छोड्नुअघि संसारकै ठूलो
उसको बाटुलो आँगन
हेर्यो उसले एकपटक पूर्वतिरको लामो पहाड
घाम टेकेर पहाड लागिसकेछ आफ्नै बाटो
भोलि साँझ उडेपछि पहाडमाथिबाट
पर्सिदेखि देखाउँदै त्यही पहाड
गाउनेछन् छोराछोरीले
'हाम्रो बा दशैंमा आउनेछन्
जिनको पाइन्ट र टिभी ल्याउनेछन्'
छोएर बुढो पिपलको रुखझैं आमाको पाउ
जाँदा जाँदै हेर्यो उसले अर्धागिंनीलाई
पिढीँको थाममा गाला टाँसेर हेरिरहेकी
सकेन अँगालेर चुम्न
भर्खरै झरेको फूलझैं उसको अनुहारमा
'राम्रोसँग बसे, आमा र बच्चाको हेरविचार गरे
आफ्नो ख्याल राखे'
यति शब्द पिढीको दलिनमा घुसारिदियो
अनि हिँड्यो।
जाँदाजाँदै उसले बाटैमा भेट्यो
स्कुलबाट बाउलाई बिदाइ गर्न
हतारहतार फर्किँदै गरेका छोराछोरी
टाढैबाट उसले हल्लायो हात र भन्यो
पढ्नू राम्ररी, नपिराउनू है आमालाई !
माउ हिँडेपछि पछ्याउँदै कुदेका चल्लाहरुझैं
अलि परसम्म पछ्याए छोरा छोरीले
सयको नोट दिएर भन्यो, 'घर जाओ अब'
टक्क अड्डिए बच्चाहरु
हेरिरहे आफ्नो माउले छोड्दै हिँडेको बाटो!
दोबाटो छेउको लाखुरेको रुख
उभिएको थियो उसैलाई विदाइ गर्न
हेरिरहेका थिए बारी र कान्लाहरु
चाइनिज झिन्चुंग मोबाइलबाट
उसले खिच्यो फोटो
उसलाई बिदाइ गरिरहेको गाउँको ।
यसरी हिँडेको थियो ऊ
५४० दिनअघि पहाडहरुले छोपेको देशमा
अभागी नामको जिन्दगीमा भाग्य फुलाउन!
ठिक ५४० दिन पछि
सोह्र श्राद्धको एक साँझ
ऊ फर्कियो कहिल्यै नफर्किने गरी
आफ्नो अभागी जिन्दगीलाई
बाकसमा बन्द गरेर
गाउँ दशैंको कमेरोमा डुबिरहेको बेला
ऊ, एउटा बाकसमा मस्त पल्टिएको थियो
संसारकै ठूलो उसको आफ्नै बाटुलो आँगनमा
र भनिरहेको थियो आफ्नी अर्धागिंनीलाई
'राम्रो सँग बसे, आमा र बच्चाको हेरविचार गरे
आफ्नो ख्याल राखे।'
भनिरहेको थियो बच्चाहरुलाई
'पढ्नू राम्ररी, नपिराउनू है आमालाई!'
जिन्दगीको हजार दुःख खेपेर
आखिर ऊ फर्कियो आफ्नै आँगनमा।
यो देशमा, यसैगरि करिब हजार घरले
यसपालिको बाकसे दशैं मनाउनेछन्!