दसैँ–१
शुभनारायण सरले झोला ठूलो पार्नु भएको छ । दसैँ बिदा हुनै लाग्यो । अब तिहारपछिमात्र स्कुल खुल्छ । मनहरी खोला तर्न सकिँदैन कि ? सरहरु तराईतिरका हुनुहुन्छ । डिओजी डाँग, डाँग माने कुत्ते पढाउने सरहरु घर गएपछि मलाई पनि घरको याद आइरहेको छ । तर घर जाने बाटो सम्झेर रुन मन लाग्छ । तैपनि बुबा लिन आउनुहुन्छ होला भोलि त । अरु दसैँमा मामाघर आउँछन् म भने मामाघरबाट दसैँमा घर जान्छु । सम्झन्छु ती दिनहरु, मामाघर बसेर पढिरहेको छु । मामाघरबाट घर जान पनि चाडवाड आउनु पर्छ ।
बुबा आउनु भयो । भोलि बिहानै गाउँ जानुछ । ओहो, त्यो गार्खा भन्ज्याङ । ओहो, लाउतीको उकालो । डरलाग्दो कालोनीलो मनहरी खोलाको दह । गार्खाबाट धुसराङको उकालो ओरालो । कतै पानी अमलाको सहारा, कतै चेपाङ गाउँमा फलेका निबुवाका अमिला रस । अनि ग्याग्रान त्यो बाटो । चिप्लिएर लडे मनहरी खोलाको दहमा पुगिन्छ कि गार्खाकै भिरतिर ढुंगालाई भोग हुन्छ । हात्तीछाप चप्पल, चिप्लिन्छ रातो माटोमा । खुट्टा उस्तै दुखेका छन् चिप्ला बाटोमा ।
घर त त्यही पल्लो डाँडाले छेकेको हो । आमा छोरा आउने बाटो हेर्दै हुनुहोला । तर मनहरी खोला उर्लेर आएकाले डाँडाकाँडाको घुमाउरो बाटो हिँड्नुछ । त्यसमाथि आफूलाई खोलादेखि डर लाग्छ । स्कुल जाँदा खोलाले बगाएको रे । गाउँका चेपाङले ‘वडाध्यक्षकाइ चो’ (वडाध्यक्षको छोरो) भनेर भिन्छुक दहबाट निकालेर घर लगेपछि पढाउन मामाघर राखिदिएको । पहिलो उकालो लाउतीको, ग्याग्रान बाटो हुँदै तर्पायाँ–तर्पायाँ बाटो छिचोलेर धुसराङबाट खोलामा झरियो । त्यसपछि फेरि देउतिसको उकालो । बाटो सानो छ । कहिले घाम चर्किन्छ । कहिले पानी दर्किन्छ । लाग्छ, जीवन नै उकाली ओरालीको संस्करण हो । माथि देउतिस पुगियो । तोरी फुलेर पहेँलै । फेरि झरियो ओरालो । भोक लागे पनि घर पुग्ने लालसा छ । बुबाले मीठो बिस्कुट किनेर दिनु हुन्छ । हिँड्न नसके बोक्नुहुन्छ । बुबाको काँधमा बसेर घर गएको थिएँ ।
कोथलीटार झरियो । बगरभरि हरिया सिसौ अझै पनि होलान् । त्यहाँको पानी कति सफा । बलौटे पानी कति कञ्चन । यतापट्टि देखारी डाँडा । उतापट्टि लिक्चेको भिर । बुबाका पालामा यो डाँडा भत्किएर मनहरी खोला नौ महिना थुनिएको थियो रे । अलि माथि लिक्चेको दह छ । त्यस्तो डरलाग्दो दह पार गरेर घर र मामाघर आउँदा म धन्न बाँचेको । वर्षामा चैँ खोला ठूलो भएकाले दह छल्न फेरि चढियो लिक्चेको उकालो । यो यात्राको तेस्रो उकालो हो । कोथलीटारबाट कालिकाटार पुग्न ४५ मिनेट लाग्दो हो, त्यो ज्यानमारा लिक्चेको दह छल्न चडियो डेढ घन्टाको उकालो ।
घामका किरणले निधार फोर्ला जस्तो । गालाभित्र पसेर रगत चुस्लाजस्तो । डाँडाभरि सिँउडीका वन । सहरतिर क्याक्टस भन्दारहेछन् । थकाइले चुर हुँदा बुबा भन्नुहुन्छ, ‘यसको मादल निकै राम्रो हुन्छ ।’ हो, चाडवाडमा गाउँमा घन्किने मादल सिउँडीका हुन्छन् रे । मोडेर छालाले, भरेर खरी । रेडियोमा घन्किन्थ्यो गीत, ‘आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युँझाउन ।’ पछि थाहा भयो, त्यो गीत धर्मराज थापाले लेखेका रहेछन् ।
