म पछिल्लोपटक कैले रुन पुगेको थिएँ, थाहा छैन। कुन विरह लाग्ने संस्मरणद्वारा 'आघात' पुगेर म धित मरुन्जेल रूएँ हुँला? त्यो पनि बिर्सेँ। यद्यपि म सोचमग्न भएको कुरा नकार्न किमार्थ सक्दिन। युगको पराकाष्ठले थोपरेर आफ्नै आँखा वरिपरि नचाइदिएको दृश्य रोग,शोक अनि भोक। मानिसहरु भन्छन्- 'शोकलाई शक्तिमा बदलौँ।' जबसम्म समाजमा व्याप्त भोक र रोग साम्य हुन सक्दैन, तबसम्म कुनै पनि शोक शक्तिमा बदलिन सक्दैन।
हामी चाहेर पनि शोकलाई शक्तिमा बदल्न सकिरहेका छैनौँ। कर्णालीको 'नुन' आन्दोलन अझै सकिएको छैन। न राप्ती 'युरिया' मल मागेर थाकेको छ। न 'महाकाली' मा बाढी थामिएर बालबालिका बुटामाथि चढेर बाँच्ने क्रम रोकिएको छ। नेपाल आमाको रित्तो काखको बदला तिनको भोको पेट पनि त भर्न सकेनौँ। भुपी शेरचको एउटा जिउँदो बिम्ब छ- 'रातभरि उपियाँले टोक्छ, दिनभि रुपियाँले टोक्छ'। कोठामा बसेर जब म गाउँका भोकानाङ्गा बस्तीहरुको याद गर्छु, तब मेरो अघाएको पेट देखेर केबल घृणा जाग्छ।
यो प्रदेश गोंगबु बसपार्क। दशैँ मनाउन घर फर्कने यात्रुको लाइन निकै लामो होलाजस्तो कि यहाँ बैंकमा हुन्छ। वास्तवमा दशैँ खाडीबाट पठाइन्छ। अण्डा टिप्नेदेखि डण्डा चलाउनेसम्मको काम हुन्छ। हरेक नेपालीको टाउकोमा सरकारी ऋण त छँदैछ। युगको भारी बोकेर एउटा कलिलो युवा, वयस्क र बृद्धको टाउको संसारमा चम्किरहेको छ। मुलुकमा मानवीय मूल्य गुमेका राजनेता केवल जूनकिरीझैँ देखिनुहुन्छ। घरमा साहु तमसुक सिरानीमा हालेर अनिँदो बसेको हुन्छ। सरकार यस वर्षको 'रेमिट्यान्स' सोचे जति नभित्रिएकोमा दुख व्यक्त गर्छ।
हिमाल नै नभएका देशहरु हिमालको मुहानबाट भरेको पानी भन्दै हाम्रै देशको हिमाल अंकित स्टिकर टाँसेर 'मिनरल' पानीको बोटल मेरै आँखाअगाडि बेचेको देखेको छु। इजिप्टमा माछापुछ्रे छैन। हामी नेपाली छातीभरि हिमाल बगाउँछौ तर कुवाको पानीमा लोटा डुबाएर बर्सौँदेखि हाम्रो पहाड आफ्नो प्यास मेटाउँछ। मुलुकको मुख्य सहर काकाकुल छभन्दा पनि हुन्छ। देश लाल्टिन र टुकी बालेर बिजुलीको कथा ओकल्छ। हामीसँग सेती नदी पनि छन्। काली नदी पनि छन्। सानी भेरी पनि छन्। ठूली भेरी पनि छन्। अरुण किनार छन्। तमोर किनार छन्। तर पनि बिजुलीबत्ती छैन । सबै थोक भएर पनि नभएजस्तो गरी शिर झुकाउनु किन परिरहेको छ?
