स्वाभाविक र सामान्य कुरा गरौं। स्वाभाविक र सामान्य रुपले सोचौं। स्वाभाविक र सामान्य रुपले बाँच्ने प्रयत्न गरौं। समाज पनि स्वाभाविक र सामान्य हुन्छ।
आजै एक राष्ट्रिय दैनिकको डिजिटल पेजको एक समाचरमा टक्क आँखा अडिए। दसैंका बेला सार्वजनिक स्थलमा हुने दुर्गापूजा सफल बनाउन सर्लाहीको हरिऔनका मुस्लिम युवा शेषमहबुब रेजा रातदिन खटिएका छन् रे ! उनी पूजा समितिका कोषाध्यक्ष पनि छन् रे ! उनले पूजाका लागि ११ हजार पनि दिए रे !
हिजै मात्र यस्तै एउटा समाचारमा आँखा डुलेका थिए। काठमाण्डौंको बानेश्वरस्थित छकुबकु मन्दिरकी पुजारी सुकुमाया सार्कीका बारेमा। छकुबकु मन्दिर र हरिऔनको दुर्गापूजाका बारेमा लेखिएको समाचारले धेरै सोच्न, बुझ्न र मनन गर्न बाँकी रहेको बोध गरायो।
समाचार अनुसार त्यस मन्दिरकी पुजारी सुकुमाया रोक्का सार्की परिवारकी हुन् रे ! साँझबिहान नित्यपूजा, आराती उनी नै गर्छिन रे ! सयौं भक्तजन टीका–प्रसाद थाप्न आउँछन् रे ! पढेर लाग्यो–आहा, कति स्वाभाविक ! कति समान्य ! स्वाभाविक र सामान्य कुरा कति सुखद् हुँदा रहेछन् !
सोचेँ– शेषमहबुब मुसलमान मात्र हैनन्। एक साँच्चिकै सामजिक प्राणी हुन्। यस्ता प्राणीलाई मान्छे मात्र हैन असल मान्छे मान्न सकिन्छ। सुकुमाया पनि सार्की हैन, मान्छे हुन्। त्यहाँ टीका–प्रसाद थाप्न जाने पनि बाहुन, क्षेत्री, वैश्य, शूद्र हैन मान्छे नै हुन्। मान्छे भएको ठाउँमा मान्छे गएका हुन्। मान्छेको हातबाट मान्छेले टीक–प्रसाद लिएका हुन्। पशुपतिको मूल भट्ट र सुकुमायामा केही फरक छैन। छ भने एउटै छ, त्यो हो– पुरुष र नारी।
प्रसंग दसैं हो। के हो त दसैं ?
केही हैन दसैं ! दसैंमा टीका लाए पनि हुन्छ। नलाए पनि हुन्छ। लाए पनि केही हुदैन। नलाए पनि केही हुदैन। यसमा विवाद गरेर समाज धमिल्याउनु पर्ने कारण छैन। दसैं लगायतका चाडपर्वका रिसले हाम्रो सामाजिक सद्भावको वस्तीमा आगो झोस्नुका पछाडि कसैको व्यक्तिगत स्वार्थ भन्दा अरु केही हुन सक्दैन।
आगो झोस्नेले एकछिन् न्यायो त पाउँछ होला तर त्यो सद्भावको वस्तीमा ठडिएका भावनाका धेरै झुप्राहरु खरानी हुन्छन्। फेरि त्यो वस्ती बसाउन भोलि समाजले ठूलो मूल्य चुकाउनु पर्छ।
सोच्ने र बुझ्ने सबैका आ–आफ्ना तरिका हुन्छन्। मानविय स्वभावलाई केलाउँदा चेतनाका तीन अवस्था पाइन्छ। अचेतन चेतना। अवचेतन चेतना। चेतन चेतना। चेतनाका यी अवस्थाहरुमा पहिलो, सुनेर विश्वास गर्ने। दोस्रो, देखेर विश्वास गर्ने र तेस्रो, भोगेर विश्वास गर्ने स्वभाव पर्छन्।
हामी धेरै जसोमा अचेतन चेतना नै छ– सुनेर विश्वास गर्ने। कारण सबै देख्न सकिँदैन। देखेको जति भोग्न सकिँदैन।
प्रसंग दसैंको हो। दसैंलाई नसुनौं। शैलपुत्री, व्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदायिनी नामका नवदुर्गाका कथा पनि नसुनौं। राम–सीताका कथा पनि नसुनौं। सूर–असूरका किंवदन्ती पनि नसुनौं। मंगोल जातिलाई असूर मानेका तुक्का पनि नसुनौं। कथित शूम्भ–निशूम्भ र महिषासुरलाई आदिवासी मानेको र देवीले मारेका फाल्तु कुरा पनि नसुनौं। आफू लाई गैरहिन्दु र अर्कालाई हिन्दु बनाएर गाली गरेका शब्द पनि नसुनौं। दसैं हिन्दु धर्मका माथिल्लो जातीले लादेको सँस्कार हो भन्ने बकवास पनि नसुनौ। हिन्दुहरुको पर्व हो भन्ने तथ्यहिन धारणा पनि नसुनौं।
दसैंलाई हामी देख्न सक्छौं। देख्नभन्दा बढी भोग्न सक्छौं। दसैंलाई भोगौं। भोगेर अति स्वाभाविक र सामान्यरुपले सोचौं। सोचेर मनन गरौं। के हो दसैं ?