गाउँको नाम बिर्सेँ । अब काली खोला मामाघरतिर छ । मनहरी खोला छुट्टिएको छ । कालिकाटार तल खोलानजिक टुक्रुक्क बसिरहेको छ । हामी पारिगाउँ हुँदै घर हेर्दैछौँ । घर त्यहीँ पल्लो डाँडामा हो के, खाली छेक्छ कहिले लावतीको डाँडाले, कहिले धुसराङको डाँडाले । अहिले लिक्चेको डाँडाले । अब छेक्दैछ नजिकैको डाँडा अम्माटारले । हो, अम्माटार डाँडामा पनि हाम्रो मामाहरु छन् । त्यो बेलाको कुरा न हो, बुबाहरुले सबैले बर्तौलाको छोरी बिबाह गर्नु भएको । त्यसैले बर्तौलाको गाउँ मामाघर हुने नै भयो ।
मनहरी खोला तर्न पनि डरलाग्दो छ । हाम्रै प्वाँले गोरुको भन्दा ठूलो जुरो जस्तो छाल । अहिले पो गाउँका ढुंगा बगेर सहरतिर आए । सहरतिर क्रसर उद्योग खोलेर ढुंगा गिटी भारत र बंगलादेश गए । कत्राकत्रा ढुंगा । खोलाले बगाउँदा चिन्ता हुन्थेन, त्यतिखेरसम्म यस्तै ठूला ढुंगामा ठोक्किनबाट जोगियो भने । खोला तरेर फेरि अम्माटारको उकालो । अब कहाँकहाँ झरिन्छ, गाउँकै नाम नै बिर्सेँ कि क्या हो, गाउँ नगएको पनि डेढदशक हुनै लागेछ । भुक्टारका जंघार, त्यसपछि अलि माथि पुगेपछि च्याँखेटार, खोइ केके गाउँ । बल्ल आइपुगियो भार्तिङ डाँडा । ओहो, घर त त्यही पर हो के, छेक्यो अब यही भार्तिङ डाँडाले । यो डाँडामा मंसिर पूर्णिमामा बुबाहरुले फूल तार्नु हुन्छ । नौमती बाजा बजाएर मेला लगाउनु हुन्छ । ओहो, मंसिरको भार्तिङे जात्रा । ‘ए दिदी नौलीले, झन्डै मलाइ उडायो रातो ताउलीले’ भन्दै गीत घन्कन्छ । म त मामाघर बसेर जात्रा जान पनि पाउँदिनँ ।
फेरि उकालो चढियो । जीवन यतिमै सकिन्छ कि क्या हो, आज चारवटा उकालो चढियो । टीकापछि फेरि यही उकालो ओरालो बनिदिन्छ र उताबाट फेरि उकालो चढ्न सुरु हुन्छ । मामाघर फर्कनै पर्छ । उकालो, ओरालो हिँड्दा कति औँलाहरु फुटेका छन् । ढुंगामा ठेस लागेर रगतपच्छे हुँदा पनि घर पुग्ने र आमा, भाइहरु भेट्ने लालसाले रगत बगेको थाहा हुन्न । अझ लाउतीको जंगलमा लाग्ने जुकाले केही असर गर्दैन । अहिले छोराछोरी ‘आबुइ ! कक्रोज’ भन्दै चिच्याउँछन् । तीनदशक पार गरेपछि सम्झँदा जीवनको एक दशक मेरा दसैँ यसरी नै बितेछन् ।
दसैँ–२
गाउँका कोही हिमाञ्चल जान्थे, कोही गलैँचा अनि कोही सर्कसमा । दसैँमा घर फर्कँदा अत्तर मगमग पारेर आउँथे । घाँटीमा तिरेमिरे जाली रुमाल । ओहो, वैँशका लाली उम्लिनै खोज्दा र साथीभाइको ताउरमाउर हेर्दा लाग्थ्यो, यो साला ‘अहम् पाठशाला गच्छामि ।’ पढेर के हुन्छ ? उखानै थियो, ‘पढिगुनी कामैकाम, हलो जोती खायो माम ।’ पाँच–छ कक्षा पढेपछि सब काममा जान्थे । फर्केर आउँदा सबका सब लाहुरे । गाउँका भर्खरका कमला–चमेली तिनै लाहुरेका पछि लाग्थे । सम्झना छ । गोरंती खोलासम्म पुगेर भिरमा झुन्डिँदै बाबियो काटियो । स्कुलको चौरमा लाइन लागेर पिङका लठ्ठा बाटियो । अहिले पो सामुदायिक वन आयो, त्यतिखेर सालका लिंगा हाल्न काठ काटिन्थ्यो, खोलामा बगाएर ल्याइन्थ्यो । तोरीबारी हुँदै चउरमा पिङ हालेर ‘चचहुइ’ गरिन्थ्यो । जीवनको अनमोल क्षण यही पो होला । घर छाडेर रातभर दमालीसँग अरुका आलीआली भट्मास भाँच्दै समाजसेवामा हिँडियो । कहिले नाटक देखाइयो, कहिले फुटबल र भलिबल प्रतियोगिता गराइयो, कहिले खसीकप दसैँ चिठ्ठा बिकाइयो । ओहो, जीवनका पहेली पल्टाउँदै जाँदा लाग्छ, तीनदशकको एक दशक यसरी नै बिताइयो । आखिरमा धर्मराज थापाको गीत छाडेर सुन्नथालियो अरुण थापाको गीत, ‘जति माया लाए पनि, जति कसम खाए पनि निष्टुरीले छाडेपछि मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ।’