असल नागरिकले आआफ्नो भूमिका खेल्ने हो भने कानुनी राज्यलाई व्यवस्थित गर्न सकिन्छ। कानुनी राज्यको मर्यादाबिना कुनै पनि समाज र मुलुकको हित हुँदैन। चोर पुलिसजस्तो हुनुभएन। पुलिस चोरजस्तो देखिनु भए । दोकानदारको पाथी मानाजस्तो नापिनु भएन। तराजु ढकजस्तो हुनुभएन। कवि कलाकारजस्तो र कलाकार पत्रकारजस्तो हुनु हुँदैन। आआफ्नो खुबी, इमान र ज्ञान मुताबिक आफ्नो काम आफैँ गरौँ। अरुको काम आफू नगरौँ भन्ने चेतनाको विकास जनजनमा पुग्नुपर्छ। अनि मात्र देश काल,परिस्थितिअनुसार आफू पनि चल्न सकिन्थ्यो र आफूसँगै देश चल्थ्यो तर मेरो देशमा त किसान पनि स्तम्भकारजस्ता छन्। नेता व्यापारीजस्ता छन् र व्यापारी किसानजस्ता छन्।
कुनै युगको अवलोकनकारी म तीन किलोमिटर लामो घाइते तथा अंगभंग मानिसको लाइन देख्दा कहिल्यै हतोत्साहित भइन। मानौँ म आन्दोलनकारी। आजकल आधा किलोमिटर 'सीमा-स्तम्भ' सारिएको अखबार हेर्दा अनायासै आँखा रसाउँछन्। मुटुमा घुंघेरुको काँडा पलाउँछ। फोक्सो फुलेर हावा भरिएको बेलुनजस्तो हुन्छ। स्वास फेर्न कठिनकठिन जस्तो लाग्छ। म देशदुनियाँको पिर बेसाइ माग्छु। मानौँ कि मेरो देशको मुहारलाई टाउकोमाथि बोकेर राजमार्गमा उभिएको छु।
म फोस्रो मनुवा। पद र प्रतिस्ठाबिहीन एक नेपाली नागरिक। उपादेयता सकिएको सीमान्कृत सपना म। मसँग केवल गीतिकथा ओकलेर रत्नपार्कको भित्ताभरि कोर्न सकिने कोरा कल्पना छन्। अँ, मैले कतै पढेको थिएँ- 'देशलाई माया गर्ने मान्छे शहिद भएछ, देशद्रोही पो मेरो देशको मालिक बनेछ।' यो बिम्ब कसले, किन, कुन उद्दश्य का साथ कोरेको थियो मलाई थाहा छैन। जसले कोरे पनि सुनौलो बिहानीको चाँदलाई कालो बादल छेक्न कहिल्यै छाडेन। यो अभागी टाउको पनि उस्तै। हाम्रा अनगिन्ती नेताको टाउको पनि उस्तै।
बिना कुनैप्रसंग 'सिगरेट-जोन' मा मैले मेडम (बोस) लाई सोधेको थिएँ- 'तपाईँले सल्काइरहेको 'मारबल' चुरोटबाट उडिरहेको धुँवा र मेरो देशको मुख्य चोक सडकमा टायरबाट निस्कने धुवाँमा के त्यस्तो तात्विक अन्तर छ?' मुखको धुँवा आकाशतिर फ्याँक्दै उहाँले भन्नुभएको थियो, 'मैले तानिरहेको चुरोटको धुवाँले मेरो फोक्सो बिगार्छ, अनि म मर्छु। यदि तिम्रो देश नेपालमा टायरको धुवाँ उड्छ भने यसले देशको मुटु बिगार्छ। देशको मुटु बिग्रेमा देशबासीको रक्तसंचार रहँदैन।'
मेडमको मन्तब्य सुनेपछि मैले पखेटामा पानी परेपछि कुखुराजसरी हल्लिन्छ, सोहीअनुरुप टाउको हल्लाए। मलाई सहरको चोकमा गोरखकाली 'टायर' बालेर गाउँतिर चन्दा संकलन गर्न डुलेको याद ताजा भयो। न्यायप्रेमी जनसमुदाय भनिकन थुप्रै अन्यायपूर्ण काम गरेको सम्झना आयो। जस्तो कि सडकमा रुख ढाकेर यात्रुको बाटो बन्द गराइयो। नेपाल खुला छैन! म अलिकति भावुक मान्छे। यो कविता-सविताको मन। टाउकोमा बोकेको यो सामाजिक पाप आँफ्नै आँगन खनेर साततले मन्दिर बनाए पनि पाप मेटाउन सकिँदैन थियो, यदि म आस्तिक हुँदो हुँ त। मेरो टाउको पुन:हल्लियो। धन्य नास्तिक छु। धड्कनमा केही बेताल छ। मुटु काँपिरहेको छ।