दसैं केही होइन तर दसैं एउटा परम्परा मात्र हो। कुनै पनि परम्पराले नियमितता पाउँदै गएरपछि पर्व बन्छ। परम्परार र पर्व मान्छेले पालना गर्न पनि सक्छ। नगर्न पनि सक्छ। तर त्यसलाई धर्मसँग जोडिदियो भने मान्छेले त्यसलाई आस्था मान्छ। पालना गर्छ। त्यसैले सायद धर्मसँग जोडिएको हुन सक्छ दसैं।
तर कुनै पनि परम्पारा, पर्व, सँस्कारका पछाडि वैज्ञानिक कारण छन्। हाम्रा पूर्वजले हामीलाई ती अमूल्य निधि त्यसै सुम्पेर गएका छैनन्।
दसैंको प्रसंग भएकोले दसैं परम्पराकै बारेमा कुरा गरौं। हाम्रो देश कृषि परम्परा र संयन्त्रमा बाँचेको देश हो। कति मान्छे खेतीकिसानीमै सबै ऋतु बिताउँछन्। सोचौं त, दसैं नहुदो हो ती किसानले कहिले फुर्सद पाउने ? कहिले सुकिलोमुकिलो भएर मीठोमसिनो खाने ? रिनपान–जोहोपोहो गरेको भए पनि हरेक शरद्ले ती गरीबगुरुवाको अनुहार दुईचार दिन भए पनि हँसिलो बनाउँछ। तिनका लालाबाला नयाँ लुगासँग साट्ने खुशी जीवनकै अलौकिक खुशीमा पर्छ। केटाकेटी अवस्थामा कति रमाउँथ्यौ हामी दसैंका नयाँ लुगामा ठाँटिएर चप्पल पड्काएर हिड्न पाउँदा। के त्यो खुशीका पछाडि धर्म र जातिको सम्बन्ध छ ?
हामी सामाजिक प्राणी हौं। सामाजिकभन्दा पहिला हामी पारिवारिक प्राणी हौं। पारिवारिक सम्बन्ध बलियो भने सामजिक सम्बन्ध झन् बलियो हुन्छ। तर परिवारमा सधैं एकता र मिलाप मात्र भइरहदैन। मनमुटाव र वैमनस्यताका चिर्पट–चोइटाले हाम्रो सम्बन्धलाई चिरा पारिराखेको हुन्छ। त्यही सम्बन्धलाई बलियो बनाएर कस्ने एउटा गाँठो हैन र दसैं ? विच्छेद भएको सम्बन्धलाई जोड्ने सेतु हैन र दसैं ?
आफूभन्दा ठूलाकहाँ दसैंको टीका थाप्न जानु भनेको क्षमा माग्न जानु पनि हो। टीका लाइदिनु भनेको क्षमा दिनु पनि हो। बिग्रिएको सम्बन्धलाई सुधार्ने प्रयत्न हैन र दसैं ? के यो प्रयत्नका पछाडि कुनै जातिय र धार्मिक खेल छ?
