हामी भित्रैबाट जांगरिलो र फूर्तिला देखा पर्छौं। पशुलाई वलि चढाउंदैमा शक्ति बुध्दि हुने कुरा भ्रममात्र हो। वास्तवमा अहिंसामा जति ताकत हुृन्छ हिंसामा हुंदैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ।
दशै तास, जुवा नखेलिकनै, जांडरक्सी नखाएरै अनि हिंसा, हत्या नगरी कनै पनि मनाउन सकिन्छ। हिजोआज कतिपय मानिसले पशुवलिको सट्टा दशैंमा नरिवल फोर्ने गरेको पनि देखिएको छ।
हामीले आफ्ना खराव बानी, कुलत, गलत प्रवृत्तिलाई सदाको निम्ति छाड्ने प्रण गरेर दशैं मनाउन सकिन्छ। खराव प्रवृत्तिको वलि दिनसके स्वतः हामीमा असल विचार र असल भावना पलाउंदछ र हाम्रो जीवन सुखमय, समृध्दमय हुन्छ। दशैंमा हामी सुख, शान्ति र समृध्दिको कामना पनि गर्छौ। यदि त्यसलाई साकार तुल्याउने हो भने आसुरी र पाशविक प्रवृत्तिको वलि चढाउनै पर्छ हामीले।
गाडीमा, मोटर साइकलमा, कलकारखानामा र हुंदा, हुंदा हेलिकोप्टरमा समेत बोका वा कुखुरा वलि चढाइएको हास्यास्पद समाचार पनि कहिले काहिं पढ्ने मौका पाइन्छ। गाडीमा वोका चढाएर हैन, मापसे नगरेर, इन्जीन, व्रेक ठीक ठाक राखेर होस पुर्याइ हाँकेमा दुर्घटनाबाट बचिन्छ भन्ने आजभोलिको वैज्ञानिक युृगमा, शिक्षित समाजमा सधैँ बुझाइरहन नपरोस्।
अन्त्यमा, विजया दशमीका अवसरमा शुभकामना सन्देश दिनेक्रममा राष्ट्रपतिव्दारा राजनैतिक पार्टीहरुलाई सम्विधान लेखन कार्य समयमै पूरा गरी जनताका सामू गरिको कवुल पूरा गर्न स्मरण गराइएको छ। विजयादशमी वास्तवमै आत्मवल र आत्मविश्वास वृध्दि गर्ने अनि आफूले गरेका कार्यहरु सफलतातर्फ उन्मुख गराउन प्रेरण दिने पर्व हो। यसपल्ट पार्टीहरुले जनतालाई निराश तुल्याउने छैनन् भनी राष्ट्रपतिले आशा व्यक्त गर्नुभएको छ, जसलाई अतिशयोक्त मान्न सकिन्न। अहिले हाम्रो सामु शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र सम्विधान लेखन कार्यलाई टुंग्याउने गहन जिम्मेवारी आएको छ, प्रजातान्त्रिक उपलव्धिलाई संस्थागत तुल्याउन। हाम्रा राजनैतिक पार्टीका नेताहरुले विजयादशमीको अवसरमा आफूमा भएका गलत प्रवृत्तिहरुलाई त्याग्ने प्रण गर्न सकेमा यसपालिको दशैं साच्चिकै उपलव्धिमूलक हुने थियो। जनतालाई झुक्याउने, झुठा वाचाहरु गर्ने, आफ्नो व्यक्तिगत र समूहगत स्वार्थ मात्र हेर्ने गलत प्रवृत्तिलाई वलिमा चढाउने हिम्मत गरुन् राजनैतिक पार्टीका नेताहरुले तवमात्र विजयादशमी मनाएको सार्थक हुनेछ। घुसखोरी, भ्रष्टाचारी, अनंैतिक र षड्यन्त्रको तानावाना बुन्ने आसुरी प्रवृत्तिलाई उनीहरुले सदाका निम्ति त्याग्न सकुन् यही नै विजयादशमीको अवसरमा शुभकामना दिनु मनासिव होला कि?