हो, मेरो टाउको हल्लियो। किन्तु मानिसको टाउकोमा गुरुत्व आकर्षण हुँदो हो त संसारका दर्दनाक दुख जति सबै तानेर बागमतीमा बगाउन पाइन्थ्यो। अनि खुसीसँग अमन-चयनको श्वाश फेरिन्थ्यो। होला कि भनेर आफ्नो टाउकोमाथि अनेक झन्झट बोकाइन्छ। जस्तोकि ऊ बेला आन्दोलन थियो। लहै-लहैमा लागेर आन्दोलनकारी 'भीमनाथ' को टाउको फुट्यो। अहिले आन्दोलनका आदेशकारी राजधानीमा आगो तापेर बसेका छन्। भीमनाथले भने टाउको मा लगाइएको 'टाँका' को खत जो छ- फोटो खिचेर अस्ति मात्रै फेसबुकमा अपलोड गरेको थियो। भारतको चेरापुन्जीबाट ऊ बेतमास कराउँदै थियो।
केही दिनअगाडि मात्रै यो पंक्तिकारको गृहजिल्ला बाग्लुङका माननीयले म खुदलाई छाँगाबाट खसाल्न पुगेथे। निकै इमान्दार भद्र कांग्रेसी थिए माननीय प्रकाश पौडेल। तर घाइतेको उपचार रकम किर्ते गरिकन गोजीमा हालेछन्। म अखबारमा उनको किर्तेकाण्ड पढेपछि चकित हुन पुगेँ। तिनले मलाई मायाले 'दिलु भाइ' भनेर बोलाउँथे। म दाइ-दाइ भनिकन तिनको सम्मानमा शिर झुकाउँथे। हेर्दा-हेर्दै माननीय बनेका दाजैको किर्ते काण्डले मेरो लाजको शिर झुकेको छ। यति खेर भीमनाथको टाँकावाला टाउकोलाई कति 'लाइक' पुग्यो होला?
यो लोकमा अनेक टाउको छन्। भीमनाथको टाँका मारेको टाउको त छँदै छ। अल्बर्ट आइन्स्टाइनको टाउको पनि छ जसले नागासाकीमा कहिल्यै बिरुवा उम्रन दिएन। महात्मा गान्धीजीको टाउको जो थियो, संसारलाई गान्धीवादको नयाँ दिशा प्रदान गर्यो। खगेन्द्र थापामगरको टाउको पनि छ। तिनको टाउको सानै भइकन पनि गिनिजको किताबमा संसारमा होचो मनुवा भनिकन नाम दर्ज गराउन सफल बने। खगेन्द्र संग्रौलाको टाउको पनि छ, जो एकबारको जुनीमा जीवन त्याग गरिहाल्न मन नलाग्दा अनेक कुथानीको रचना गर्न भ्याउँछ्न्। छविलाल ओझाको अभागी टाउको त छँदै छ। स्मरण रहोस् म छविलाल दाहालको टाउकोको कुनै प्रसंग कोट्टाउँदिन, मेरो फेरि टाउको हल्लिन्छ। पखेटामा पानी पर्दा कुखुरा हल्लिएजस्तो गरी।
म घनटाउके। पाँच ग्रामको जिब्रोमा सरस्वतीको बास हुन नसक्दा केवल पाँच किलोको टाउको ह्ल्लाउँछु। यो कुरा हुन्छ भन्दा। यो कुरा हुन्न भन्दा। राणाजीहरुले चलाख भई बोल्नेहरुको जिब्रो काटिदिन्थे रे! आमा भन्नु हुन्थ्यो- बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन। म जमिनतिर भासिन लागेको अभागी तथा उद्देलित टाउको उचालेर बोल्न त खोज्छु। अहँ, सक्दिन। मानौँ मेरो वाक्य जिरो डिग्री सेन्टीग्रेडमा जमेको छ। यस्तै हुँदो रहेछ निर्धा मानिसको टाउको। राणाजीसँग लडेर कांग्रेसले जनजनको जिब्रोमा वाक्य भरिदियो। 'वाक' अधिकारलाई कानुनमा लेख्यो तर पनि हाम्रा आवाजहरु बुलन्द भई निस्कन सकेका छैनन्। उहिलेदेखि अहिलेसम्म। एउटा अभागी 'टाउको' को बयान कुनै अदालतको कठघरा मा उभिएको निमुखा प्रतिवादीको जस्तै छैन र?