अझ सामान्य रुपले सोचौं। दसैंको निहुँ नहुदो हो त परदेशिएको लाहुरे र विदेशिएको छोरो कहिले घर फर्कनु? देश–देशावरमा छरिएर रहेका हामीले हाम्रा परिवार र स्वजनलाई कहिले भेट्नु ? परायघर गएर सास्ती खाएकी चेलीले कहिले मुख फेर्नु ? दुईचार दिन भए पनि कहिले आराम पाउनु ? बुढा पहाड जस्ता तपस्वी बा–आमा, हजूरबा–हजूरआमाका टोलाएका धमिला आँखाले आफ्ना सन्तानको मुहार हेर्ने इच्छा कहिले पुरा गर्नु ? के यो सद्भावको सेतु हैन र दसैं ? के यो पारिवारिक सद्भावका पछाडि कथित धार्मिक र जातिय स्वार्थ छ ?
म पनि परदेसिएको लगभग पन्ध्र वर्ष भयो। अमेरिकामा नेपाली समाज दिनानुदिन बढ्दो छ। धेरैले गरे झैं अर्थात “झैं झैं” मात्र गरे पनि हाम्रो पुस्ता मध्येका केही नेपाली साहित्य, कला, सँस्कार र सँस्कृतिप्रति केही गरौं भनेर अझै लागिपरेका छन्। जुन कार्यले हाम्रा साँस्कृतिक निधिलाई पुस्तान्तरण गर्न सहयोग पनि गरेको छ। तै पनि नयाँ पुस्ता हामीबाट अलग्गिदै छ।
मेरो पन्ध्रवर्षको मनन र आँखाले देखेको सत्य के हो भने कुनै पनि सँस्कृति र सँस्कार लादेर लादिदैन। समाजको आयतन र आचरण अनुसार त्यो फैलने र खुम्चने गर्छ। समाजले स्वतः ग्रहण गर्ने गहना हुन् सँस्कृति र सँस्कारहरु।
अमेरिकामा पनि दसैं–तिहार, नयाँ वर्ष सबै हुन्छन्। तर हाम्रा केटाकेटी दसैं–तिहार, नेपाली नयाँ वर्षभन्दा क्रिशमस, न्यूयर, र टर्की डे तिर झुम्मिन्छन्। किन त ? के हाम्रा किशोर–किशोरीको मस्तिष्कमा यी यहाँका परम्परा यी अमेरिकनले जबरजस्ती खाँदेको हो ?क्रिश्चियानिटी हाम्रा सन्तानमाथि बलजफ्स्ती थोपरिएको हो ?
मलाई लाग्छ होइन। समाजको वाहुल्यता, दैनिक रहनसहन र उठबसले प्रभावित र प्रसारित गरेको हो।
सामान्यता टपरेबाहुन काठाहरुको मात्र भनेर सरापिने तीज अहिले सबैको भएको छ। सहरी क्षेत्रमा तडकभडकले ताने पनि गाउँघरदेखि देश–परदेशमा तीज सबै जातजातीका नारीको साझा रमझमे पर्व बन्दैन। “तीजको लहर आयो बरी लै” भन्ने बोलीले जातियताको पर्खाल भत्काएको छ। के यसमा टपरे बाहुनको षडयन्त्र छ त ?
फेरि पनि भन्छु दसैंमा टीका लाएर केही हुदैन तर यसलाई बहिस्कार गरेर नलाउँदाको कारण भने बुझ्न पर्ने हुन्छ की ?
प्रायशः तराईतिर र अत्यधिक मात्रमा भारतमा मनाइने होली अहिले देशैभरी फैलिएको छ। जातिय र क्षेत्रियता नाउँको नर्कटकको बारलाई तोडेको छ होलीले। के यो भारतले लादेको पर्व हो त ? तराइले पहाडतिर थोपरेको हो ?
हिमाली तथा तिब्बती सँस्कृतिको खादा सबैको स्वागत माला बन्दैछ। देउसी भैलो सबै जातिको साझा भएको छ। के यिनमा कुनै जाती विशेषको जवरजस्ती छ त ?
दसैं कुनै धर्म र जातजातीको निजी सँस्कार हैन। सबैको पारिवारिक उत्सव हो दसैं। फेरि भन्छु– दसैंमा टीका नलाउँदा केही हुदैन। तर दसैं बहिस्कार गर्नु भन्दा अघि यसको महत्व बुझ्न सकियो भने पारिवारिक र सामाजिक सद्भावमा हाम्रो सहयोग पुग्छ कि?