दसैँ–३
भाइबर पनि अफ गरेको छु । फेसबुकमा च्याट अफ गरेको छु । अचेल कसले हटमेल, याहु र जिमेलमा च्याट गर्छ र ? त्यसमाथि जिमेलको च्याट एफएमको समाचारका लागि काम गर्ने हो । त्यो युग पार गरेर अब त अलि हल्का लेखक/पत्रकार पो भइयो । त्यसैले फोन त हत्पत्ति उठाइन्न । म्यासेज, फोटो भाइबर र फेसबुक च्याटमै हाले भइहाल्यो । जिमेलमा देशविदेशबाट शुभकामना आएका छन् । मोबाइलमा शुभकामनाका म्यासजेहरु उस्तै । सँगैका साथीहरु मलेसिया, कोरिया, जापान, युके पुगेका छन् । घरमा बसेकाहरुले घाँटीमा दाम्लोजत्रो सिक्री लगाएका छन् । बुढीहरु फुर्फुर परेर हिँडेका छन् । ओहो, मान्छे पैसाले कसरी फेरिँदो रहेछ । हिजो बोल्न लाज मान्नेहरु पातला टिशर्ट र छोटा स्कर्टमा गरिरहेका छन्, ‘साडीका फल्सा कभि म्याच किया रे !’ मध्यरातिसम्म मदिरामा रमरम भएका छन् । स्काइपेमा बुढाले विदेशबाट ‘ओइ बूढी क्या सेक्सी देखिइस्’ भनेका छन् । यता बूढीहरुले होहल्ला गरेर कति पटक प्रहरीमा पुगिसके । कागज गरेर साक्षी बस्दै ल्याउनु परेको छ ।
समय फेरियो । जुग फेरियो । जमाना फेरियो । थाहा पाउने गरी तीनदशक झन्डै बडादसैँ पनि हेरियो । यी तीस दसैँलाई नियाल्दा जम्मा दसैँका तीनभाग हेरे पुग्दो रहेछ । पहिला बुबाले सबैलाई फलाटिनका सर्ट र पोलिस्टरका पाइन्ट अनि हात्तिछाप चप्पल किनिदिँदा दसैँ आएजस्तो लाग्यो ।
दोस्रो दशक सम्झेँ, साथीहरु भारतमा हिमपहाड खन्न पुगून् या गलैँचाका तान बुन्न या सर्कसमा खेल्न । अत्तर मगमगाउँदै दसैँमा घर त आइपुग्थे । रोँटे पिङ, लिंगे पिङ मच्चिन्थ्यो । गाउँमा नाटक, कचहरी जम्थ्यो । साइली र माइली पोइला गएछन् भनेर नाचिन्थ्यो । कम्तीमा दसैँमा सबै सँगै त भइन्थ्यो ।
तेस्रो दशक सम्झेँ । परिवर्तन भयो । युग फेरियो । मानिस फेरिए । अब एकजोर फलाटिनको सर्ट लगाउन दसैँ आउनु परेन । छोराले फेसबुकमा म्यासेज गर्छ । छोरीले भारतीय टेलिसिरियल हेरेर फेसनको कपडा आफैँ रोज्छे । वस बाबुसँग खल्तीमा छोराछोरी, पत्नीको रहर पूरा गर्ने कमाइ हुनुपर्छ । हिजो पैसा नभए केही छैन, आऊ दसैँमा घर भनेर रुन्थे मान्छे । अचेल तिमी घर किन आउनु, कमाइ गर्नुछ, परिवार पाल्नु छ भनेर समाज दिनप्रतिदिन विखण्डित हुँदैछ । यो दशक सम्झन्छु, मानिस यन्त्रमानव भएर खटिएको छ, तैपनि दसैँको रौनक छैन । रौनक छ सिर्फ पैसाको । पैसाको दसैँ र खुशीको दसैँमा सम्झन्छु मानिस मिल्ने भए त्यही धुसराङको उकालोवाला दसैँमा फर्किन चाहन्छ । भाइबरवाला दसैँले स्मार्ट फोन, आइप्याड र ल्यापटपमा एकअर्कालाई नजिक्याए पनि मानिसको मन नजिकिएको लाग्दैन । त्यसैले त दसैँमा घर जाँदा मलेसियाबाट आएको साथीले चोकमा भेटौँ भन्दैन । यता आमाबाबु पनि कराइरहनु हुन्छ, न पेन्सन आउने जागिर । न मलेसिया दुबईमा जस्तो लाखलाख कमाउँछस., तै पनि निकै व्यस्त छस्, ओइ छोरा घर कहिले आउँछस् ।’ पछिल्लो दशक साँच्चै फूलपातीका दिन घर पुग्नु पनि ठूलो लाग्छ तर मन फेरि किन खुशी छैन दसैँदेखि ?